ताप्लेजुङ : मैवाखोला गाउँपालिका–४ साँघुका पहलमान चोङबाङले घरमै हाते कागज उद्योग सञ्चालन गर्दै आएका छन्। उनको उद्योगमा १८ जनाले दैनिक काम रोजगारी पाइरहेका छन्।
स्थानीय जंगलमा पाइने अर्गेली र लोक्ताको प्रयोग गरी उद्योगबाट वार्षिक एक हजार तीन सय कोरी (एक कोरीमा २०० ताउ हुन्छ) कागज उत्पादन हुने गरेको छ। उत्पादन भएको कागज बिक्री गर्ने बजार भने काठमाडौं हो। ‘यहाँ उत्पादन भएका सबै कागज सिधै काठमाडौं लगेर बिक्री गर्छु’, स्थानीय नारायणी माविका प्रधानाध्यापक समेत रहेका चोङबाङले भने, ‘वार्षिक ४० लाखको कारोबार हुन्छ, त्यसमा २५ लाखभन्दा बढी खर्च कटाएर आम्दानी हुन्छ।’
उनको उद्योगबाट २० ग्राम, ३० ग्राम र ४० ग्रामका कागज उत्पादन हुने गरेको छ। प्रतिकोरी ३ हजारदेखि ३ हजार २०० रुपैयाँसम्म बिक्री हुन गरेको चोङबाङले सुनाए। कच्चा पदार्थको रूपमा प्रयोग हुने लोक्ता प्रतिकिलो १०० र अर्गेली १२० रुपैयाँ पर्दछ। लोक्ता र अर्गेली गाउँकै जंगलमा प्रशस्त पाइन्छ।
चोङबाङको स्थापना गरेको गोरुजुरे नेपाल कागज उद्योगमा ६ परिवारका १८ जनाले प्रत्यक्ष रोजगारी पाएका छन्। उनीहरू उद्योगस्थलमै बसेर काम गर्छन्। उनीहरूले काम गरेको आधारमा पारिश्रमिक पाउँछन्। यस वर्षदेखि जापानी प्रविधिको नेपाली हाते कागजको पनि उत्पादन सुरु गरेको चोङबाङले बताए।
सदरमुकाम फुङलिङमा व्यवसाय गर्दै आएका आठराई त्रिवेणी गाउँपालिकाका बालचन्द्र आङबुहाङले गाउँपालिकाको केन्द्र हाङपाङमा इँटा उद्योग स्थापना गरेका छन्। संघीयता कार्यान्वयनसँगै गाउँमा सम्भावना देखेपछि ३५ लाख रुपैयाँको लगानीमा सिमेन्टको इँटा बनाउने उद्योग खोलेको उनी बताउँछन्। भूकम्प प्रतिरोधी मानिने यो इँटामा सिमेन्ट, बालुवा, माटोजस्ता कच्चा पदार्थ प्रयोग हुन्छ।
यस उद्योगमा ११ जनाले प्रत्यक्ष रोजगारी पाएका छन्। उनीहरुले सीपअनुसार मासिक १८ हजार रुपैयाँसम्म तलब पाउँछन्। गाउँपालिकामा बजार विस्तार हुने भएपछि सदरमुकामभन्दा गाउँमा लगानी बढाएको उनको भनाइ छ। ‘संरचनाहरू गाउँमै धेरै बन्न थालेका छन्’, आङबुहाङले भने, ‘जिल्ला सदरमुकामभन्दा धेरै सम्भावना देखेर लगानी गरेको हुँ।’
हिमाली जिल्ला ताप्लेजुङमा लामो दूरी पार गरेर तराईका जिल्लाबाट इँटा ल्याउने गरिएको छ । बाहिरबाट ल्याउँदा महँगो पर्ने र अधिकांश फुट्ने हुँदा उद्योगको आवश्यकता महसुस गरेको उनले बताए। गाउँमै इँटा बनाउने उद्योग खुल्नु सकारात्मक रहेको स्थानीय मणि सेम्बु बताउँछन्। ‘जनप्रतिनिधि निर्वाचित भएपछि गाउँमा धेरै चहलपहल बढेको छ’, उनले भने, ‘यो ठूलै लगानीको कम्पनी हो, अन्य १० लाखसम्मका उद्योग पनि खुल्ने क्रममा छन्।’ सिलाई कटाइ, ढाका बुनाइजस्ता घरेलु उद्यमी पनि बढेको उनको भनाइ छ।
दुई वर्षयता स्थानीय सरकार क्रियाशील छ। स्थानीय आवश्यकताका आधारमा आफैं बजेट बनाउने र कार्यान्वयनको अधिकार उनीहरूलाई छ। यसले गाउँका नागरिकलाई थोरै भए पनि आशा जगाएको नागरिक अगुवा खड्गविक्रम सुवेदी बताउँछन्।
‘सदरमुकामसम्म पुग्नुपर्ने काम गाउँपालिका र वडाबाटै हुन थाले’, सुवेदी भन्छन्, ‘बैंकको शाखा, प्रहरी चौकी, माध्यमिक विद्यालय भएपछि धेरै नै सम्भावना हुँदोरहेछ।’ चिया पसल र साना होटल खुल्ने, गाईभैंसी पाल्ने, तरकारी खेती गर्ने क्रम पनि बढेको उनले बताए। गाउँमै केही गर्न चाहनेका लागि स्थानीय तहले सहयोग गर्ने नीति लिएको आठराई त्रिवेणी गाउँपालिकाका प्रमुख विश्वनाथ सिटौलाको भनाइ छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।