|

सप्तरी : विभिन्न सामाजिक समस्याहरुको विषयमा जागरुक गर्न, जातीय छुवाछुत, महिला हिंस विरुद्ध साइकल, पैदल यात्रा त भएका छन् तर भाषा, संस्कृतिको प्रचारप्रसार, संरक्षणका लागि त्यस्ता अभियान भएको सन्दर्भमा तराई मधेशका जिल्लामा बहुसंख्यकले बोल्ने नेपालीपछिको दोस्रो ठूलो मैथिली भाषाको प्रचार प्रसारका लागि नेपाल भारत साइकल यात्रा हुने भएको छ।

सरल, मिठास एवं समृद्ध मानिएको नेपालीपछिको ठूलो संख्याले बोल्ने मैथिली भाषाको प्रचार–प्रसार, छिमेकी मुलुकका मैथिली भाषीसँग सम्बन्ध विस्तार, मैथिली लोकगायन परम्परा एवम् शैलीको आदान–प्रदान र मैथिली भाषा, साहित्य, कला, संस्कृति संरक्षणका लागि जागरण ल्याउन साइकल यात्रा गर्न लागिएको हो। ‘मिथिला देवघर साइकल यात्रा– २०७६ नाम दिइएको उक्त साइकल यात्रा भारतको बिहार देवघरसम्म तीन सय ३८ किलोमिटर रहने आयोजक मिथिला साहित्य कला प्रतिष्ठान सप्तरीले जनाएको छ।

१५ दिनको यात्रा

साउनको २१ गतेबाट सुरु हुने साइकल यात्रा १५ दिनसम्म चल्नेछ। यात्रा अवधिमा रुटमा पर्ने विभिन्न ठाउँहरूमा नेपालको मैथिली भाषा तथा छिमेकी मुलुक भारतको विभिन्न राज्यहरुमा बोलिने मैथिली भाषा बीचको समानताको विषयमा विचार मन्थनसमेत गरिनेछ बताइएको छ।

सप्तरीको जिल्ला सदरमुकाम राजविराजबाट तीन सय ३८ किलोमीटरको दूरीमा रहेको देवघर यात्रा साउन २१ गते वीरपुरको गाउँस्थित डिहबार थानमा पूजाआजा प्रारम्भ हुने जनाइएको छ।

गाउँबाट २७ जनाको साइकल यात्रीको टोली प्रसिद्ध छिन्नमस्ता शक्तिपीठ हुँदै राजविराजस्थित राजदेवी मन्दिरमा दर्शन गरेपछि परिषद्द्वारा शुभकामनासहित विदाई गरिने कार्यक्रम तय भएको प्रतिष्ठानका अध्यक्ष श्रीराम मण्डल ‘भरोसी’ ले जानकारी दिए।

सम्भवतः नेपालमै पहिलोपटक हुन लागेको ‘मिथिला देवघर साइकल यात्रा– २०७६’ ले छिमेकी दुई मुलुकका मैथिली भाषाभाषी बीच सम्बन्ध विस्तार तथा मैथिली भाषाको अभियानमा नयाँ आयाम सिद्ध हुने प्रतिष्ठानका संस्थापक अध्यक्ष देवेन्द्र मिश्रले औंल्याए। मैथिली लोक कला संस्कृतिसँग सम्बन्धित बाद्यवादन सामग्रीसहित साइकल यात्रीहरुको टोलीले आ–आफ्नो साइकलमा मिथिला–मैथिलीको झण्डा फहराउने मिश्रले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.