भन्छन्, ज्याला चित्त नबुझे पनि धर्म त हुन्छ

|

भक्तपुर : दरबार स्क्वायरस्थित वत्सला दुर्गा मन्दिर अगाडि चारैतिर ढुंगाहरूको बिचमा ढुंगामा बुट्टा कोर्न नाप लिँदै थिए, कान्छा रञ्जितकार। अलिअलि च्यातिएको लुगा, चाउरी परेको अनुहार, च्यातेको ढाका टोपीमा वत्सला दुर्गा मन्दिर ठड्याउन ढुंगामा कलात्मक बुट्टा कोर्न तल्लीन थिए कान्छा। वत्सला मन्दिर ७२ वैशाखको भूकम्पले क्षतिग्रस्त बनाएको थियो।

७७ वर्षअघि सूर्यमढीमा जन्मेका कान्छासँग अहिले पनि जस्तोसुकै बुट्टा कोर्ने क्षमता छ। बुबासँगै १५ वर्षको कलिलो उमेरमै ढुंगामा बुट्टा कोर्ने काम थालेका कान्छाले सुरुमा पाँच मोहोर ज्यालामा काम गरेको बताए। ‘थरले हाम्रो  काम धागो र कपडामा रङ भर्ने भए पनि त्यो काम हाम्रो परिवारमा कसैले गरेन', उनले भने, 'बुबाले पनि ढुंगाकै काम गर्नुभयो। मलाई पनि बुबाले आफूसँगै लगेर सानैदेखि ढुंगामा बुट्टा कोर्ने काम सिकाएकाले बुबाको बिँडो थाम्न मैले पनि यसैलाई निरन्तरता दिएको हुँ।’
मन्दिरमा छापेको ढुंगालाई हेरेर मनले सोचेर बुट्टा कोर्ने क्षमता समेत बोकेका कान्छाले कतिपय पुरानो बुट्टाहरु भने मनले सोचेर मात्र नहुने बताए। ‘कतिपय बुट्टाहरु नमुना अगाडि राखेरै कोर्नुपर्ने हुन्छ’ उनले भने ‘नरम ढुंगामा बुट्टा कोर्न सजिलो हुने भएपनि कडा ढुंगामा गाह्रो हुने बताउने कान्छाले मसिनो बुट्टा कोर्न निकै गाह्रो हुने गरेको बताए।’

वत्सला दुर्गा मन्दिर पुनर्निर्माण उपभोक्ता समितिबाट दुई वर्षदेखि दैनिक एक हजार रुपैयाँ ज्यालामा काम गर्दै आएका कान्छाले आफूलाई ज्यालामा विभेद गरेको गुनासो गरे। उनले भने ‘अरु ठाउँमा गए दैनिक १५ देखि १८ सयसम्म ज्याला पाउँछु। यहाँ दैनिक हजार दिन्छन्। बढाउने कुरा गरेको वास्तै गर्दैनन्।’ ज्याला चित्तबुझ्दो नभए पनि मठ मन्दिरको काममा धर्मप्राप्ति हुने भएकोले कम ज्यालामा चित्त बुुझाउँदै आएको बताए।

‘कम ज्याला भए पनि भगवानको बासस्थल बनाउने काम गर्न पाउँदा ज्यादै आत्मसन्तुष्टि मिल्छ’ उनले भने। कान्छाले भक्तपुर लगायत पशुपति, पाटनदरबार, हनुमानढोका, पनौती र धुलिखेलका विभिन्न मन्दिरमा बुट्टा कुँद्ने काम गरिसकेका छन्।

त्यसो त यो उमेरमा उनलाई यसरी खटिरकन आवश्यक छैन। उनका दुई छोरा, तीन छोरी छन्। आठ वर्षअघि श्रीमतीको बितेकी श्रीमतीको वियोग भुल्न अहिलेसम्म काम गरिरहेको कान्छा बताउँछन्।

हातखुट्टा चलुञ्जेल ढुंगामै बुट्टा कोर्ने कार्य गर्ने सोच राखेका उनले कान्छा छोरा चन्द्रप्रकाश रञ्जितकारलाई ढुंगाको काम सिकाएर आफ्नो बिँडो थमाएको बताए। उनका छोरा अहिले देशबाहिर गएर मठमन्दिरका लागि बुट्टा कोर्ने गर्छन्।


 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.