नेपाली विद्यार्थीले पाउँछन् मासिक भत्ता

|

काठमाडौं :  बढ्दो आधुनिकतासँगै संस्कृत भाषाको औचित्य छैन। यसलाई राज्यले यति ठूलो खर्च गर्नुपर्दैन भन्ने आवाज पनि सुनिने गरेको छ।

वैदेशिक रोजगारीमा काम लाग्ने अंग्रेजी, कोरियाली, जापानी र चिनियाँजस्ता भाषाको मोह बढिरहेका वेला संस्कृत सिक्नेको संख्या पनि कम छैन। काठमाडौंलगायत देशका विभिन्न ठाउँमा चलिरहेका भाषा कक्षामा संस्कृतप्रतिको आकर्षण देखिन्छ। 

संस्कृतका लागि  उच्च शिक्षा अध्ययन गर्नेहरूका लागि काठमाडौंमा गन्तव्य हो, वाल्मीकि विद्यापीठ। २००९ सालमा स्थापना भएको संस्कृत महाविद्यालय ०३० सालमा वाल्मीकि विद्यापीठमा परिणत भएको सहप्रध्यापक प्रियंवदा काफ्ले बताउँछिन्।

वाल्मीकि क्याम्पसमा स्वदेशका देखि विदेशी विद्यार्थी संस्कृत र दर्शन पढ्न आउँछन्। यो वर्ष वाल्मीकि विद्यापीठमा संस्कृत पढ्नेहरूको संख्या एक हजारको हाराहारीमा छ। अहिले संस्कृत पढ्ने विदेशीको संख्या ६० रहेको  विद्यापीठका प्राचार्य डा.गणेशप्रसाद घिमिरे बताउँछन्। अघिल्लो वर्षभन्दा यो वर्ष संस्कृत पढ्नेहरूको संख्या धेरै भएको उनले बताए। अघिल्लो शैक्षिक सत्रमा ८०० विद्यार्थी थिए भने अहिले एक हजार पुगेका छन्। तीमध्ये जापान, अस्ट्रेलिया, कोरिया र मंगोलियन गरी ६० जना विदेशी छन्।

कति छन् त विद्यार्थी?

प्राचार्य घिमिरेका अनुसार आचार्य प्रथम वर्षमा ७७ र आचार्य दोस्रो वर्षमा ४६  विद्यार्थी छन्। त्यस्तै शास्त्रीतर्फ जाँच दिन तयार विद्यार्थी ५५ छन् भने नयाँ वर्षका पठनपाठनका लागि ४४ विद्यार्थी भर्ना भएका छन्। शास्त्री द्वितीय वर्षमा ४६ विद्यार्थी छन् भने तृतीय वर्षमा ५५ जना छन्। उत्तरमध्यमा द्वितीयमा १०७ विद्यार्थी  छन्।

संस्कृत भाषा प्रशिक्षण (प्राक शास्त्र) मा ३०० जना र योग तथा प्राकृतिक चिकित्सा शास्त्रमा ११० विद्यार्थी छन्। कर्मकाण्ड प्रशिक्षण अन्तर्गत प्राथमिकमा ३५ र माध्यमिकमा ३० गरी ६५ विद्यार्थी छन्।

‘विदेशी संस्कृत भाषा प्रशिक्षण अन्तर्गत पहिलो सेमेस्टरमा १० र दोस्रो सेमेस्टरमा अहिले एकजना पनि छैनन्', घिमिरेले भने’ ''प्राच्य धर्मदर्शन आचार्यमा दुई विदेशी विद्यार्थी छन्।'

पढाइ हुने विषय

विद्यापीठमा आधुनिक र प्राच्यगरी १७ वटा विषयको पठनपाठन हुन्छ। प्राच्यतर्फ चार प्रकारको वेद, वेदान्त, मिमांसा, व्याकरण, जोतिष, इतिहास, पुराण, साहित्य, तन्त्र, न्याय, बौद्ध, दर्शन, सर्वदर्शन विषयको पठनपाठन हुन्छ। यस्तै आधुनिकतर्फ नेपाली, अंग्रजी, गणित, अर्थशास्त्र, राजनीतिशास्त्र पढाइन्छ।

पढाइको तह

भाषा, प्रशिक्षण, योग तथा प्राकृतिक चिकित्सा प्रशिक्षण, कर्मकाण्ड प्रशिक्षण, विदेशीका लागि भाषा प्रशिक्षण विभिन्न तहमा पढाइ हुने विद्यापीठकी शैक्षिक प्रशासक सिन्धु शर्माले रहेको बताइन्। कक्षागत रूपमा  भने उत्तरमध्यमा, शास्त्री, आचार्य तह रहेको उनले जानकारी दिइन्।

विदेशीलाई भिन्नै शुल्क

यहाँ अध्ययन गर्न नेपाली विद्यार्थीलाई भन्दा  विदेशीलाई शुल्क बढी लाग्ने गरेको बताए। उनका अनुसार विदेशी संस्कृत भाषा प्रशिक्षण अर्न्तरगत पहिलो सेमेस्टरका विदेशी विद्यार्थीलाई ६ महिनाको ४७० डलर लिने गरिन्छ। प्राच्य धर्मदर्शन आचार्यतर्फ पढ्ने विदेशीले विद्यार्थीले  वर्षको एक हजार ३५० डलर तिर्नुपर्छ। तर नेपाली विद्यार्थीलाई भने योग तथा प्राकृतिक चिकित्सा अध्ययन गरेको ६ महिनाको १३ हजार मात्र लिइन्छ। कर्मकाण्ड प्रशिक्षणको शुल्क नेपाली विद्यार्थीबाट तीन हजार ५०० मात्र लिने गरेको घिमिरेले बताए। कर्मकाण्ड प्रशिक्षण पनि ६ महिने कोर्स हो।

किन पढ्छन् त संस्कृत

‘संस्कृति, परम्परा सबै हामीसँगै छ। यी संस्कार, संस्कृति, परम्परा, र हाम्रा प्राच्य सभ्यतालाई संरक्षण गर्ने उद्देश्यले नै संस्कृत पढ्न आउँछन्', प्राचार्य घिमिरेले भने, ‘अहिले युवामा दर्शन, धर्म, ज्योतिषप्रति आकषर्ण बढको छ, त्यसैले देशदेखि विदेशसम्मका युवायुवतीहरू संस्कृतप्रति मोहित भएका हुन्। ज्ञान लिएर नयाँ कुरा सिक्ने, नयाँ पुस्तालाई धर्म, संस्कृति सिकाउन सकिने, धर्म आर्जन गर्न सकिने उद्देश्य लिएर संस्कृत पढ्नेको संख्या उल्लेख्य रहेकाे उनले बताए। 

सहप्रध्यापक काफ्ले पनि संस्कृत विषयमा अहिले विद्यार्थीको एकदमै आर्कषण रहेको बताउँछिन्। विद्यार्थी यसमाआकर्षक हुनुको मुख्य कारण संस्कृतमा सर्वोंकृष्ट, वैज्ञानिक विद्या भएको हो भन्ने उनको बुझाइ छ। धर्म–संस्कृतिको जगेर्ना गर्न, भावी पुस्तालाई संस्कृततर्फ आकर्षित बनाउन पनि अहिले युवापुस्ताले संस्कृत भाषामा बढी मोह देखाएको उनको बुझाइ छ

संस्कृत पढ्नेलाई सेवा, सुविधा

प्राचार्य घिमिरेले संस्कृत भाषाप्रति सबैलाई आकर्षित गर्न विभिन्न सेवाहरूसँगै प्रोत्साहन भत्ताको व्यवस्था गरेको बताए।  विद्यापीठमा अध्ययनरत दलित तथा जनजाति विद्यार्थीलाई मासिक दुई हजार दिने गरिएको छ। त्यसबाहेक सबै छात्राले मासिक एक हजार भत्ता पाउँछन्। ‘ब्राहमण, क्षेत्री विद्यार्थीलाई भने मासिक ९०० रुपैयाँ दिइन्छ', घिमिरेले भने। विद्यापीठमा पढ्ने विद्यार्थीका लागि तीनधारा छात्रावासमा निःशुल्क खान, बस्नको समेत सुविधा रहेको उनले बताए।

विद्यापीठमा आइतबारदेखि बिहीबारसम्म बिहान, दिउँसो र बेलुका गरी तीन सिफ्टमा पठपाठन हुने गरेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.