|

सोलुखुम्बु : सोलु करिडोर १३२ केभी प्रशारण लाइन बिस्तारको सम्झौता म्याद सकिए पनि काम सकिन अझै एक वर्ष लाग्ने बताइएको छ। सम्झौताअनुसार फागनु १० गते बिस्तारको सक्नुपर्ने भए पनि अझै एक वर्ष लाग्ने आयोजना प्रमुख जर्नादनप्रसाद गौतमले बताए।

नेपाल विद्युत प्राधिकरण र निर्माण कम्पनीबीच ३० महिनामा आयोजना सम्पन्न गर्ने गरी आर्थिक वर्ष २०६६÷०६७ मा सम्झौता भएको थियो। प्रमुख गौतमका अनुसार आयोजनाको काम सामुदायिक वनको कारण अघि बढ्न नसकेको हो। ‘अब त्यो कानुनी गाँठो फुक्यो,’ उनले भने, ‘एक वर्षमा आयोजनाको काम सकिन्छ।’

रुख काट्न स्वीकृति

सामुदायिक वनको कारण रोकिएको निर्माणाधीन सोलु करिडोर १३२ केभी प्रशारण लाइनको काम अगाडि बढाउन बाटो खुलेको छ। प्रशारण लाईनको ओखलढुङगा र सोलुखुम्बुमा पर्ने वन क्षेत्रमा रुख कटानका लागि मन्त्रिपरिषदले स्वीकृति दिएसँगै काम अगाडि बढाउन बाटो खुलेको हो। 

चैत ७ मा बसेको मन्त्रिस्तरीय बैठकले आयोजनालाई रुख काट्न अनुमति दिने निर्णय गरेको छ। निर्णयअनुसार ओखलढुङ्गामा १२.८७ हेक्टर क्षेत्रफलमा रहेका तीन हजार ५०९ तथा सोलुखुम्बुको ४.७७ हेक्टर क्षेत्रफलमा रहेका दुई हजार ३६९ वटा रुख काट्ने अनुमति प्राप्त भएको आयोजना प्रमुख गौतमले बताए।

गौतमका अनुसार आयोजना लाइनमा सिरहाका ६, उदयपुरका १५, ओखलढुंगाका १३ वटा र सोलुखुम्बुका २ वटा सामुदायिक वन परेका छन्। आयोजना क्षेत्रभित्र पर्ने सिरहा र उदयपुर जिल्लाको वन क्षेत्रको जग्गा प्रयोगको विषय केही समयअघि नै सुल्झिए पनि ओखलढुंगा र सोलुखम्बुको वन क्षेत्रको जग्गा प्रयोगको विषय करिब नौ महिनादेखि टुंगिन सकेको थिएन। 

कानुनी जटिलताकै कारण निर्धारित समयमा काम सम्पन्न गर्न नसक्ने बताइएको आयोजना अब भने स्थानीय तहको समस्याबाहेक कानुनी जटिलता हटिसकेको छ। कानुनी जटिलता हटेसँगै आयोजनाले तीब्रता पाउने सोलुखुम्बुका प्रतिनिधिसभा सदस्य हेमकुमार राईले विश्वास व्यक्त गरे।

एक वर्ष लाग्ने अनुमान

मन्त्रिपरिषदबाट स्वीकृत भएको उक्त फाइल विभागमा आउने र विभागसँग सम्झौता भएपछि काम अगाडि बढ्ने छ। सम्झौतालाई  विभागले जिल्लामा पठाएपछि मात्र रुख कटानको काम सुरु हुने आयोजना प्रमुख जनार्दनप्रसाद गौतमको भनाइ छ। 

फाइल प्रक्रियागत रुपमा जिल्ला आउन एक महिना लाग्ने, त्यसपछि रुखमा टाँचा लगाउन दुई महिना लाग्ने प्रमुख गौतम बताउँछन्। उनका अनुसार दुई महिनापछि मनसुनको समय पनि सुरु हुने भएकाले काम प्रभावित हुनेछ। 

यसरी हेर्दा सोलु करिडोरमा रुख काट्ने काम सम्पन्न गर्नका लागि कम्तीमा ६ महिना लाग्ने आयोजनाको अनुमान छ। ६ महिनापछि तार तथा पोलको कार्य सुरु हुने र ६ महिनामा काम सम्पन्न गर्ने लक्ष्य रहेको आयोजना प्रमुख गौतमले बताए। 

सिरहाको मिर्चैयादेखि उदयपुर र ओखलढुंगा हुँदै सोलुखुम्बुको तिङ्ला जोड्ने लक्ष्य राखिएको आयोजनाको काम अहिले सिरहातर्फबाट उदयपुरसम्म आइपुगेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.