|

सोलुखुम्बु : जिल्लामा अहिलेसम्मकै भारी हिमपात भएको छ। जिल्लाको माथिल्लो क्षेत्रमा बुधबार रातिदेखि बिहीबार बिहान करिब ९ बजेसम्म निरन्तर हिमपात भएको हो। यो हिमपात अहिलेसम्मकै उच्च हो।

जिल्लाको खुम्बुस्थित लुक्ला र नाम्चे क्षेत्रमा करिब २ फिटभन्दा बढी हिउँ जम्मा भएको एक विद्यालयमा कार्यरत शिक्षक खगेन्द्रराज बास्तोलाले जानकारी दिए। शिक्षक बास्तोलका अनुसार अहिले त्यस क्षेत्रमा मानिस बाहिर निस्कन सक्ने अवस्था नरहेकाले घरभित्र आगो तापेर समय बिताइरहेका छन्।

हिमपातले जिल्लाको माथिल्लो क्षेत्र पूरै ढोकेको छ भने सल्लेरी लगायतको क्षेत्रमा हिउँ खेल्नेहरूको चहलपहल पनि बाक्लिएको छ। बिहीबार बिहान करिब १० बजेदेखि मौसममा सुधार आएर घाम लागेसँगै अहिले खोलामा पानीको सतहसमेत बढेको छ। हिउँ पग्लेर भल बग्न थालेको स्थानीय प्रत्यक्षदर्शी प्रेमबहादुर बस्नेतले बताए। सदरकुमकाम सल्लेरी आसपासको क्षेत्रमा करिब १० इन्चभन्दा बढी हिउँ जमेको छ।

यातायत ठप्प, जनजीवन कष्टकर

निरन्तर भएको भारी हिमपातको कारण सडक यातायात देखि पैदलयात्री समेतलाई समस्या भएको छ। अहिले लामो तथा छोटो दूरीका कुनै पनि सवारी साधन चल्न नसकेको अस्थायी जिल्ला ट्राफिक प्रहरी पोष्ट सोलुखुम्बुका इन्चार्ज संजीव चौधरीले जानकारी दिए। ट्राफिक प्रहरी चौधरीका अनुसार सल्लेरीबाट जिल्ला बाहिरका लागि छुटेको जीप तथा अन्य सवारी साधन सोलुदूधकुण्ड नगरपालिका ११ तिंलास्थित बेलीडाँडा क्षेत्रमा रोकिएका छन्।

जिल्ला भित्रने अधिकांश सवारी साधन ओखलढुंगाको ठाडेभन्दा यता कट्न सकेका छैनन्।  सडकको विभिन्न क्षेत्रमा बस तथा जीपहरू फँसेर बसेका छन्। फसेको सवारी साधनलाई उद्धार गर्न सक्ने अवस्थासमेत नरहेको इन्चार्ज चौधरीले बताए।

सवारी साधन आवगमन ठप्प हुनका साथै सडकमा बाक्लो हिउँजमेका कारण यात्रु भने अलपत्र परेका छन्। हिमपातका कारण यहाँको जनजीवन कष्टकर बनेको छ। विशेषगरि केटाकेटी र  बूढाबूढीलाई निक्कै समस्या भएको बताइन्छ।

युवकयुवती हिउँ खेलर मनोरञ्जनसँगै शरीर न्यानो बनाउने कोशिस गरे पनि केटाकेटी र बृद्धबृद्धालाई भने समस्या भएको सोलुदूधकुण्ड नगरपालिका ६ का भीमबहादुर नेपालीले बताए। 'उमेर भएकाहरू हिउँखेल्न कुद्छन्' नेपालीले भने, 'हामी बूढाबूढी केही गर्न सकिदैन, बजारमा आगो ताप्ने व्यवस्था पनि छैन, निक्कै गाह्रो भयो।'

घाम लागेर हिउँ पग्लन थालेपछि सडकमा भल बग्न थालेको छ। सगरमाथाको जिल्ला सोलुखुम्बुको सल्लेरी क्षेत्रमा भने निक्कै लामो समय पछि भारी हिमपात भएको यहाँका स्थानीय बताउँछन्।

हवाई सेवा पनि ठप्प

सबैभन्दा बढी विमनस्थल भएको जिल्लाको रूपमा चिनिएको सोलुखुम्बुमा बिहीबार कुनै पनि विमानस्थलमा उडान हुन सकेन। यसअघि तेञ्जिङहिलारी विमानस्थल र फाप्लु विमानस्थलमा नियमित उडान भइरहेको भए पनि भारी हिमपातका कारण कुनै पनि उडान हुन नसकेको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ।

जिल्लामा चारवटा विमानस्थल भए पनि हाल दुईवटा मात्रै सञ्चालनमा रहेको छन्। सञ्चालित विमानस्थलमा हिउँ जम्नुका साथै मौसम प्रतिकूलताको कारण उडान तथा अवतरण हुन नसकको हो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.