महासमिति उद्घाटन भयो तर विधानमा भएन सहमति

|

काठमाडौं : नेपाली कांग्रेसको महासमिति बैठकको उद्घाटन गर्दै शुक्रबार पार्टी सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलले एकताको सन्देश कार्यकर्ताबाट दबाब आयो। पार्टी उपसभापति विजय गच्छदारको आग्रह र कार्यकर्ताको हुटिङको कारण शीर्ष दुई नेताले हात पनि मिलाए।

तर उक्त हातेमालो पौडेलको चाहनामा नभएको दृष्यले देखाएको थियो। देउवाको हात पौडेलतर्फ तेर्सँदा पौडेलको हात भने अघि बढेन। तर १० वर्षपछि पार्टीमा फर्किएका उपसभापति गच्छदारले एकताको विषय प्रवेश गराएपछि देउवा र पौडेललाई हात नमिलाई धर नै पाएनन्।

महासमिति बैठकको सुरुवात गर्दै गच्छदारले पार्टीमा आफू १० वर्षपछि पार्टीमा फर्कँदा पनि गौरव गर्ने ठाउँ नै नभएको भन्दै पटकपटक पार्टीभित्र बलियो एकताको आवश्यता रहेको बताए। उनले बोल्ने क्रममा पार्टी कार्यकर्तालाई एकताको सन्देश दिन गिरिजाप्रसाद कोइराला र कृष्णप्रसाद भट्टराईले हातेमालो गरेको भन्दै महासमिति बैठकबाट एकताको सन्देश दिन हातेमालो गर्न आग्रह गरे। ‘म दश औँला जोडेर उहाँहरूलाई आग्रह गर्छु। तपाईंहरू एक हुनुहोस्। विवाद नगर्नुहोस्’, उनले भने, ‘तपाईंहरूले हातेमालो गरेर एक ढिक्का भएको सन्देश दिनुहोस् कांग्रेसलाई जोगाउनुहोस्।’

यतिभन्दा पनि सभापति र वरिष्ठ नेताले उठ्ने छाँडकाँड देखाएनन्। उठेर एकताको सन्देश दिनहोस् भनेर गच्छदारले तीनपटक भने। त्यसपछि हलमा रहेका कायकर्ताले उटिङ गरे। त्यसपछि भने नेताहरूलाई नउठी धर भएन। उनीहरू उठ्नचाहिँ उठे तर एकै पटक उठेनन्। सभापति एक्लै उठेर उनी लगत्तै बसे पनि। त्यसपछि पौडेल उठेर हात हल्लाए। त्यति गरेपछि झन् कार्यकर्ताको होहल्ला बढ्यो। उनीहरूले उठेर हातेमालो गर्नैपर्ने अवस्था आयो। अर्का उपसभापति विमलेन्द्र निधिले पनि त्यसमा मध्यस्थकर्ताको भूमिका खेले।

देउवा र पौडेलले हातेमालो गरेसँगै कार्यकर्ता भने नाचेका थिए। उनीहरूले कांग्रेसको पक्षमा नारासमेत लगाए। गच्छदारलेको आग्रहलाई मन्न तयार थिएनन्, पौडेल। केही दिनअघि मात्र देउवा र पौडेलको केन्द्रीय समिति बैठकमा भनाभन नै भएको थियो। कार्यकर्ताको आग्रहमा उनी नचाहँदा नचाहँदै एकताको सन्देश दिन पुगे।

पौडेल गच्छदारसँग पनि असन्तुष्ट थिए। गच्छदार देउवाको गुटमा गएको भन्दै यसअघि नै पौडेलले असन्तुष्टि जनाइसकेका थिए। उद्घाटन कार्यक्रममा बोल्ने क्रममा पनि पौडेललाई गच्छदारले व्यंग्य गरेका थिए। ‘माधवकुमार नेपाल निर्वाचनमा हार्दा त गिरिजाप्रसाद कोइरालाले प्रधानमन्त्री बनाउनुभयो’, गच्छदारले पौडेललाई व्यंग्य गर्दै भने, ‘वरिष्ठ नेता मात्र चुनाव हार्नुभएको होइन। तपाईंलाई पनि सभापतिले प्रधानमन्त्री बनाइदिनुहुन्छ। चिन्ता नगर्नुहोस्।’

त्यसैले त देउवासँग हात मिलाउन चाहँदैन थिए, पौडेल। हातेमालोबाट आफू सन्तुष्ट नरहेको केही समयपछि पौडेलले व्यक्त गरे। ‘विजय र तपाईंहरू सबैले भन्दा मैले पत्याइरहेको थिइनँ। म तपाईंहरूलाई नै प्रश्न गर्न चाहँन्छु। अब तपाईंहरू यहाँबाट एक भएर जानुहुन्छ?तपाईंहरू जिल्लामा गएर फेरि छिर्के दाउ गर्नुहुन्छ कि हुन्न?’, उनले भने, ‘म यस्तो कुरामा भुक्तभोगी हो। अगुल्टोले हानेको कुकुर विजुली चम्कँदा पनि तर्सिन्छ भने झैँ भएको छ मलाई।’

पौडेल एकताबाट पहिलो पटक तर्सिएका हैनन्। यसअघि गत जेठमा गौशालास्थित एक पार्टी व्यालेसमा कृष्णप्रसाद सिटौला र अर्जुनरसिंह केसीसँग गठबन्धन गर्दा पनि उनले यस्तै व्यवहार देखाएका थिए।

सभापति देउवा पनि यो हातेमालोबाट सन्तुष्ट थिएनन्। उनले पनि आफू बोल्ने क्रममा कुण्ठा बोके। उनीविरुद्धपछिल्लो समय खनिएका नेताविरुद्ध उनले कार्यक्रममै कुण्ठा पोखे।

‘लोकतान्त्रिक पार्टी हो। तपाईंहरूले मेरो विरोध गर्न पाउनुहुन्छ। त्यसको छुट छ। मलाई गल्ति गरिस् भन्नुहोस् म सुधार्न तयार छु’, देउवाले भने, ‘तर ओलीको खिलापमा बोल्‍न किन आँट गर्नुहुन्न। माधव नेपाल जतिको बोल्नुहोस् न। ओलीको खिलापमा कोही बुल्दैन। खाली शेरबहादुर ठीक छैन भन्ने? त्यसो भए ओली ठीक छ त?’

देउवाको आक्रोशमा सहमहामन्त्री

काग्रेस सहमहामन्त्री डा. प्रकाशशरण महतले सभापति देउवाको बचाऊ गरिरहेका थिए। उनले असन्तुष्ट पक्षलाई विरोध मात्रै नगर्न आग्रह गरिरहेका थिए।

‘सबै मान्छे सबैसँग सन्तुष्ट हुँदैन। म पनि सभापतिसँग सन्तुष्ट छैन। उहाँले राम्रो बेले हुन्थ्यो। स्पस्ट बोले हुन्थ्यो भन्ने लाग्छ’, उनले भने, ‘उहाँ राम्रो बेल्नुहुन्न। उहाँ कन्भिन्स गर्न सक्नुहुन्न। तर काम राम्रो गर्नुहुन्छ। सुशील’दा पनि बुझिने बोल्नुहुन्न थियो। तर काम राम्रो गर्नुहुन्थ्यो।’

देउवाको रक्षामा उभिएका महत भने देउवाकै अक्रोशको सिकार बने। सभापति देउवाले बोल्दै गर्दा कार्यकर्ताले हल्ला गरे। शनिबार नै बन्दशत्र सुरु गर्ने भनेपछि कार्यकर्ताले हल्ला गरिरहेका थिए।

त्यसै क्रममा सहमहामन्त्री डा. महत पनि मञ्चमा नेता विमलेन्द्र निधिसँग उठेर कुरा गरिरहेका थिए। कार्यकर्तालाई हल्ला नगर्न देउवाले पटकपटक आग्रह गरे। देउवा अस्वस्थ जस्तो पनि देखिन्थे। उनी बोल्ने क्रममा निरन्तर खोकिरहेका थिए। तर कार्यकर्ताले हल्ला गर्न नछाडेपछि देउवा मतसँग खनिए। ‘प्रकाशजी, ओ प्रकाशरण महत, प्रकाश.. चुपलाग्नुन किन हल्ला गरेको’, देउवा महतसँग खनिए।

महासमिति उद्घाटन भयो तर सहमति भएन

महासमितिको उद्घाटन भएर शनिबार नै केहीबेर बन्दशत्र चल्यो। तर महासमिति बैठकमा प्रस्तुत हुने विधान मस्यौदामाथि अझै पनि सहमति जुट्न सकेको छैन।

संस्थापन समूह र असन्तुष्ट समूहले विधानमा आआफ्नो एजेन्डा लगाउन खोजेपछि विधान मस्यौदामा अन्तिम टुंगो लाग्न सकेको छैन। त्यसका लागि अहिले पनि शीर्ष नेताहरू प्रयासरत छन्। विधान मस्यौदालाई अन्तिम रूप दिन कार्यदल गठन गरिएको छ। तर उक्त कार्यदलले पनि विधान मस्यौदालाई अन्तिम रूप दिन सकेको छैन। विधानमा पदाधिकारी निर्वाचित गर्ने कि मनोनीत गर्ने, पदाधिकारी संख्या कति रहने भन्ने विवाद छ।

संस्थापन समूहले सभापतिको मनोनीत गर्ने अधिकार खोस्न नहुने भन्दै आधा निर्वाचित र आधा मनोनीत गर्नुपर्ने अडान राखेका छन्। तर संस्थापनइतर समूहले भने नेपालको संविधानमा दल सम्बन्धि व्यवस्थामा सबै पदाधिकारी निर्वाचित गर्नुपर्ने भएकाले मनोनीत गर्न नहुने अडान राख्दै आएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.