उदयपुर : भारतलगायत तेस्रो मुलुकबाट नेपाल आयात हुने तरकारीमा विषादी परीक्षणको चर्को विवाद भइरहेको बेला उदयपुरको तरकारी खाडी मुलुक पर्ने देश कतार पुगेको छ। प्रदेश १ को उदयपुरको बेलका नगरपालिकामा उत्पादन हुने अर्गानिक तरकारी कतार निर्यात हुन थालेको हो।
अर्गानिक तरकारी कतार पुगेसँगै कतारी भान्छामा अब उदयपुरको बेलका नगरपालिकामा उत्पादन भएको तरकारी कतारी भान्छामा पाक्न थालेको छ।
बेलका नगरपालिकामा उत्पादन भएको अगानिक तिते करेला खाडी मुलुक कतारमा निर्यात सुरु भएको हो। अर्गानिक हरियो तरकारीलाई ब्लाक डायमण्ड अर्गानिक प्रालिले कतार पठाउन थालेको बेलका नगरपालिका मेयर दुर्गाकुमार थापाले बताए। ‘किसानले उत्पादन गरेको तरकारी खरीद गरेर प्रालिले कतार पठाउँछ,’ उनले भने, ‘कृषि समूह, बेलका नगरपालिका र प्रालिबीचमा त्रिपक्षीय सम्झौता भएपछि तरकारी कतार पुगेको हो।’
प्रमुख थापाका अनुसार सम्झौता अनुसार बेलका नगरपालिकाको वडा २ र ३ मा कृषि समूहलाई प्रालिले प्राविधि, बीउविजन, सिँचाइलगायत सबै कुरामा लगानी गरिदिएको छ। ‘तरकारीको मूल्यसमेत निर्धारण भएको छ,’ थप्दै प्रमुख थापाले भने, ‘किसानले उत्पादन गरेको तरकारी प्रालिले फिक्स (निश्चित) मूल्यमा खरीद गर्ने सम्झौता गरिएको छ।’
तरकारकारीको बजारमा भाउ घटबड भए पनि किसानलाई कुनै असर नगर्ने ब्लाक डायमण्ड अर्गानिक प्रालिसँग सम्झौता भएको नगरपालिकाकाले जानकारी दिएको छ।
एक वर्षको लागि त्रिपक्षीय सम्झौताअनुसार किसानको उत्पादनको रेट तोकिएको छ। प्रालिले प्रविधि, ऋण, तालिम दिने अनि पछि सबै लागत कटाएर किसानलाई मूल्य दिने गरी तरकारी उत्पादन बेलका नगरपालिकाले सम्झौता गरेको छ।
ब्लाक डायमण्ड अर्गानिक प्रालिलले नेपाल सरकारको रोहबरमा कतार सरकारसँग अर्गानिक तरकारी निर्यात गर्ने सम्झौता गरेको छ। सोही सम्झौताअनुसार दैनिक ३ टन तरकारी कतार पठाइरहेको प्रालिका निर्देशक नारायण कार्कीले जानकारी दिए। ‘नेपालमा उत्पादन भएको तरकारी माग धेरै छ, तर, उत्पादन कम कम छ,’ कार्कीले भने, ‘बिषादीरहीत अर्गानिक तरकारी पठाइरहेका छौँ, बेलकाबाट हामीले दोस्रो पटक पठाउँदै छौँ।’
कार्कीका अनुसार बेलकाको ६ बिगाह जग्गामा तरकारी खेती लगाइएको छ। बेलका नगरपालिकामा पटक ५० कार्टुन करेला पहिलोपटक कतार निर्यात भएको थियो। दोस्रो पटक ९० कार्टुन तितेकरेला कतार पठाउने भएको प्रालिले जानकारी दिएको छ।
नगरपालिकाअनुसार करेला, भिन्डी, फर्सीलगायतका अर्गानिक तरकारी कतार पुग्ने छ। स्थानीयस्तरमा उत्पादन भएको तरकारी कतारमा बिक्री हुन थालेपछि स्थानीय कृषक हर्षित भएका छन्। ‘हामीले उत्पादन गरेको तरकारी नेपाली बजारमा बिक्री हुँदैन,’ स्थानीय किसान हरि भण्डारीले भने, ‘स्थानीय सरकार आएपछि हामीले व्यावसायिक तरकारी खेती गर्न पनि पाएका छौँ, बिक्रीको लागि विदेश कतार पनि जान थालेको छ।’
तपाईंको ईमेल गोप्य राखिनेछ ।