कालिकोट : जिल्लाको रास्कोट नगरपालिकाले बेरोजगार युवालाई रोजगार दिनका लागि श्रम बैंक संचालनमा ल्याएको छ। मानवीय श्रमको बैंक सञ्चालनमा ल्याएको छ। १८ देखि ४९ वर्षसम्म उमेर समूहका बेरोजगार महिला–पुरुषलाई सदस्य बनाएर श्रम बैंक संचालनमा ल्याएको हो।
नगरपालिका भित्रका सबै वडाका बेरोजगार महिला तथा पुरुष समेटर श्रम बैंक संचालनमा ल्याएको छ। नगरपालिका भित्रका श्रमयोग्य नागरिकलाई लक्षित गरेर बैंक संचालन ल्याएको र यससम्बन्धी कार्यविधि निर्माण गरी प्रत्येक वडाबाट श्रमशक्ति छनाेट भइसकेको रास्कोट नगरपालिका प्रमुख काशीचन्द्र बरालले बताए। ‘श्रमयोग्य नागरिकलाई नगरपालिका भित्र नै रोजगारी लक्ष्य लिएर श्रम बैंकको स्थापना गरिएको छ।’ उनले भने,‘यसले बेरोजगारलाई रोजगार दिनेछ।’
यसरी निर्माण हुनेछ श्रम बैंक
नगरपालिका भित्रका बेरोजगार युवाको वडापालिकाले छनाेट गरेर नगरपालिकामा पेश गर्ने र समूह बनाएर तयसको लगत नगरपालिका राख्ने कार्यविधि नगरपालिकाले बनाएको छ। पहिलो चरणमा नगरपालिका भित्रका २०० जना युवा तथा युवतीलाई श्रम बैंकमार्फत पहिलोपटक रोजगारी दिने नगरपालिकाको लक्ष्य रहेको छ।
साधारण लेखपढदेखि उच्च शिक्षा पढेका युवायुवतीलाई कामको सुनिश्चितता गरेर ५० वर्ष पुगेपछि हुने अवकाश हुने गरी १० प्रतिशत रकम बचत गर्न लगाएर थप १० प्रतिशत नगरपालिकाले सहयोग गर्ने गरी कार्यविधि तयार पारिएको नगर प्रमुख बरालले बताए। ‘हामीले काम गरे वापतको १० प्रतिशत बैंकमा बचत गर्ने थप १० प्रतिशत रकम नगरपालिकाले सहयोग गर्ने गरी कार्यविधि ल्याएका छौं।’ उनले भने,‘श्रम बैंकमा काम गर्नेको उमेर हद ५०वर्ष उमेर समूह तोकेका छौं।’
श्रम बैंकका लागि २० जनाको समूह निर्माण गरेर काम दिने र सबैको श्रमको ज्याला बैंक खातामार्फत भुक्तानी गर्ने र त्यसमा नगरपालिकाले नगरमा एकजना व्यवस्थापक र एकजना प्राविधिक नियुक्त गरी उनीहरूको व्यवस्थित परिचालन गरिने नगर प्रमुख बरालले बताए। ‘२० जनाको समूह निर्माण हुनेछ।’ उनले भने,‘उनीहरूलाई पहिलो चरणमा एक हप्ताको तालिम पनि दिइने छ।’
मासिक तलब २१ हजार
श्रम बैंकमा काम गर्ने युवा युवतीको मासिक तलव प्रतिमहिना सरदर २१ हजार पुग्ने गरी योजना बनाइएको वडा ९ का अध्यक्ष डबल बोगटीले बताए। ‘सबै वडाबाट युवाको लगत लिएर नगरपालिकामा नाम पुगिसकेको छ।’ उनले भने,‘तलब मासिक करिब २१ हजार बराबर हुनेछ।’
१० लाख बिमा
श्रम बैंकमा काम गर्ने नागरिकको प्रति सदस्यको १० लाखको दुर्घटना बिमा नगरपालिकाले गर्ने र बिमाको प्रिमियम पनि नगरबाट भुक्तानी हुने नगरपालिकाका निमिक्त प्रमुख प्रशासकीय अधिकृत जवानसिंह बमले बताए। ‘श्रम रोजगार बैंकका सदस्यले नगरका विकास निर्माण, उत्पादन, सामाजिक सुरक्षा, दैवी प्रकोप तथा विपद् व्यवस्थापनलगायत काम गर्नेछन्।’ उनले भने, ‘प्रति सदस्य १० लाखको बिमा नगरपालिकाले गरेको छ।’
तपाईंको ईमेल गोप्य राखिनेछ ।