|
फोटो : थाहा नगरपालिका–१ ओखरबजारको झम्केश्वरी माध्यामिक विद्यालय

हेटौंडा : २०७२ वैशाख १२ गते आएको विनाशकारी भूकम्पबाट मकवानपुर पनि नराम्ररी हल्लियो। मकवानपुरका ४ सय ९ विद्यालयका २ हजार ३ सय २० कक्षाकोठा पूर्ण क्षति भए। अधिकांश पुराना शैक्षिक भवनहरू ध्वस्त भए। करिब ४ वर्ष मकवानपुरका अधिकांश विद्यार्थी अस्थायी सिकाइ केन्द्रमा बसेर अध्ययन गर्न बाध्य भए।

तर अहिले अवस्था फेरिएको छ। ढिलै पनि भूकम्पपछि विद्यालयको पुनर्निर्माण पूरा हुँदै गएको छ। टहराका विद्यार्थी अहिले आधुनिक प्रविधि जोडिएको, भूकम्प प्रतिरोधात्मक भवनमा बसेर पढ्ने वातावरण तयार भएपछि विद्यार्थी, अभिभावक अहिले खुसी भएका छन्।

कैलाश गाउँपालिका ६ कमला देवी माध्यामिक विद्यालयका अभिभावक सुकबहादुर तामाङ भन्छ्न् 'हाम्रो गाउँमा यत्रो विद्यालय बन्छ भनेर त कल्पना पनि गरेको थिएनौँ। यस्तो ठाउँमा यत्रो विद्यालय बनाउने त हामी कसैले सोचेको थिएनौँ। भूकम्प त हाम्रो लागि वरदान जस्तै भयो।' भूकम्पपछिको विद्यालय पुनर्निर्माणको कार्यलाई उनले खुशी व्यक्त गरे।

भौगोलिक विकटता सँगै शिक्षा आर्जनमा भूकम्पले थप समस्या झेलिरहेका कमलादेवी माध्यामिक विद्यालयको जापान सरकारको ऋण सहयोगमा नेपाल सरकारद्वारा भूकम्प प्रतिरोधी १७ कोठे भवन निर्माण सम्पन्न भएपछि सो विद्यालय अहिले गाउँकै विकासको आकर्षणको रुपमा रहेको छ। कुल ४ करोड ८ लाख रुपैयाँको लगानीमा बनेको उक्त विद्यालयको भवन अपाङमैत्री, भूकम्प प्रतिरोधि, सोलार, फ्यान, कम्युटर, छात्र र छात्राका लागि अपाङमैत्री छुट्टाछट्टै शौचालयलगायतका विशेषता समेटिएको छ।

यस्तै थाहा नगरपालिका १ ओखरबजारमा रहेको झम्केश्वरी माध्यामिक विद्यालयका अभिभावक बलराम गोपालीले आफ्नै पालामा यो विद्यालयमा यस्तो भवन बन्छ भनेर कहिल्यै आश नगरेको भन्दै विद्यालय भवन जस्तै राम्रो शिक्षा पनि हुनुपर्ने बताउँछन।

मकवानपुर जिल्लामा भूकम्प पुनर्निर्माण प्राधिकरणअन्तर्गत   जिल्ला आयोजना कार्यान्वयन इकाई शिक्षामार्फत आर्थिक वर्ष २०७३/०७४ मा ६८ विद्यालयमा २२० कक्षाकोठा, ०७४/०७५ मा  ६८ विद्यालयमा २२० कक्षाकोठा, ०७५/०७६ मा ६५ विद्यालयमा २०० कक्षाकोठा र  थप ५१ विद्यालयमा १८५ कक्षाकोठा भवनको निर्माण सम्पन्न हुनुपर्ने थियो। यस्तै, जापान सरकारको ऋण सहयोगमा नेपाल सरकारको टेण्डरमार्फत ४१ विद्यालयमा ४७२ कक्षाकोठा निर्माण हुनुपर्ने थियो।

संघसंस्थामार्फत २६ विद्यालयमा ११४ कक्षाकोठा परमानेन्ट र  १५३ विद्यालयमा ४३६ कक्षाकोठा सेमिपरमानेन्टको रूपमा निर्माण हुने भूकम्प पुनर्निर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन इकाई मकवानपुरका प्रमुख बद्री पाठकले जानकारी दिएका छन्।

पाठकका अनुसार निर्माण हुनुपर्नेमध्ये आर्थिक वर्ष २०७३/०७४, २०७४/०७५ र २०७५/०७६ को थपसमेत गरि जम्मा कुल प्राप्त कोटा २५२ मध्ये १५९ विद्यालयमा विद्यालय भवन निर्माणकार्य सम्पन्न भएको छ। ४२ विद्यालयमा विद्यालय भवन निर्माणाधीन रहेको छ भने ५१ विद्यालय भवन तथा ७० विद्यालय शौचालय निर्माणको सम्झौता सम्पन्न भएका छन्।

जापानी ऋण सहयोग (जाइका)बाट निर्माण हुनेतर्फ जम्मा ४१ विद्यालयमा ७  विद्यालयमा निर्माण सम्पन्न भएका छन र ३४ विद्यालय भवन निर्माणाधीन छन। एसियाली विकास बैंक(एडिबी) तर्फको नमूना विद्यालयको रुपमा हेटौँडा उपमहानगरपालिकाको हटियामा जनप्रिय बहुप्राविधिक महाविद्यालय निर्माणधीन अवस्थामा रहेको छ। भूकम्प पुनर्निर्माण प्राधिकरणले दिएको मितिमै मकवानपुरको शिक्षा तर्फको पुनर्निर्माण सम्पन्न गर्ने इकाई प्रमुख पाठक दाबी गर्छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.