तनहुँ : तनहुँको आँबुखैरेनीमा बिहीबार बिहानै जीपको ठक्करबाट पैदल यात्रुको मृत्यु भएपछि फरार चालक पक्राउ परेका छन्। पक्राउ पर्नेमा बाग्लुङ गल्कोट ११ का २४ वर्षीय दीपक दर्जी रहेका छन्।
जिपले बिहीबार बिहान सवा पाँच बजे आँबुखैरेती गाउँपालिका २ बगुवास्थित पृथ्वी राजमार्गमा ठक्कर दिँदा आँबुखैरेनी गाउँपालिका ३ पानीघट्टाका ७९ वर्षीय खड्गबहादुर दर्लामीको ज्यान गएको थियो। तर जीप भने फरार रहेको थियो। प्रहरीले सीसीटीभी फुटेजका आधारमा शुक्रबार जिप चालकलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ।
बाग्लुङको बुर्तिवाङबाट यात्रु बोकेर काठमाडौं जाँदै गरेको ध १ ज ७३८ नम्बरको बोलेरो जिपलाई आँबुुखैरेनी प्रहरीले शुक्रबार नियन्त्रणमा लिएको हो। बिहानै भएकाले घटना लगत्तै चालक फरार हुँदा प्रहरीले पहिचान गर्न नसकेको र राजमार्गको सीसीटीभी फुटेजमार्फत् अध्ययन गर्दा सवारी पहिचान गरे पनि नम्बर चिन्न सकेको थिएन।
धादिङस्थित बेनीघाटको फुटेज अध्ययन गरेर सोही सवारीको नम्बरसमेत पहिचान गरेपछि प्रहरीले सवारी र चालकको विवरण संकलन गरेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरीक्षक लिलाराज लामिछानेले जानकारी दिए। जिपका चालक सम्पर्कमा आएपछि कार्यालयबाट खटिएको टोलीले चालकलाई पक्राउ गरेको लामिछानेले बताए।
चालक दर्जीले घाइतेको ज्यान गएको र आफूसँग बिरामी भएकाले असुरक्षाका कारण भागेको बयान दिएको प्रहरी नायब उपरीक्षक लामिछानेले बताए। तनहुँ जिल्ला अदालतबाट सवारी ज्यान मुद्दामा म्याद थप अनुमति लिइ प्रहरीले चालक दर्जीविरुद्ध अनुसन्धान थालेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।