|

भद्रपुर : कचनकवल गाउँपालिकाले चालु आर्थिक वर्ष २०७६/७७ को नीति तथा कार्यक्रममा कक्षा १२ सम्म सबै विद्यार्थीलाई क्याम्पस तहसम्म निःशुल्क शिक्षाको व्यवस्था गरेको छ।

शिक्षा क्षेत्रतर्फ गाउँपालिकाले ल्याएको यस्तो कार्यक्रमबाट त्यहाँका विद्यार्थी हर्षित भएका छन्। तर, यस्तो कार्यक्रमसँगै गाउँपालिकाले विद्यार्थीमाथि विभेद गर्दै शिक्षालाई खुम्चाउन लागेको भन्दै त्यहाँका विद्यार्थी अहिले विरोधमा उत्रिएका छन्।

गाउँपालिकामा रहेका माध्यमिक तहका तीनवटा विद्यालयलाई छुट्टाछुटटै संकायमा पठनपाठन गराउने भनी गरेको निर्णयको विरोधमा त्यहाँका विद्यार्थी आन्दोलित बनेका हुन्। आन्दोलित विद्यार्थी संगठनले सो निर्णयको विरोध जनाउँदै मंगलबार दिउँसो गाउँपालिकालाई घेराउ गर्दै तीनदिने अल्टिमेटमसहितको ज्ञापनपत्र बुझाएका छन्।

अखिल क्रान्तिकारी केन्द्रीय सदस्य झक्तबहादुर विक, अनेरास्ववियु जिल्ला सचिव रोशन लामा, नेविसंघ जिल्ला सदस्य निर्मल दाहाल, नेविसंघ कचनकवल सभापति सागर राजवंशी, अनेरास्ववियु कचनकवल इन्चार्ज उमेश मिश्र, नेविसंघ कचनकवल सचिव विकास घिमिरे र सह–सचिव युवराज आचार्यको संयुक्त हस्ताक्षरसहितको ज्ञापनपत्र गाउँपालिकाका उपाध्यक्ष निमसरि राजवंशीलाई बुझाएका हुन्।

गत साउन १४ गते गाउँपालिकाको निर्णयअनुसार लक्ष्मी मावि बनियानीमा नेपाली माध्यममा व्यवस्थापन संकाय, पथरिया माविमा व्यवस्थापन संकाय, अंग्रेजी माध्यममा र लक्ष्मीप्रसाद देवकोटा माविमा व्यवस्थापन संकाय अंग्रेजी माध्यममा मात्र पढाउनु पर्ने बाध्यकारी निर्णयले गाउँपालिकाका आम विद्यार्थी वर्गमा मार पर्न गएको हुनाले पहिला जस्तै विद्यार्थी वर्गलाई सर्वसुलभ पायक पर्ने गरी क्रमशः लक्ष्मी मावि, पथरीया मावि र लक्ष्मीप्रसाद देवकोटा माविमा शिक्षा र व्यवस्थापन संकाय दुवै माध्यममा अध्ययन गर्न पाउने भनी विद्यार्थी संगठनले बुझाएको ज्ञापनपत्रमा उल्लेख गरिएको छ। तीनदिनभित्र विद्यार्थी संगठनले राखेको माग सम्बोधन नभए चरणबद्ध आन्दोलनमा उत्रिने ज्ञापनपत्रमै उल्लेख छ।

यता, ज्ञापनपत्र बुझ्दै गाउँपालिका उपाध्यक्ष राजवंशीले यस विषयमा गाउँपालिकाको गम्भीर ध्यानाकर्षण भएकोले यस विषयमा कार्यपालिकाको बैठकमा छलफल गरिने बताइन्।

‘विद्यालयलाई तोकेर शिक्षा दिँदा विद्यार्थी मारमा पर्ने थालेको छ’, नेविसंघ कचनकवलका सभापति राजवंशीले भने, ‘अहिले विद्यार्थी आफूले पायक पर्ने विद्यालयमा आफूले सोचे जस्तो शिक्षा लिन पाइरहेको छ, यसमाथि गाउँपालिकाले हस्तक्षेप गरी शिक्षामै विभेद ल्याउन खोजेकोले विरोधमा उत्रिएका हौँ। यो निर्णयलाई तत्काल नसच्याइए हामी गाउँपालिका विरुद्ध आन्दोलित बन्ने छौँ।’

गाउँपालिकामा रहेका तीनवटा मावि तहका सामुदायिक विद्यालयमा कक्षा ११ र १२ मा करिब सात सय विद्यार्थी अध्ययनरत रहेको उनको भनाइ छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.