'भरपुर पुस्तक पठाएका छौँ, विद्यालयमा नपुग्नु स्थानीय निकायको कमजोरी हो'
'भरपुर पुस्तक पठाएका छौँ, विद्यालयमा नपुग्नु स्थानीय निकायको कमजोरी हो'
काठमाडौं : शैक्षिक सत्र सुरु भएको एक हप्ता बितिसक्यो तर देशका कुनाकाप्चाका ठाउँमा अझै पुस्तक पुगेका छैनन्। सरकारले सञ्चालन गरेको भर्ना अभियानबाट विद्यार्थी विद्यालय त गए तर त्यहाँ विद्यालय मात्र छ पढ्ने पुस्तक छैनन्।
कर्णाली, धनगढी, मुगु क्षेत्रमा शैक्षिक सत्र सुरु भइसक्दा पनि विद्यालयले माग गरेअनुसार पुस्तक पुग्न सकेका छैनन्। जनक शिक्षा सामग्री केन्द्र लिमिटेड भक्तपुरले वितरण कार्यालय धनगढीमा यस वर्षका लागि २५ लाख ४९ हजार ७९३ थान पुस्तक शैक्षिक सत्र सुरु हुनुभन्दाअगावै नै पठाइसकेको जनाएको छ तर पनि उक्त क्षेत्रका विद्यालयमा अझै पुस्तक पुग्न सकेको छैन।
धनगढीका लागि मात्रै १ लाख ९५ हजार थान पुस्तकको अपुग भएको धनगढी वितरण कार्यालयले जनाएको छ। पुस्तक अभावका कारण विद्यार्थी दिनदिनै रित्तो हात स्कुल जान बाध्य भएका छन्।
मागअनुसार पुस्तक पठाएका छौँ, विद्यालयमा नपुग्नु स्थानीय निकायको कमजोरी हो
जनक शिक्षा सामग्री केन्द्रका सूचना अधिकारी तीलबहादुर अधिकारीले देशका सबै विद्यालयलाई पुग्नेगरी पुस्तक पठाइसकेको बताए। उनले धनगढी र आसपासका जिल्लाहरूको लागि धनगढी कार्यालयमा पुस्तक पठाएको बताए। उनी भन्छन्, 'यो जनक शिक्षा सामग्री केन्द्रको कमजोरी होइन, विक्रेता सम्बन्धित कार्यालयमा पुस्तक लिन नआएकै कारण पुस्तक विद्यालयमा नपुगेको हो। यो स्थानीय निकायको कमजोरी हो।'
उनले विक्रेताका लागि स्थानीय निकायबाट बजेट निकाशा नभएका कारण बिक्रेता पुस्तक लिन आउने काममा रोकिएको समेत बताए। पाठ्यपुस्तक किन्नका लागि स्थानीय तहले गत वर्षकै बजेट निकाशा अहिलेसम्म नगरेको गुनासो बिक्रेताको रहेको उनले बताए।
अघिल्ला वर्षहरूमा जस्तो कुनै पनि विद्यालयमा पुस्तक अभाव नहोस् भन्ने उद्देश्यले जनक शिक्षा सामग्री केन्द्रले गत वर्षभन्दा यस वर्ष २३ लाख ४५ हजार ४३४ थान पुस्तक बढी छापेको थियो। धनगढी वितरण कार्यालयमा अघिल्लो वर्ष २२ लाख २९ हजार ९३२ थान पुस्तक पठाएको थियो भने यस वर्ष २५ लाख ४९ हजार ७९३ थान पुस्तक पठाएको केन्द्रको विवरणमा उल्लेख छ।
अधिकारीले अघिल्लो वर्षभन्दा २ लाख थान पुस्तक बढी पठाउँदा पनि सुदूरपश्चिमका विद्यालयमा पुस्तक अभाव हुनु जनक शिक्षा केन्द्रको कमजोरी नभएको बताए।
तपाईंको ईमेल गोप्य राखिनेछ ।