|

काठमाडौं : नेपालमा उच्च शिक्षाको अध्ययन गुणस्तरीय र आकर्षक नभएको तथा शैक्षिक बेरोजगारीको समस्या कायम रहेको नाममा विदेश जाने विद्यार्थीको संख्या बर्सेनि बढिरहेको शिक्षा मन्त्रालयको तथ्यांकले देखाएको। तथ्यांकका अनुसार पछिल्लो समय विद्यार्थीको मुख्य गन्तव्य अस्ट्रेलिया बनेको छ।

उच्च शिक्षा अध्ययन र रोजगारीलाई सँगसँगै बढाउनुपर्ने बाध्यताका कारण विद्यार्थी सहजता खोज्दै विदेशका कलेज तथा विश्वविद्यालय रोजेर जान्छन्। बर्सेनि ५० हजारभन्दा बढी विद्यार्थी बाहिर गएको मन्त्रालयको तथ्यांकले देखाउँछ।

केशरमहलस्थित शिक्षा मन्त्रालयअन्‍तर्गत वैदेशिक अनुमतिपत्र शाखाका अधिकृत बमेश्वर राईले बर्सेनि अध्ययनका लागि बिदेसिनेको संख्‍या बढिरहेको बताए। २०६८\२०६९ मा वैदेशिक अनुमतिपत्र (नो अब्जेक्सन लेटर) लिनेको संख्या १० हजार २५८ थियो भने अहिलेको आर्थिक वर्ष २०७५\२०७६ चैत मसान्तसम्ममा विद्यार्थी संख्या बढेर ४९ हजार ५५६ पुगेको अधिकृत राईले बताए।

बर्सेनि हजारौँ विद्यार्थी बाहिरिँदै

उनका अनुसार २०६९\२०७० मा उच्च शिक्षा अध्ययनका लागि बाहिर जाने विद्यार्थीको संख्या १६ हजार ४९९ रहेको छ। त्यस्तै, २०७०\२०७१ मा २८ हजार १२६, २०७१/२०७२ मा ३० हजार ६९६ र २०७२/२०७३ मा ३२ हजार ४०९ जनाले नो अब्जेक्सन लेटर लिएका छन्। त्यसैगरी, २०७३/२०७४ मा ५० हजार ६५९ र २०७४\२०७५ मा ५० हजार  ७५८ जनाले वैदेशिक अनुमतिपत्र लिएको तथ्यांक छ। यसरी अनुमति पत्र लिएका मध्ये १५ प्रतिशतदेखि २० प्रतिशत विभिन्न कारणले रोकिने गरेको राईले बताएका छन्।

उनका अनुसार २०७५\२०७६ साउनयता चैतमसान्तसम्ममा ५९ हजार ५५६ जनाले नो अब्जेक्सन लेटर लिएका छन्। उनका अनुसार २०७५ साउनमा चार हजार ८१६, भदौमा ६ हजार ६६४, असोजमा पाँच हजार ७८८, कात्तिकमा तीन हजार ६८१, मंसिरमा ६ हजार ६२७, पुसमा ६ हजार ७७०, माघमा पाँच हजार एक सय, फागुनमा पाँच हजार ५७२ जना र चैतमा चार हजार ५३८ गरेर २०७५\२०७६ आर्थिक वर्षको पछिल्लो नौ महिनामा ४९ हजार ५५६ जनाले नो अब्जेक्सन लेटर लिएका छन्।

यस आर्थिक वर्षमा सबैभन्दा बढी अस्ट्रेलियाका लागि २९ हजार ६१२ जनाले नो अब्जेक्सन लेटर लिएका छन् भने दोस्रोमा जापानका लागि ६ हजार ९८१ जना र  तेस्राेमा भारतका लागि एक हजार ९१२ जनाले नो अब्जेक्सन लेटर लिएको तथ्यांकमा देखिन्छ।

त्यस्तै, चौथोमा साइप्रस एक हजार ६२४, चीन एक हजार ४८३, क्यानडाका लागि एक हजार दुई सय १५, साउथ कोरियाका लागि आठ सय ६१ जनाले नो अब्जेक्सन लेटर लिएका छन्।

दैनिक दुई सयदेखि तीन सयजनासम्म विद्यार्थी ‘नो अब्जेसन लेटर’ लिन आउने गरेको वैदेशिक अनुमतिपत्र शाखाले जनाएको छ। शाखाका अनुसार अस्ट्रेलिया, जापान, भारत, अमेरिका, क्यानडा र चीन लगायत मुलुक जानका लागि बढी विद्यार्थी आवेदन दिन आउने गरेका छन् भने श्रीलंका, युक्रेन, आइसल्यान्ड, दुबई, ब्रुनाई लगायतका मुलुकमा विद्यार्थी सबैभन्दा कम जाने गरेका छन्।अहिले विश्वका ७० मुलुकमा नेपाली विद्यार्थी अध्ययनको लागि जाने गरेका छन्। त्यमध्ये सबैभन्दा बढी विद्यार्थी अस्ट्रेलिया जाने गरेको तथ्यांकमा देखिन्छ।  

लाइफ व्यवस्थित हुने र विवाहपछि दम्पती नै जान पाइने भएकाले अध्ययनका लागि अस्ट्रेलिया नै रोजेको नो अब्जेक्सन लेटर लिन आएकी एक छात्राको भनाइ छ। अहिले अस्ट्रेलिया उच्च र गुणस्तरीय शिक्षा अध्ययन गर्ने विद्यार्थीको लागि प्रमुख गन्तव्य थलो बन्न पुगेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.