जिम्मेवारी विकेन्द्रित भए कामले गति लिने विज्ञको धारणा

|

काठमाडौं : प्रधानमन्त्री मुलुकको प्रमुख कार्यकारी हो। देशमा भएका नीति नियमको कार्यान्वयन गराउने प्रमुख कार्यकारी दायित्व प्रधानमन्त्रीमा हुन्छ। देशलाई कस्तो दिशा दिने भन्ने महत्वपूर्ण जिम्मेवारी पनि प्रधानमन्त्रीकै हो। सुखी नेपाली र समृद्ध नेपालको कल्पना गर्ने र स्थिर सरकारको नेतृत्व गरिरहेका प्रधानमन्त्री केपी शर्मा ओलीको देशप्रति रहेको भूमिका र जिम्मेवारी महत्वपूर्ण छ। तर ‌हालका प्रधानमन्त्रीमात्र होइन सबै प्रधानमन्त्री अनेकन कामको बोझले थिचिनु परेको छ। तुलनातम्क रुपमा सानातिना जिम्मेवारीले प्रधानमन्त्रीलाई ठूलाठूला र दीर्घकालीन महत्वका काममा फोकस हुन दिइरहेको हुँदैन।

प्रधानमन्त्रीले लिएको जिम्मेवारी सरकारको मात्र होइन, उनले समग्र देशको जिम्मेवारी लिइरहेकै हुन्छन्। विभिन्न निकायको प्रमुख समेत प्रधानमन्त्री नै रहने संवैधानिक र कानूनी व्यवस्था पनि छ। हालका प्रधानमन्त्री ओली ५१ निकायको अध्यक्ष, कुलपति तथा संरक्षक पनि छन्। यस्तो जिम्मेवारी कतिपय मानार्थ रहेको देखिन्छ भने कति दैनन्दिन लाग्नु पर्ने । कतिपय त अध्यक्ष पुग्नैँ पर्ने तर समयको प्राथमिकतामा नपर्ने खालका पनि छन्।

तीस संस्थाको अध्यक्षता

प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद्‍ अध्यक्षको हैसियतमा काम गरिरहेका छन्। मन्त्रिपरिषद्सँगै ओली संवैधानिक परिषद्को‍ पनि अध्यक्षता गर्छन्। प्रधानमन्त्री राष्ट्रिय सुरक्षा परिषद्को अध्यक्ष हुन्। नेपालको समग्र राष्ट्रिय हित, सुरक्षा र प्रतिरक्षाका लागि गर्नुपर्नै सबै काम पनि ओलीकै छ। प्रधानमन्त्री सुरक्षा परिषद्सँगै आदिवासी जनजातिको भाषा, संस्कृति जोगाउने आदिवासी जनजाति उत्थान संस्थामा पनि अध्यक्षकै हैसियतबाट काम गर्ने जिम्मेवारी छ।

यस्तै, प्रधानमन्त्री राष्ट्रिय पुनर्निर्माण प्राधिकरण निर्देशक समितिका अध्यक्षका रुपमा कार्यरत हुने गर्छन्। उनले यो सँगै राष्ट्रिय प्रतिष्ठान सञ्चालक परिषद् र राष्ट्रिय जलस्रोत विकास परिषद्को पनि अध्यक्षकै रुपमा आफ्नो भूमिका निभाइरहेका छन्।

आफ्नो दल नेकपाको अध्यक्ष रहेका प्रधानमन्त्री ओली पर्यटन विकास सम्बन्धी योजना, नीतिगत मार्गदर्शन, विकास निर्माणका कार्यक्रमको समीक्षा जस्ता काममा पनि पुग्नु पर्ने हुन्छ। पर्यटन परिषद्सँगै जलवायु परिषद् र काठमाडौं उपत्यका विकास परिषद्‍मा पनि अध्यक्षकै रुपमा नेपालको कार्यरत हुनु पर्छ।

प्रधानमन्त्री उच्चस्तरीय एचआइभी एड्स परिषद्का अध्यक्ष समेत हुन्। एड्स परिषद्सँगै राष्ट्रिय विकास परिषद्मा पनि अध्यक्षकै हैसियतमा प्रधानमन्त्री रहने व्यवस्था छ। प्रधानमन्त्रीले राष्ट्रिय विकास परिषद्ले राष्ट्रिय योजनालाई आर्थिक नीति तय गर्न र राष्ट्रको सन्तुलित विकास गर्न निर्देशन गर्दछ।

राष्ट्रिय सूचना प्रविधि विकास परिषद्का अध्यक्षका रुपमा प्रधानमन्त्री रहेका हुन्छन्। उनले आधुनिक सूचना प्रविधिको विकास र विस्तार गर्दै राष्ट्रिय विकास समस्या समाधान समितिमा पनि अध्यक्षकै हैसियतले काम गर्नु पर्ने व्यवस्था छ।

वागमती र यसका सहायक नदीनालाको संरक्षण सम्बन्धी उच्चस्तरीय समिति गठन भएको छ। यसमा अध्यक्षको पद प्रधानमन्त्रीलाई नै दिइएको छ। वागमती संरक्षणसँगै प्रधानमन्त्री प्रशासन सुधार समन्वय तथा अनुगमन समिति र सार्वजनिक प्रशासन पुनर्संरचना निर्देशन समितिमा पनि अध्यक्षको रुपमा रहन्छन्।

यतिमात्रै भार छैन प्रधानमन्त्रीमा। उनी अझै बोझले थिचिएका छन्। राष्ट्रिय जनसंख्या समितिको अध्यक्षको जिम्मेवारी पनि प्रधानमन्त्रीलाई नै छ। स्वास्थ्य तथा जनसंख्यामन्त्रालय समग्र नीति निर्माण, योजना, संगठन, सामुदायिक स्तरमा स्वास्थ्य क्षेत्रको समन्वयका लागि जिम्मेवार पनि उनै छन्। प्रधानमन्त्री संगठित संस्था सम्बन्धी उच्चस्तरीय नीति निर्देशन समिति र विकेन्द्रीकरण कार्यान्वयन तथा अनुगमन समितिमा अध्यक्षका रुपमा कार्यरत छन्।

राष्ट्रिय बाघ संरक्षण समितिको अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओली हुन्। राष्ट्रिय बाघ संरक्षण समितिले विशेषगरी बाघको चोरी सिकार तथा अवैध व्यापारलाई नियन्त्रण गर्दछ। राष्ट्रिय बाघ संरक्षण समितिका साथै प्रधानमन्त्री ओली राष्ट्रिय योजना आयोग,कर्णाली विकास परिषद्, सूचना प्रविधि उच्चस्तरीय आयोगमा पनि अध्यक्षकै हैसियतमा काम गर्छन्।

प्रधानमन्त्री केपी शर्मा ओलीले गरिबी निवारण कोष, दिगो विकासका लागि राष्ट्रिय आयोग, उच्चस्तरीय लगानी बोर्ड, बहुपक्षीय खेलकुद समन्वय परिषद्, लगानी बोर्ड, उच्चस्तरीय व्यवसाय मञ्चमा पनि अध्यक्षकै हैसियतबाट आफ्नो भूमिका निभाएका छन्।

प्रधानमन्त्रीलाई यति धेरै जिम्मेवारी दिइनु नेतृत्वका हिसाबले त उचित नै होला तर यी संस्थाहरुमा काम अगाडि बढाउन सहज नहुने विज्ञहरु बताउछन् । संविधानले तोकेका बिषयमा तत्काल परिवर्तन गर्न सम्भव नभए पनि अरु बिषयमा सम्बन्धित मन्त्रीलाई जिम्मेवार बनाउँदा कामले गति लिन सक्ने उनीहरुको धारणा छ । पूर्वमुख्य सचिव विमल कोइराला अहिलेको व्यवस्थाले प्रधानमन्त्री ओली स्वयंले राखेका लक्ष्यमा बाधा पुग्ने र उल्टै दोष उहाँ माथि नै आउन सक्ने बताउँछन्।

प्रधानमन्त्री प्रमुख संरक्षक रहेका ९ संस्थाहरू

प्रधानमन्त्री ओली नेपाल प्रज्ञा प्रतिष्ठानका संरक्षक हुन्। नेपालका भाषा, साहित्य, दर्शनशास्त्र, संस्कृति तथा सामाजिक शास्त्रसम्बन्धी अध्ययन गर्न सिजर्नात्मक वातावरणको निर्माण गर्न सञ्चालन गरिएको संस्था हो।

त्यस्तै प्रधानमन्त्रीले नेपाल स्काउट र नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानमा पनि संरक्षककै रुपबाट काम गर्छन्।

नेपालका प्रधानमन्त्री नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठान, लुम्बिनी विकास कोषका संरक्षक हुन्। उनको नेपाली संस्कृतिलाई बचाउन र नाट्यकलालाई लोप हुन नदिन संरक्षकका रुपबाट सक्दो प्रयास गर्ने जिम्मेवारी हुन्छ।

प्रधानमन्त्रीलाई राष्ट्रिय खेलकुद परिषद्‍मा पनि संरक्षककै भूमिका हुन्छ भने पशुपति क्षेत्र विकास कोष,राष्ट्रिय प्राकृतिक संरक्षण कोषमा पनि सोही जिम्मेवारी रहने गरेको छ।

प्रधानमन्त्री कुलपति रहने १३ संस्थाहरु

वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका कुलपति रहेका प्रधानमन्त्री केपी शर्मा ओली काठमाडौं र त्रिभुवन विश्वविद्यालयमा पनि कुलपतिकै रुपमा छन्। निजी स्रोतबाट सञ्चालित काठमाडौं विश्वविद्यालयको कुलपति समेत रहेका प्रधानमन्त्रीले पूर्वाञ्चल र पोखरा विश्वविद्यालयमा समेत सोही हैसियतमा काम गर्छन्।

उनी नेपाल संस्कृत विश्वविद्यालय (दाङ), लुम्बिनी बौद्ध विश्वविद्यालय र मध्यपश्चिमाञ्चल विश्वविद्यालयमा पनि कुलपतिकै भूमिकामा छन्। प्रधानमन्त्री कञ्चनपुरमा रहेको सुदूरपश्चिमाञ्चल विश्वविद्यालय र कृषि तथा वन विज्ञान प्रतिष्ठान र चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानमा समेत कुलपतिकै हैसियतमा कार्यरत छन्। 

प्रधानमन्त्री केपी शर्मा ओली पाटन स्वास्थ्य विज्ञान राष्ट्रिय प्रतिष्ठानका कुलपति हुन्। संसदबाट पारित पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान उच्च शिक्षा हासिलको लागि बनेको संस्था हो। यसका साथै प्रधानमन्त्री नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठानमा पनि कुलपतिकै रुपमा काम गरिरहेका छन्। यति धेरै जिम्मेवारी प्रधानमन्त्रीको यो पदमा थोपर्नु उचित नहुने शिक्षाविद् विद्यानाथ कोइराला बताउँछन्। शिक्षामा हुने कार्य सम्पादनमा प्रधानन्त्रीका दैनिक अन्य महत्वका काममा पनि असर परिरहेको उनको बुझाइ छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.