|

उदयपुर : देशमा केही गर्न सकिंँदैन भन्दै विदेश पलायन हुनेको संख्या  जोइरहेको छ। जोकोहीको मुखमा पनि यही वाक्य झुण्डिएको हुन्छ। तर गाउंँघरमै बसेर पौरख गर्नेहरूको नामको चर्चा भने कमै हुने गरेको छ। आत्मविश्वास र लगनशीलता भएर काम गर्नेहरू देशमै मालमाल भएका छन्।

सानो पुँजी लगाएर सिंगो गाउँलाई नै रोजगारी दिने किसान नै छन् भन्दा जोकोहीलाई असत्य जस्तै लाग्छ होला। किनभने वर्षौंदेखि गर्दै आएको कृषि पेसामा कमैको ध्यान जाने गरेको छ। नेपाली मानसिकताबाट कृषि पेसा ओझेलमा परेको बेला उदयपुर जिल्लाको बेलका नगरपालिका- १, आम्बासीका युवक कृष्ण बाँस्तोलाले भने कृषिबाटै जीवनको क्रान्ति गरेका छन्। ‘पैसा कमाउन विदेश जानुपर्दैन, देशमै राम्रो आम्दानी र इज्जतका साथ बस्न सकिन्छ’, उनी भन्छन्, ‘कृषिमा केही हुँदैन भन्ने म पनि अहिले सर्वस्व कृषि नै हो भन्न थालेको छु।’

च्याउ खेती गर्ने कृष्ण हिजोआज गाउँमा मात्र होइन, प्रदेश १ को नमुना कृषक बनेका छन्। आम्बासीमा रहेको आफ्नै घरमा बसी केही जग्गा भाडामा लिएर पाते र डल्ले च्याउको खेती गर्ने बाँस्तोला मासिक एक लाख रुपैयाँ कमाउँछन्। 

मासिक एक लाख आम्दानी, ३५ जनलाई रोजगारी

बाँस्तोलाको आम्बासीमा रहेको आफ्नै घर र केही भाडामा लिएको जग्गामा पाते र डल्ले च्याउको खेती गर्ने दुई ठाउँमा ४५ वटा गोठ छन्।

दुई करोड रुपैयाँ बढी लगानी गरेको बताउने बाँस्तोलाले मासिक खर्च कटाएर एक लाख रुपैयाँ कमाउने गरेको बताउँछन्। ‘मासिक रूपमा पाँच लाख आम्दानी हुन्छ, ३५ जनालाई रोजगारी दिएको छु,’ उनले भने, ‘सबै खर्च कटाएर घरका लागि एक लाख बस्ने गरेको छ।’

बाँस्तोलाको हिमाली च्याउ उद्योग दर्ता छ। त्यही च्याउ उद्योगमार्फत् विभिन्न प्रकारका च्याउ बजारमा पुर्‍याइरहेका छन्। ‘मेरोमा काम गर्नेहरूले मासिक १२ हजारदेखि १६ हजारसम्म तलब पाउने गरेका छन्,’ उनले भने, ‘प्राय: गाउँमै भएका महिला तथा पुरुषलाई जागिरे बनाएको छु।’ च्याउका लागि परालको कुन्यु लगाउने, च्याउको बिउ रोप्ने अनि हेरचाह गर्नेलगायतका काममा पनि आफैँ दौडिने गरेका छन् उनी।

यस्तो छ बाँस्तोलको आत्मविश्वास

भोजपुरको देवन्टारमा जन्मेका ३० वर्षीय बाँस्तोलाको अहिलेको थातथलो उदयपुरको बेलका आम्बासी हो। तिनै बाँस्तोलको प्रगति अपत्यारिलो छ। उनको खेतीमै उत्पादित च्याउबाट उदयपुरको गाईघाटमा च्याउको मःम पनि बनाएर बेच्न थालिएको छ। ग्राहकले पनि त्यसलाई रुचाएका छन्। 

उनी भन्छन्, ‘अब त भिसा लागे पनि विदेश जान्नँ। मलाई त कोरिया, जापान, अमेरिका यहीँ छ।’ हुन पनि उनले ४५ वटा टहरामा गरेको च्याउ व्यवसायबाट वार्षिक ६०-७० लाख रुपैयाँ बराबरको उत्पादन हुन्छ। सबै खर्च कटाएर पनि वार्षिक रूपमै १०-१२ लाख चोखो आम्दानी हुने गरेको छ। उनले १६ जनालाई मासिक रूपमा र ज्यालादारीमा सहित गरी ३५ जनालाई रोजगारी दिएका छन्। ‘मेरामा दुई प्रकारका कामदार छन्,’ उनले भने, ‘कहिलेकाहीँ सिजनमा मात्र काम हुन्छ, त्यसका लागि काम गर्नेले प्रति दिन ८०० देखि एक हजारसम्म लिने गरेका छन। मासिक रूपमा उद्योगमै बसेर काम गर्नेले १२ हजारदेखि १६ हजारसम्म पाउने गरेका छन्।’

उनको अब बोयर जातको बाख्रापालन, भैँसीपालन तथा वर्णशंंकर घाँस पनि उत्पादन गर्ने योजनाल छ। 'गाउंँकै साहु महाजन र आफूले कमाएको सबै पैसा लगानी गरेर अहिले झण्डै दुई करोड रुपैयाँको लगानी यही छ', बाँस्तोला भन्छन्, ‘नेपाल सरकारबाट लगानीमा सहयोग पाए बोयर जातको बाख्रापालन, भैँसीपालन तथा वर्णशंंकर घाँस पनि उत्पादन गर्ने योजना छ।’

बाँस्तोलाले सरकारबाट  चारदेखि पाँच करोड रुपैयाँ ऋण पाए १०० जनालाई रोजगारी दिने संकल्प लिएका छन्। ‘अहिले च्याउ खेती मात्र गरिरहेको छु,’ उनले भने, ‘सरकारको साथ सहयोग पाए कृषिका अन्य क्षेत्रमा पनि लगानी बढाउने सोचमा छु।’

यस्तो छ बजार

बाँस्तोलाले उत्पादन गरेको च्याउ सिन्धुली, बर्दिबास, काठमाडौं, धरान, बसाहा, गाईघाटसम्म पुग्ने गरेको छ। उनलाई बजारको कुनै समस्या छैन। यस पेसाबाट उत्साहित भएर उनी त अझै सुनसरी र धनकुटाको भेडेटारमा समेत आफ्नो च्याउ खेती विस्तार गर्ने योजनामा छन्। आम्बासीमा भाडामा लिएको दुई ठाउँको दश-दश कट्ठा जग्गामा उनले अहिले ४५ वटा टहरा बनाएर पाते र डल्ले च्याउको खेती गर्दै आएका छन्। उनको लगानी अहिलेसम्म दुई करोड रुपैयाँ पुगिसक्यो। अझ विस्तार हुँदै छ। उनले भने, ‘उत्पादन गरेको डल्ले च्याउ ४०० रुपैयाँ प्रति किलो र पाते च्याउ प्रति किलो १५० रुपैयाँमा बिक्री हुन्छ। प्रदेश १ मा डल्ले च्याउ उत्पादन गर्ने पहिलो किसान हुन् उनी। 

यसरी लागे च्याउ खेतीमा

पारिवारिक स्थिति दयनीय र ५ कक्षासम्म मात्र पढेका छन् उनले। उनी कोइलाखानीमा काम गर्न भारतको मेघालयस्थित खसिया हिल गइरहन्थे। यसबाट घरको आर्थिक अवस्था खासै सुध्रिएको थिएन। ०७० सालमा उनी साउदी गए। उनी भन्छन्, 'साउदी गएको दश दिनमै फर्किएँ। घरभित्रको कामका लागि गएको, सडकमा ज्यामीको काम गर्नु पर्‍यो अनि फर्केको हुँ।’

घर फर्कंंदा पैसा होइन, साउदीको जाँदाको ऋण मात्र थियो। उनको अनुभव छ, ५०० रुपैयाँ पनि कसैले ऋण पत्याएनन्। फर्किर उनले कुखुरापालन व्यवसाय सुरु गरे तर धेरै कुखुरा मरेपछि त्यसबाट पनि खासै लाभ भएन। ऋण धेरै लागेकाले त्यो ऋण तिर्न २०७० जेठमा फेरि उनी मेघालय गए। त्यहाँ खानीभित्रै लडे र संयोगले बाँचे। कसैले उद्धार गरेर बाहिर ल्याइदियो। पछि उनका बुबा पनि भारतमै भएकाले आएर उपचार गराइदिए। घर फर्किएपछि उनलाई ८० वर्षीय हजुरबुबाले पनि धरानको घोपामा थप उपचारको प्रबन्ध गरिदिए।

उनले २०७१ सालदेखि च्याउखेती सुरु गरे तर सुरुमा खासै राम्रो भएन। पछि २०७१ चैतमा पुनः ऋण गरेर अशक्त हातले नौ हजार रुपैयााँ लगानी गरेर २०० पोका च्याउ लगाएपछि भने त्यसबाट पहिलोचोटि ६५ हजार रुपैयाँ नाफा गरेका थिए।

एक वर्ष अगाडि सप्तकोसी एफएमा च्याउको बिउ चाहिएमा सम्पर्क गर्नू भनी बजाइएको विज्ञापन सुने। बुझ्दै जाँदा काठमाडौँको नागार्जुन नगरपालिकामा ऋषिलाल तामाङको च्याउ फार्ममा पुगे। त्यसपछि भने उनको भाग्य बदलियो।

उनी भन्छन्, 'ऋषिलाल तामाङको सहयोगले आज म यो ठाउँमा छु। तामाङ च्याउखेती गरेर उत्कृष्ट किसानको पुरस्कार पाइसकेको हुनुहुँदोरहेछ। उहाँले मलाई धेरै कुरा सिकाउनुभयो।' उनले १५-१६ लाखको त बिउ नै दिँँने बताए। तामाङले एक जना प्रविधिज्ञ पनि पठाइदिएको बताउँछन् उनी। आम्बासीको वगाहा टोलमै हिमाली च्याउ उद्योग खोलेपछि संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रमको लघुउद्यम विकास कार्यक्रममार्फत् पनि च्याउ खेतीबारे तालिम प्राप्त गरे। अहिले उनी च्याउ उद्यमी बनेका छन् तर सरकारी पक्षले धेरै आश्वासन दिए पनि खासै च्याउ खेतीका लागि सहयोग नपाएको बताउँछन्। 

  अघिल्लो समाचार

पछिल्लो समाचार  

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.