|

रुकुम : रुकुम पश्चिम चौरजहारी नगरपालिकाको मुख्य सडक चौरजहारी खोलागाउँ नुवाकोट सडक खण्ड ३ दिनदेखि अवरुद्ध भएको छ। नयाँ सडकको रूपमा खन्न लागिएको मेलैनाउली कालापाथर मनकोट सडक निर्माण गर्दा स्थानीयले अवरोध गर्दा निर्माण समूहले पुरानो सडकमा नै खाल्डो खनेर सडक अवरुद्ध गरिदिएका हुन्। वडामा गठित श्रम सहकारीले नगरपालिकामा योजनाको सम्झौता गरि सडक खन्ने क्रममा वडा न. ७ को मेलैनाउलीबाट नाका नदिएपछि विवाद सुरु भएको थियो। वडा नम्बर ७ का स्थानीयहरुले नयाँ सडक खन्दा आफ्नो पुरानो सडक खण्ड ओझेलमा पर्ने भन्दै अवरोध गरेको बताइएको छ।

मेलैनाउलीका स्थानीयले नयाँ सडक खन्न नदिएपछि निर्माणको जिम्मा लिएको श्रमसहकारीमार्फत पुरानो सडकमा पनि खन्न नदिने नियतले सडकमा स्काभेटर लगाई खाल्डो खनेर सडक अवरुद्ध गरिएको स्थानीयहरुको दाबी छ। नेपाली काग्रेस चौरजहारीका नेता तिलक भण्डारीले चौरजहारी नगरपालिकाका प्रमुख विशाल शर्माको प्रत्यक्ष निर्देशनमा पुरानो सडकलाई अवरुद्ध पारिएको बताएका छन।

नयाँ सडक निर्माणमा देखिएको विवाद निकालेर नेपाली कांग्रेस सरकारको पालामा निर्माण गरिएको सडक अवरुद्ध पारिएको उनको आरोप छ। नयाँ सडक खन्न खोज्ने र रोक्न खोज्ने स्थानीयका कारण बिच तनाब सृजना भएपछि इलाका प्रहरी कार्यालय चौरजहारीबाट घटनास्थलमा पुगेको प्रहरी टोलीले विवाद साम्य पारेको थियो। त्यहाँ स्थानीयहरूले नयाँ सडक चाहिदैन भनेर विवाद देखाएपछि पुरानो सडकमा पनि नयाँ टिमले खाल्डो खनेर अवरुद्ध पारेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रमुख सुमित खड्काले जानकारी दिए।

 ‘नयाँ सडक जाने जग्गामा एउटा ब्यक्तिले आफ्नो सडकमा हुँदैन भनेर अवरोध गरेको देखियो, त्यसपछि पुरानो सडकमा आफ्नो जग्गा पर्ने अर्को स्थानीयले पनि यो बाटो हुनै दिँदैनौँ भने मेरो जग्गा भएर जान त्यो सडकलाई पनि हुन दिन्नँ भनेर सडकमा खाल्डो खनेको रहेछ’ प्रहरी नायब उपरीक्षक खड्काले भने। उता नगर प्रमुख विशाल शर्माले सडक खन्ने क्रममा केही विवाद सृजना भएको खबर पाएपनि यस बिषयमा आधिकारिक कुनै जानकारी नभएको बताए। ‘यस बिषयमा हामीलाई खासै जानकारी गराईएको छैन तर वडा कार्यालयबाटसमस्या समाधानको लागि पहल भैरहेको मैले खबर पाएको छु’ प्रमुख शर्माले भने।  

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.