खोटाङमा ३ जना, झापामा २, ओलढुंगामा ४, भोजपुरमा ५, इलाममा १ र सुनसरीमा १ जना गरी जम्मा १६ जनाको मृत्यु
खोटाङमा ३ जना, झापामा २, ओलढुंगामा ४, भोजपुरमा ५, इलाममा १ र सुनसरीमा १ जना गरी जम्मा १६ जनाको मृत्यु
विराटनगर : लगातार परेको अविरल वर्षाका कारण विभिन्न स्थानमा आएको बाढीपहिरोले प्रदेश १ मा शनिबार रातिसम्म मुत्यु हुनेको संख्यामा १६ पुगेको छ। बाढी पहिरोमा परि ५ जना वेपत्ता छन्।
१४ जिल्ला रहेको प्रदेश १ मा बाढी पहिरोमा मृत्यु हुनेमध्ये सबैभन्दा धैरै भोजपुरमा छन्। भोजपुरमा मात्र बाढी र पहिरामा परि पाँच जनाको मृत्यु भएको प्रदेश १ प्रहरी कार्यालय विराटनगरले जानकारी दिएको छ। प्रदेशअन्तर्गत मृत्यु हुनेको संख्यामा खोटाङमा ३, झापामा २, ओलढुंगामा ४, इलाममा १ र सुनसरीमा १ जनाको मृत्यु भएको प्रदेश १ प्रहरी कार्यालय विराटनगरका प्रवक्ता एसएसपी किशोर कुमार दाहालले जानकारी दिए।
भोजपुर
शनिबार बिहान मात्रै भोजपुरको रामप्रसादराई गाउँपालिका–५ मा एकै परिवारका तीन जनाको पहिरोमा परेर मृत्यु भएको शव फेला छ।
पहिरोले बगाएको भान्छा घरले किचेर ३५ वर्षे मनकुमारी राई, छोरा १७ वर्षीय शिवकुमार र १५ वर्षीय शक्तिकुमार बेपत्ता भएको एसएसपी दाहालले बताए। वेपत्ता भएको करिब १० घण्टापछि शनिबार चार बजे तीनै जनाको शव बाहिर निकालिसकिएको प्रदेश प्रहरीले जनाएको छ।
यस्तै भोजपुरका रामप्रसाद राई गाउँपालिका–७ का ६६ वर्षीय जगत बहादुर राइको खोलाले बगाएर र ट्याम्केमयुम गाउँपालिका–९ बस्ने १४ बर्षीय जनक बिकको शौचालयले किचि मृत्यु भएको एसएसपी दाहालले बताए।
ओखलढुंगा
ओखलढुङगा चिसुङखुगडी गाउँपालिका–४ बस्ने ८५ बर्षीया पासाङ पुटी सेर्पा, इलाम चुलाचुली १ बस्ने ५० वर्षीय अञ्चला लावती र झापा दमक नगरपालिका १० बस्ने ६ वर्षिया बालक एलिजा न्यौपानेको पनि खोलाले बढाएर मृत्यु भएको प्रहरीले जनाएको छ।
ओखलढुंगा मोलुङ गाउँपालिका– ७ पात्ले बस्ने ४० बर्षीया खपुटि शेर्पा र उनका छोरी १२ वर्षीया याङजि शेर्पाको पहिरोले पुरिएर मृत्यु भएको छ। शनिबार बिहान ११ बजे घर माथिबाट पहिरो खसि पुरिएर बेपत्ता भएका दुबै जनाको खोजतलासका क्रममा अपरान्ह २ बजे शव फेला परेको छ।
यस्तै ओखलढुंगाको सिद्धिचरण नगरपालिका–६ माझखर्क बस्ने वर्ष ४० की कान्छीमायाँ श्रेष्ठको मृत्यु भएको छ। शनिबार बिहान परेको अबिरल बर्षाको कारण आएको पहिरोले २ तले घर र गोठ बगाउँदा बेपत्ता भएकी कान्छीमायाँलाई अपरान्ह साढे ३ बजे मृत अवस्थामा घरदेखि २ सय मिटर तल फेला पारिएको प्रहरीले जनाएको छ।
झापा
झापा शिवसताक्षी नगरपालिका–५ सालमारामा रहेको बनियानी खोलाले बगाउदा ९ बर्षीय सौगात चापागाईको मृत्यु भएको छ। शनिबार बिहान सौगात आफ्नै फुपुको छोरी समीक्षा पौडेलसँग खोला छेउमा खेल्ने क्रममा चिप्लिएर खोलामा लड्दा सोही खोलाले बगाउँदा खोजतलासका क्रममा सौगातको शव फेला परेको प्रहरीले जनाएको छ।
खोटाङ
यस्तै, शुक्रबार खोटाङ खोटेहयाङ गाउँपालिका –२ बस्ने २८ बर्षीया रेखा राई र उनका छोरा ४ वर्षीय रोमन राई र ७ महिनाका रोहन राईको आफ्नै घरले किची मृत्यु भएको छ।
सुनसरी
बिहीबार खोलाले बगाई बेपत्ता भएका उदयपुर घर भई ईटहरी ५ सुनसरीमा काम गरी बस्ने ३५ वर्षीय सागर थापा शनिबार बिहान मृत अवस्थामा शव फेला परेको प्रहरीले जनाएको छ।
बेपत्ता
प्रदेश प्रहरीका अनुसार अझै बाढी र पहिरोले बगाएर ५ जना वेपत्ता भएका छन्। बेपत्ता हुनेहरूमा पाँचथर मिक्लाजुङ गाउपालिका–४ बस्ने ९ वर्षीय दिवन राई, झापा भद्रपुर नगरपालिका– ९ बस्ने ४५ वर्षीय सफल हज्दा, सुनसरी बराहाक्षेत्र १ बस्ने १० वर्षीय अर्पन राई र मोरङ कानेपोखरी गाँउपालिका २ बस्ने तत्काल नामथर नखुलेका १ जना खोलाले बगाई बेपत्ता भएको एसएसपी दाहालले जानकारी दिए।
निरन्तर परेको अविरल वर्षाको कारण मोरङको कटहरी गाउँपालिका–४ का ५० वर्षीय सोभा सोरेन र जहदा गाउँपालिका–५ का १६ वर्षीय आदर्श पोदार बेपत्ता भएको मोरङ प्रहरीका प्रवक्ता डिएपी राज कुमार खिउंजुले बताए ।
मोरङमा ४ हजार ३ सय ३७ जना विस्थापित
लगातार परेको अविरल वर्षासँगै खोलामा आएको बाढीले मोरङमा १ हजार ४३ घर डुवानमा परि ४ हजार ३ सय ३७ जना विस्थापित भएका छन्। मोरङको विभिन्न खोलाहरूमा आएको बाढी बस्तीमा पस्दा १ हजार ४३ घर डुवानमा परेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डिएसपी राज कुमार खिउंजुले जानकारी दिए।
मोरङमा सबैभन्दा बढी विराटनगर महानगरपालिकाको विभिन्न वडाहरूमा रहेका सुकुम्बासीहरूको घर डुवानमा पर्दा विस्थापित भएका छन्। सिङ्घिया र केसेलिया खोला बस्तिमा बस्दा विराटनगर १,२,६,८, ११, १२, १५, १८ नम्बर वडाका घरहरू डुवानमा परेको प्रहरीले जनाएको छ।
डिएसपी खिउंजुका विराटनगरमा सबैभन्दा बढी विराटनगर – ६ रामपुरको घरहरू डुवानमा परेको छ। केसेलिया खोला रामपुरको बस्तीमा पस्दा यस वडाका १ सय ५० घर डुवानमा परेको हो।
त्यस्तै विराटनगर १ वडामा ५०, २ नम्बर वडामा ५०, ८ वडामा १ सय, १२ मा ५० घर डुवानमा परेका छन् । यस्तै कटहरी गपाको २ नम्बर वडामा १ सय घर, ४ मा ८० घर डुवनामा परेको प्रहरीले जनाएको छ।
यसैगरि रतुवामाइ नगरपालिकामा ५० घर डुवानमा परेकोछ । जहदा गाउँपालिका २ का ३२ घर डुवनामा परि विस्थापित भएका १ सय ७५ जना घर फर्किएको डिएपी खिउंजुले जानकारी दिए ।
विस्थापित भएका बाढीपीडितहरू खुल्ला ठाउँमा त्रिपाल टागेर बसोवास गरेका छन्। विस्थापित हुने अधिकांश खोला किनारमा बसोबार गर्ने सुकुम्बासी घर परिवार रहेका छन्। विस्थापित परिवारलाई स्थानीय जनप्रतिनिधि र जिल्ला प्रशासन कार्यालय मोरङको सहयोगमा सुरक्षित स्थानमा राखिएको प्रहरीले जनाएको छ। स्थानीय र प्रहरीको सहयोगमा उनीहरूलाई सुरक्षित स्थानमा सारिएका छ।
घरभित्र पानी पसेपछि स्थानीय त्रसित बनेका छन्। घरमा पानी पसेपछि खान बस्न समस्या भएको बाढी पीडितहरू बताउँछन्। मोरङको बुढीगंगा गाउँपालिका ७ डंग्राहा स्थित खदाम खोलाको किनारमा बसोबास गर्ने उराउ र सरदार सामुदायका १३ परिवार घर विस्थापित भएका छन्। विस्थापित भएकाहरू नजिकैमा रहेको श्री प्रगतिशिल बिधालयको पुरानो भवनमा बसोबास गर्दै आएका छन् ।
मोरङका प्रमुख जिल्ला रमेशकुमार केसीले मोरङका बक्राहा, लोहन्द्रा, सिंघीया र केसलीया खोलामा पानीको बहाब बढेकाले सम्पूर्ण सुरक्षा निकाय र जनप्रतिनिधिलाई सचेत रहन निर्देशन गरिएको जानकारी दिए । जिल्ला विपद् व्यवस्थापन समिति मोरङले १७ वटै स्थानीय तहहरूलाई सचेत गराएको उनले बताए।
हरेक स्थानीय तहमा विपद् व्यवस्थापन समिति गठन भएको र सबैले विपद् व्यवस्थापन कोष खडा गरेर तत्काल राहात र क्षतिपूर्तीको प्रबन्ध गर्नसक्ने अवस्था सृजना गरेका छन्। सबैसँग सरदर करोडको हाराहारीमा विपद् व्यवस्थापन कोष रहेको प्रजिअ केसीले बताए।
तपाईंको ईमेल गोप्य राखिनेछ ।