उदयपुर : किराती समुदाय बसोबास रहेको क्षेत्रमा किरातीहरूको महान् चाड ‘उभौली’ सुरु भएको छ। वैशाखे पूर्णिमा सुरु हुनुभन्दा १५ दिनअघि र सुरु भएको १५ दिन पछिसम्म एक महिना यो चाड मनाउने गरिन्छ।
किराती समुदायले आ–आफ्नो घरको कुलपित्र गर्ने, आफन्तबीच शुभकामना आदानप्रदान गर्ने तथा सामूहिक रूपमा भेला भएर आफ्नो मौलिक नाच नाच्दै चाड मनाइँदै आएको किराती बुढापाकाहरूको भनाइ छ। दुई दर्जनभन्दा बढी भाषा बोल्ने किराती समुदायले यो चाडलाई आ–आफ्नै भाषा र शैलीमा मनाउने गर्दछन्। पूर्वी पहाडी जिल्लामा पर्ने बसोबास गर्ने राई, लिम्बू, याक्खा र सुनुवार समुदायले विशेषरूपमा मनाउने गर्दछन्।
यो चाडलाई राईले साकेला, लिम्बूले चासोक तङनाम, याक्खाले चाछुवा र सुनुवारले फोल्याँदर भन्ने गर्छन्। किरातीहरूले बालिनाली लगाउने र उठाउने समयलाई उभौली र उधौलीको चाडका रूपमा मनाउने गर्छन्।
वर्षायाम लागेपछि मौसम न्यानो हुने भएकाले सम्पूर्ण जीवजन्तु तथा चराचुरुङ्गी क्रमशः बेसीबाट लेकतिर सर्ने तथा रूखबिरुवामा पनि पुरानो पात झरेर नयाँ पात पलाउने हुनाले यसलाई उभौली यामका रूपमा लिएने गरेको नेपाल कम्युनिस्ट पार्टीका नेता किरण राई बताउँछन्। उनका अनुसार कृषि प्रणालीमा आधारित भएर जीवनयापन गरिरहेका किरातीबीच यही यामलाई आधार मानेर खेती लगाउने तथा खेतीपाती सप्रियोस् भनेर पूर्वजसँग आशीर्वाद माग्ने प्रचलन रहेको नेता किरातीले बताए।
किराती समुदायसँग सम्बध किरात राई ययोख्ख लगायतले विभिन्न सामूहिक चेतनामूलक कार्यक्रमहरूको आयोजना पनि उदयपुरका गरिँदै आएको छ। उदयपुरको गाईघाट, कटारी, बेल्टार लगायतको क्षेत्रमा साकेला शिल नचाइने गरिन्छ।
प्रदेश-१ मा बसोबास गर्ने किरात समुदायले उभौली विशेष पर्व पनि हो। उभौली पर्वको अवसरमा अवसरमा परम्परागत वेषभूषामा सजिएर गोलो घेरामा ढोल र झ्याम्टा बजाउँदै साकेला नाच्ने गरिन्छ। किरात समुदायले प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमादेखि १५ दिनसम्म उभौली मनाउने गरेका छन्।
किरात विधिअनुसार सुम्निमा र पारुहाङको पूजा गर्ने गर्छन्। मान्छेलाई खेती गर्ने ठाउँ दिने प्रकृति र खेती गर्न सिकाउने पूर्वजको सम्मानस्वरूप यो पर्वमा भूमिपूजा गरिन्छ।
प्रदेश १ मा पर्ने पूर्वी नेपालका ताप्लेजुङ, पाँचथर, इलाम, झापा, मोरङ, सुनसरी, खोटाङ, भोजपुर, धनकुटा, उदयपुर, ओखलढुंगा, सोलुखुम्बु, संखुवासभा, लगायत जिल्लाका किरात समुदायको बसोबास रहेको ठाउँमा धुमधामका साथ मनाउने गरिएको छ।
पछिल्लो समय जातीय सद्भाव तथा सांस्कृतिक सहअस्तित्व कायम राख्दै सबै जातजाति उभौली चाडको खुशियाली साट्दै शुभकामना आदानप्रदान गर्न थालेका छन्। आफन्त, साथीभाइ, नातागोता, छरछिमेकबीच पारिवारिक तथा व्यक्ति–व्यक्तिबीच शुभकामना आदानप्रदान गर्ने क्रम बढेको छ।
मुख्य मन्त्री राईको शुभकामना
प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले किरात समुदायको उभौली पर्व र शनिबार परेको बुद्धजयन्तीको अवसरमा शुभकामना व्यक्त गरेका छन्। स्वदेश तथा विदेशमा रहेका नेपाली दाजुभाइ, दिदीबहिनीमा उभौली र बुद्धजन्तीको शुभकामना प्रदान गरेका हुन्। ‘सहिष्णुता र सद्भाव थप सुदृढ गर्दै उत्तोरउत्तर प्रगतिको शुकामना व्यक्त गर्दछु,’ उनले भनेका छन्, ‘समृद्ध र विकसित समाज निर्माण सबैको प्रगतिको कामना गर्दछु।
स्वदेश तथा विदेशमा रहेका राई, लिम्बू, याक्खा, सुनुवारलगायत किरात समुदायमा सुख, शान्ति, सुस्वास्थ्य तथा समृद्धिका लागि शुभकामना व्यक्त गरेका छन्। पर्वहरूले हाम्रो सांस्कृतिक धरोहर र सम्पदालाई समुन्नत तुल्याउँदै विविधताको सम्मान गर्ने संस्कृतिको प्रवर्द्धन र विकास गर्ने विश्वास व्यक्त गरेका छन्।
तपाईंको ईमेल गोप्य राखिनेछ ।