तनहुँ : पूर्व-पश्चिम जोड्ने पृथ्वी राजमार्गले छोएको तनहुँ सुविधा सम्पन्न जिल्लाकै रुपमा परिचित छ। विश्व प्रविधिको युगमा परिणत भइसकेको छ। प्रविधिको प्रयोगमार्फत् एउटा कोठामा बसेर विश्व हेरिरहेका छन् मान्छेहरूले। तर तनहुँका कैयौं रमणीय र पर्यटकीय क्षेत्रमा भने सञ्चारको अहिलेसम्म पनि विस्तार भएको छैन। तनहुँको पर्यटकीय नगरी बन्दीपुर र देवघाटधामसँग जोडिएको क्षेत्रमा भने अझै पनि सञ्चारको विस्तार भएको छैन।
प्रविधिको युगमा पनि तनहुँको केही भाग सञ्चारविहीन छभन्दा र सुन्दासमेत अचम्म लाग्न सक्छ। मानिसहरूले सञ्चार र प्रविधिको प्रयोगबाट विश्व हेरिरहेका छन् तर तनहुँको आँबुखैरेनी गाउँपालिका ६ हिलेखर्कका स्थानीय सञ्चारको पहुँचमा छैनन्। सञ्चार र यातायात सहज नहुँदा यहाँका युवा पलायन हुने गरेका छन्। युवा गाउँमा सञ्चारविहिन हुनुपर्ने अवस्था भएकाले गाउँमा बस्न नमान्ने गरेको स्थानीयवास बताउँछन्। 'गाउँमा न त यातायात सजिलो छ, न त पानीको राम्रो सुविधा, न त सञ्चार नै यस्तो गाउँमा भर्खरको मान्छेहरु के बस्थे?' उनीहरू भन्छन्।
हिलेखर्ककी ६० वर्षीया पदम माया गुरुङ भन्छिन् 'अहिले गाउँमा बूढाबूढी मात्रै छौँ। चार वटा छोरा, चार वटी बुहारी र चार वटी छोरी छन् तर सबै अहिले घरमा छैनन्, छोरी बिहे गरेर गए, कोही जागिरको शिलशिलामा बजार झरे, कोही पढाईका लागि गाउँ बाहिर छन्, गाउँमा हामी बूढाबूढी मात्रै छौँ।’
‘अब घरमा हामीसँग एउटा छोरी छ, त्यही पनि पढ्न बजारमा बस्छ,’ उनले अगाडि भनिन् ‘उनीहरू सञ्चार र प्रविधिबाट टाढा बस्न सक्दैनन, गाउँमा आउँदा बस्दा सञ्चारबाट पूर्ण रुपमा सम्पर्कविहिन हुनुपर्छ त्यसैले छोराबुहारी, छोरी गाउँमा बस्न सक्दैनन्, मान्दैनन् पनि, सिंहदरबार घर-घरमा आयो भन्छन्, हामीलाई पत्तो छैन।’
युवालाई गाउँमा फर्काउन सञ्चार, यातायात, शिक्षाको सहज वातावरण बनाउनुपर्ने स्थानीयवासीको भनाई छ। मानिसका मौलिक अधिकार अन्तर्गतका आधारभूत सेवा प्राप्त गर्ने वातावरण स्थानीय सरकारले बनाउन सके युवा गाउँ फर्किने उनीहरूको विश्वास छ।
चारैतिर हरियाली पहाडको बीचमा सानो गाउँको मनमोहक धेरैलाई लोभ्याउछ। यति रमाइलो गाउँ छोडेर जाने युवाको मन छैन होला सायद तर सञ्चार र प्रविधिले बजारतर्फ तानेको गाउँका बृद्धबृद्धा आमाबाबुको बुझाई छ।
६५ वर्षीया हिलेखर्क सामुदायिक घरबासकी अध्यक्ष बाटु गुरुङले युवाको अभावले गाउँमा समस्या भएको बताइन्। तर, छोरा जागिरका लागि बजारतर्फ लागेका छन् भने छोरीहरू बिहे गरी गइसकेको बाटुले बताइन्। उनले एउटा छोरा घरमै रहेको तर बिहे गर्ने कुरामा भने छोरा मौन रहने गरेको बताइन्।
'किन बिहे नगरेको होला आफैँ?' प्रश्न गर्छिन् र भन्छिन् 'मेरो अनुमानमा गाउँमा सुविधा अभाव भएर होला नि गाउँमा बस्न मान्दैनन्।' गाउँमा सञ्चार प्रविधिको विस्तार गर्न सकेमा युवा स्वतः फर्किने उनको विश्वास छ।
गाउँमा युवाको अभावमा खेतबारी बाँझो बस्ने गरेका छन्। जग्गाजमिन प्रशस्त भए पनि युवा नहुँदा खेतीपाती गर्न समस्या भएको छ। गाउँका उर्बर भूमि बाँझै रहँदा बृद्धबृद्धालाई उराठ लाग्ने गरेको स्थानीयवासी बताउँछन्।
अहिले गाउँमा कोही मान्छे मरिहाले पनि बोकेर घाटसम्म पुर्याउने युवा नभएको आँबुखैरेनी गाउँपालिका ६ का वडा अध्यक्ष सुना बहादुर गुरुङ बताउँछन्। निर्वाचनपछि आफूले गाउँपालिकाको समन्वयमा विद्युतको व्यवस्थापन भने गरेको तर सञ्चार प्रविधिको विस्तार गर्न सहज नभएको गुरुङले बताए।
गाउँमा सञ्चार प्रविधिको विकास गर्न एकैचोटी गर्न सक्ने अवस्था नरहेको उनको भनाई छ। स्थानीय, प्रदेश र संघीय सरकारसँग सञ्चार प्रविधिको विस्तारका लागि सम्पर्क र दबाव दिइरहेको उनले बताए।
गाउँपालिकाले मात्रै लगानीमा सञ्चार प्रविधिको विस्तार गर्नका लागि बजेट सहज छैन। हिलेखर्क गाउँमा सञ्चार प्रविधि विस्तार गर्न गाउँपालिकाको बजेटले मात्रै नपुग्ने भएपछि संघीय र प्रदेश सरकार मुख ताक्नुपर्ने अवस्था रहेको गाउँपालिकाका अध्यक्ष गिरबहादुर थापाले बताए।
सञ्चार प्रविधिको विस्तार गर्न सके गाउँमा युवा फर्किने उनको विश्वास छ। ‘गाउँपालिकाको बजेटले मात्रै नपुग्ने हुँदा प्रदेश र संघीय सरकारसँग माग गरिरहेका छौँ,’ उनले भने ‘गाउँमा सञ्चार प्रविधि र यातायातको व्यवस्थापन गर्न सके युवाहरु गाउँमा फर्काउन सकिन्छ।’ निर्वाचनको एजेण्डामा विकास गर्ने भने पनि बजेट अभावले गर्दा समयमै विकास गर्न नसकिएको उनको भनाई छ।
सञ्चार र प्रविधिका साथै यातायातको विकास र विस्तार गर्न सके युवाहरुलाई गाउँमा फर्काउन सकिनेमा दुई मत छैन। हिलेखर्कको पर्यटकीय क्षेत्रको विकास र प्रवद्र्धनका लागि युवाको महत्वपूर्ण भूमिका हुनेछ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।