फिचर

औषधीय गुणले भरिपूर्ण बेलको जुसको माग बढ्यो

साउन १६, २०७६

    तनहुँ : वनमा खेर गइरहेको बेलको सदुपयोग गरी जुस उत्पादन गर्न थालेपछि जुस माग बढ्दै गएको छ। तनहुँको म्याग्दे गाउँपालिका–२ साठीमुरे जामुनेस्थित दुई रोपनी जग्गामा सञ्चालित नमूना माउन्टेन सामुदायिक बेल जुस उद्योगले बेलको जुस उत्पादन गर्न थालेपछि अग्र्यानिक र बहुउपयोगी हुने भएकाले माग बढ्दै गएको छ। विशेष गरी स्वास्थ्यमा सचेत रहेका व्यक्तिले मन पराउने र माग गर्ने गरेको उद्योगले जनाएको छ।

    वनमा खेर गइरहेका वस्तु बेलको प्रयोग गरी वनलाई उत्पादनशील बनाउनुका साथै आयस्तर वृद्धि गर्ने उद्देश्यले उद्योग दर्ता गराई स्क्वायस उत्पादन गरिएको उद्योग सञ्चालक विष्णुकुमार श्रेष्ठले जानकारी दिए। उनका अनुसार वि.सं. २०७२ मा त्यस क्षेत्रका उमाचोक, सिद्धबतासना, ज्यान्ट्याङ, भीरपानी, बरच्याङ र पोसिली गरी ६ सामुदायिक वन उपभोक्ता समितिले शुरुमा रकम संकलन गरी उद्योग दर्ता गराएका हुन्। सामुदायिक वनका उपभोक्ताहरूले चार लाख ६० हजार रुपैयाँ संकलन गरी बेल जुस उद्योग स्थापना गरेका थिए। घरेलु उद्योगमा दर्ता तथा खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय भैरहवाबाट ल्याबटेष्ट गराई अनुमतिपत्र लिएर उद्योग सञ्चालनमा ल्याएका हुन्।

    हरियो वन कार्यक्रमअन्तर्गत १५ लाख, डिभिजन वन कार्यालय तनहुँबाट पाँच लाख, घरेलु तथा साना उद्योग विकास समितिबाट ९५ हजार रुपैयाँ गरी हालसम्म उद्योगमा करीव ३० लाख लगानी भइसकेको सञ्चालक श्रेष्ठले बताए। हरियो वन कार्यक्रमअन्तर्गत उक्त जुस उद्योगलाई केयर नेपाल, डब्लुडब्लुएफ, डिभिजन वन कार्यालय र घरेलु तथा साना उद्योग विकास समितिले गरेको आर्थिक सहयोगबाट जुस प्रशोधन मेसिनलगायतका आवश्यक सामग्री किनेर व्यवस्थित रूपमा बेलको जुस उत्पादन गर्दै आइरहेको अध्यक्ष श्रेष्ठले बताए।

    ‘वनमा बेल पाक्यो हर्ष न विष्मात’ भने जस्तै हामीलाई पनि थाहा थिएन र त्यसै खेर फालिरहेका थियौँ, तर कसरी बेलको सदुपयोग गर्ने सोचमा चै थिए, रामेछाप र बर्दियाको भ्रमणले यसको सदुपयोग गर्ने प्रेरणा र वातावरण जुटाइदियो,’ उनले भने। जंगलमा कुहिएर खेर गएका बेलको सदुपयोग र उत्पादनमा सामुदायिक वनहरूको सहयोगले जुस उत्पादन थालेको श्रेष्ठले बताए। ‘गाउँघरमा उखान छ नि वर्षको एक पटक बेल खानुपर्छ, हो बेल उपयोगी भएर नै त्यो कथन बनेको हो,’ उनले भने ‘वनमा खेर गएका बेलको सदुपयोग गरी मानवीय स्वास्थ्यको लागि उपयोगी बनाउने उद्देश्यले नमुना कामको सुरुवात गरेका हौँ।’

    म्याग्दे गाउँपालिकाका ६ वटा सामुदायिक वन, सार्वजनिक तथा व्यक्तिगत स्थानका बेलको उत्पादनको अनुसन्धानपछि उद्योगकको लागि सिफारिस गरेको डिभिजन वन कार्यालय तनहुँका प्रमुख डिभिजन अधिकृत केदार बरालले जानकारी दिए।

    औषधीय जुस

    मानिस स्वास्थ्यको लागि बेलको जुस अति उपयोगी हुने अनुसन्धानले देखाएको छ। बेलको जुस मानवीय स्वास्थ्यलाई औषधको रुपमा उपयोग गर्न सकिने सञ्चालक विष्णुकुमार श्रेष्ठले बताए। उनका अनुसार स्मरण शक्ति बढाउने, पाचन शक्ति बढाउने, स्वस्थ र स्फूर्ति बढाउनुका साथै पेट सफा गर्ने, ग्याष्ट्रिक, रक्तअल्पता, कब्जियतको समस्या समाधान हुने, उच्च रक्तचाप, मुटु रोग, पायल्स, झाडापखला लगायतका विभिन्न रोगका लागि फाइदा हुने भएपछि मानिसहरूले माग गर्ने गरेकाछन्।

    उनका अनुसार बेलको जुस आवश्यक मात्रमा प्रयोग गर्न सके छालामा चमकता ल्याउने, बालबालिका, महिला, वयस्कदेखि वृद्धसम्मका लागि उपयोगी रहेको उनले बताए। ‘अन्य रङ प्रयोग गरिएको छैन, बेलको स्वाद र बास्नामा मात्रै सिमित छ, यसले गर्दा पनि अग्यानिक वस्तु प्रयोग गर्नेहरूले धेरै रुचाउने गर्छन् र माग पनि बढी गर्ने गर्छन्,’ उनले भने ‘वर्षको एक पटक बेल खानुपर्छ भन्ने कथन पुरानो तर लाभदायी भएर नै पुर्खाहरूले भनेका रहेछन्, उदाहरणीय र नमुना बन्दै गएको छ अहिले।’

    १८ हजार बोतल जुस उत्पादन

    विगतका वर्षहरूमा १५ हजार बोतल जुस उत्पादन भएको थियो भने यस वर्ष १८ हजार बोटल उत्पादन गर्ने लक्ष्य उद्योगले लिएको छ। उद्योगले अमृत नामाकंन गरी ७०० मिलीलिटरको बेलको जुस उत्पादन गरी बजारमा ल्याएको जनाएको छ। अन्य जुसभन्दा कम मूल्यमा बजारमा ल्याइएको उद्योग व्यवस्थापन समितिका अध्यक्ष केशवबहादुर रानाभाटले जानकारी दिए।

    ‘राम्रोसँग व्यवस्थापन गर्न सके बाह्रै महिना बेलको जुस उत्पादन गर्न सकिन्छ, खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय तनहुँले जुसको म्याद उत्पादित मितिबाट डेढ वर्षसम्म रहने भनेर प्रमाणित गरेको अध्यक्ष रानाभाटले बताए। ‘हामीले एक वर्षका लागि मिति तोकेका थियौँ, तर खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालयको मापदण्ड अनुसार डेढ वर्षका लागि खान सकिने रहेछ,’ उनले भने।

    जुसको मूल्य

    नमूना माउन्टेन सामुदायिक बेल जुस उद्योगले बजारमा आएका जुस भन्दा बेलको जुसको मूल्य कम निर्धारण गरेको छ। बहुउपयोगी भए पनि प्रचारप्रसार अभावले कम मूल्य राखिए पनि बिक्रीका लागि बजार कम पाएको उद्योगले जनाएको छ। यसको माग र प्रचारप्रसार पश्चात् भने आगामी वर्षहरूमा परिवर्तन गर्ने योजना रहेको उद्योग सञ्चालक विष्णुकुमार श्रेष्ठले जानकारी दिए।

    बेलको जुसको प्रतिबोतल २१० रुपैयाँका दरले बजारमा ल्याइएको श्रेष्ठले बताए। उनले भने ‘बहुउपयोगी हुनुका साथै मूल्य पनि कम रहेकाले पनि यसको माग बढ्दै गएको छ।’ बेलको जुस उत्पादनका लागि कच्चा पदार्थ अभाव भएमा अन्य वनसँग समन्वय गरेर उत्पादनलाई सकेसम्म निरन्तरता दिने लक्ष्य लिइएको सञ्चालक श्रेष्ठले बताए। एक बोतल स्क्वासमा चार बोतल पानी मिसाएर पिउन सकिनेछ।

    एक लाख बराबरको जुर भण्डारण

    उद्योगमा माग अनुसार बजारमा पुर्‍याउनका लागि करिव एक लाख रुपैयाँ बराबरको बेलको जुस भण्डारण गरिएको छ। यस वर्षका लागि सामुदायिक वन, सार्वजनिक र व्यक्तिगत जग्गामा रहेको बेल किनेर जुस बनार्ई भण्डारण गरिएको सञ्चालक श्रेष्ठले बताए।

    विक्रीका लागि तयार भएको स्क्वास जारमा प्याकेजिङ गरेर राखिएको उनले बताए। ‘केही बजारमा लैजान तयार बोतलमा तयार पारिएको छ, केही भने जारमा भण्डारण गरिएको छ,’ उनले भने माग अनुसार बजारमा वितरण गर्नेछौं।’

    जुसको खपत

    बेलको जुसको जिल्लाका साथै विभिन्न स्थानमा खपत हुने गरेको छ। जिल्लाको मुख्य बजारहरू र राजधानी लगायत चर्चित शहरहरूमा यसको माग बढेको छ। ‘शुरुशुरुमा उद्योग सञ्चालन गर्दा बेलको जुसको प्रचारप्रसारको कमीले बिक्री कम भयो, तर अहिले यसको महत्व बुझेपछि माग बढेको छ,’ श्रेष्ठले भने। जिल्लाको दमौली, दुलेगौँडा, आँबुखैरेनी लगायत पोखरा, काठमाडौं, नारायणगढ, बुटवल, लगायका शहरहरूमा जुस खपत हुने उनले बताए।

    ‘अब बेल जुसको प्रचारप्रसार गरेर प्रवर्द्धन गर्न जरुरी छ, विभिन्न क्षेत्रमा यसको प्रवर्द्धनका लागि योजना बनाएर अगाडि बढिरहेका छौँ,’ उनले भने।

    अन्य उत्पादनहरू

    बेलको जुसको साथै अदुवा, लप्सी कागतीलगायत स्थानीय फलफूलका जुस, अचार र माडा उत्पादन गर्ने योजना रहेको छ। सामुदायिक वनहरू र स्थानीयवासीको सहयोगले विभिन्न खेर जाने कच्चापदार्थको उपयोग गर्नका लागि पिय पदार्थ उत्पादन गर्ने योजना उद्योगले बनाएको छ। अहिले कागती, लप्सी, अदुवा उत्पादनलाई प्राथमिकता दिएर अगाडि बढेको उद्योगले जनाएको छ।

    उद्योगले ६ वटा सामुदायिक वनलाई उत्पादन गरेको बेल जुसको प्रतिप्याकेटको ३० रुपैयाँ र उद्योग चलाए वापत वार्षिक पाँच हजार व्यवस्थापन समितिलाई तिनुपर्ने व्यवस्था गरिएको छ। सोही क्षेत्रमा पर्ने सिद्धबतासना सामुदायिक वनमा १६ हजार बेलका बिरुवा रोपिसकिएको छ भने अन्य सामुदायिक तथा निजी वनमा पनि बेल खेतीका लागि प्रोत्साहन गरिएको छ।

    दलित तथा विपन्न वर्ग रोजगार

    म्याग्देमा सञ्चालित घरेलु उद्योगले स्थानीय दलित, जनजाति, विपन्न वर्गलाई रोजगार बनाएको छ। उद्योगले प्रत्यक्ष रुपमा ८/९ जनालाई रोजगार बनाएको छ भने अप्रत्यक्ष रूपमा एक सय भन्दा बढी रोजगार भएका छन्। उद्योग स्थापनाले रोजगार हुनुका साथै खेर गएका कच्चापदार्थको उपयोग हुने भएपछि स्थानीयवासीहरूको सहयोग रहेको उद्योग सञ्चालक विष्णुकुमार श्रेष्ठले बताए।

    वनमा बेल संकलन गर्नका लागि एक सयभन्दा बढी परिचालन हुने गरेका छन्। उद्योगले वनमै संकलन गरेर राखेवापत १५ रुपैयाँ प्रतिकेजीको मूल्य तिर्ने गरेको छ भने उद्योगसम्म ल्याउनेलाई प्रतिकेजी २० रुपैयाँका दरले मूल्य तिर्ने गरेको श्रेष्ठले बताए।

मिला दरै

दरै थाहा खबरका तनहुँ समाचारदाता हुन्। Email : darai.milamd@gmail.com

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]