उदयपुर : विद्युत् भोल्टेज गडबडी हुँदा हाइटेन्सनमा रहेको क्लिंकर पोल्ने प्रारम्भिक मेसिन (सस्पेन्सन प्रि–हिटर एपी प्mयान बिग्रेपछि बन्द उदयपुर सिमेन्ट उद्योग पुनःसञ्चालनमा आएको छ।
झण्डै ६० दिन बन्द भएको उदयपुर सिमेन्ट उद्योग मर्मतपछि बुधबारदेखि पुनःसञ्चालनमा आएको हो ।
बिग्रिएको मोटर बुटवलस्थित नेपाल इन्जिनियरिङ एन्ड हाइड्रो वर्कसपबाट मर्मत गरेर ल्याएपछि उद्योग पुनःसञ्चालन भएको उदयपुर सिमेन्ट उद्योगका निमित्त महाप्रबन्धक नवलकिशोर साहले बताए।
‘मर्मत लागि समान नपाउँदा दुई महिना लाग्यो। त्यसैले केही दिन उद्योग बन्द हुन पुग्यो,’ उनले भने, ‘बुधबारदेखि उद्योगले निरन्तर क्लिङकर उत्पादन गरिरहेको छ। आइतबारदेखि नयाँ सिमेन्ट विक्री सुरु हुन्छ।’
एपी प्यान बिग्रिएपछि क्लिङ्कर उत्पादन ठप्प भएको थियो। तीन दशक पुरानो उद्योगका पाटपुर्जा मर्मत गर्नुपर्ने भएका छन। बिग्रेका मेशिनको तत्काल मर्मत गर्न सरकारी प्रक्रिया झन्झटिलो छ। त्यसको मार उद्योगले खेपिरहेको हो।
पुराना पाटपुर्जा मर्मत समयमै नहुँदा बेला बेलामा उद्योग बन्द हुने गरेको उदयपुर सिमेन्ट उद्योग व्यवस्थापन समितिका अध्यक्ष अकुर खड्का बताउँछन।
‘यो उद्योग पुरानो हो, धेरै पाटपुर्जा मर्मत गर्नुपर्ने बेला भएको छ, सरकारी प्रक्रिया झन्झटिलो छ’, उनले भने, ‘तत्काल मर्मत गर्नुपरे पनि सरकारी प्रक्रिया पुरा गर्न समय लाग्ने भएकाले उद्योग बन्द हुने गरेको हो।’
सरकारी स्वामित्वको उदयपुर सिमेन्ट उद्योग ६० दिन लगातार बन्दा हुँदा उद्योगलाई २० करोडभन्दा बढी घाटा भएको छ। ‘गत आर्थिक वर्ष ०७५/७६ मा २३ लाख बोरा सिमेन्ट उत्पादन गरेको छ,’ उनले भने, ‘एपी फ्यान नबिग्रेको भए उदयपुर सिमेन्ट उद्योगले नयाँ कीर्तिमान कायम गर्ने थियो।’
तपाईंको ईमेल गोप्य राखिनेछ ।