छुट्टै कानुन बनाएर कार्यान्वयन

|
फाइल फाेटाे

काठमाडौं : उद्देश्‍यअनुसार राष्ट्रिय गौरवका आयोजनाले गति लिन नसकेको अवस्थामा आयोजना थप्नेक्रम भने जारी नै देखिएको छ। गौरव प्राप्त आयोजनलाई उच्च प्राथमिकता दिइने नीतिकै कारण पनि महत्वपूर्ण आयोजना गौरवको आयोजनामा समावेश गराउन लविङ भने हुने गरेको छ। 

पूर्वमन्त्री तथा सांसद शेरबहादुर तामाङले अर्को एउटा राष्ट्रिय गौरव आयोजना थप्नुपर्ने माग गरेका छन्। उनले थप्न माग गरेको योजनाले वार्षिक एक खर्बको बजेटको स्रोत सुनिश्‍चित गर्नेसमेत दाबी गरेका छन्। तामाङले भनेको राष्ट्रिय गौरवको आयोजना भनेको हिमाली मार्ग हो। ‘राष्ट्रिय गौरवको आयोजनामा अर्को नयाँ आयोजना अनिवार्य आवश्‍यक छ’ सासंद तामाङले भने, ‘दार्चुलादेखि ताप्लेजुङ जोड्ने हामाली राजमार्ग पहिचान गरी राष्ट्रिय गौरवको आयोजनामा राख्नुपर्छ।’

अघिल्लो वर्ष मात्रै एक नम्बर प्रदेश झापाको बाहुडागीदेखि डडेल्धुरासम्मको १२ सय किलोमिटरको मदनभण्डारी राजमार्गको बनाउने कार्यक्रम सरकारले सुरु गरेको छ। यो कार्यक्रम भने राष्ट्रिय गौरवको आयोजनामा राखिएको छैन। तर, हिमाली बाटो भएर हिँड्ने अर्को राजमार्गको प्रस्ताव तामाङले गरेका हुन्। तामाङकाअनुसार यो राजमार्गको काम सम्पन्न भएपछि वार्षिक बजेटमा एक खर्बको स्रोत बढाउनेछ। ‘ठ्याक्कै तथ्यांक त भन्न सक्दिनँ यो राजमार्ग बनेपछि कम्तीमा एक खर्ब रुपैयाँको बजेट स्रोत बढ्नेछ’ तामाङले भने।

तत्कालीन प्रधानमन्त्री डा. बाबुराम भट्टराईले उच्च प्राथमिकताको लागि भन्दै राष्ट्रिय गौरवका आयोजनाहरू अघि बढाएका थिए। कतिपय राष्ट्रिय गौरवका आयोजनाको काम अहिले पनि अघि बढ्न सकेका छैनन् भने कतिपयको प्रगति सन्तोषजनक देखिएको छैन। घोषणा गरिएका २१ मध्ये १८ वटा आयोजनाको नाममा चालू आर्थिक वर्षमा बजेट विनियोजन गरिएकोमा वित्तीय प्रगतिसमेत सन्तोषजनक देखिएको छैन। चालू आर्थिक वर्षको नौ महिनाको अवधिमा राष्ट्रिय गौरवका आयोजनामा विनियोजन गरिएको बजेटमा ५० प्रतिशत रकम मात्रै खर्च भएको छ।

छुट्टै ऐन बनाएर कार्यान्वयन

अर्थमन्त्री डा. युवराज खतिवडाले ठूला पूर्वाधार विकासको लागि छुट्टै ऐन बनाएर कार्यान्वयन गरिने प्रतिबद्धता जनाएका छन्। तर, खतिवडाका अनुसार राष्ट्रिय गौरवका आयोजनामा परेका सबै आयोजना ठूला पूर्वाधारका आयोजनामा पर्नेछैनन्। 

'ठूला पूर्वाधार आयोजनाको शीघ्र कार्यान्वयनका लागि छुट्टै ऐन ल्याइँदै छ' अर्थमन्त्री खतिवडा भन्छन्, 'राष्ट्रिय गौरवका आयोजनामा परेका धेरै आयोजना ठूला पूर्वाधार आयोजनामा पर्नेछन्।' उनले केही राष्ट्रिय गौरवका आयोजना भने प्राथमिकतामा नपर्ने संकेत गरेका छन्। 

'राष्ट्रिय गौरवका आयोजना ठूला पूर्वाधार आयोजनामा पर्छन् तर व्यक्तिको गौरवसँग जोडिएको कुरा नपर्न पनि सक्छ' खतिवडाले भने। उनले तीन तहका सरकारबीचको आयोजना वर्गीकरणको काम पनि छिट्टै टुंग्याउने जानकारी गराएका छन्। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.