'कलाले देश चिनाउँछ, तर सरकारले कलाकार चिन्दैन'
'कलाले देश चिनाउँछ, तर सरकारले कलाकार चिन्दैन'
काठमाडौं: जिन्दगीमा के बन्ने? साना बालबालिकालाई सोधियो भने जवाफ आउँछ, 'बुवाआमालाई सोध्नु पर्छ।' कहिलेकाहीँ यही प्रश्न आफैंलाई प्रश्न सोध्ने चेष्टा गर्नु भएको छ?
समयले, बाध्यताले र जीवनमाका विभिन्न अवरोधका कारण हामीले सोचे जस्तो बन्न सक्दैनौं। अथवा परिस्थितिसँग जुध्न नसकेर हामी त्यही बन्न सक्दैनौं, जुन हामीले लक्ष्य निर्धारण गरिएको हुन्छ।
समयले हरेक व्यक्तिलाई जिन्दगीको एक क्षणमा केही न केही जरूर बनाउँछ। तर त्यो बन्नुमा आफ्नो खुशी र उत्साह प्राथमिक कुरा हुन्। इतिहास त्यसले मात्रै निर्माण गर्ने सामर्थ्य राख्छ, जसले जस्तै कठिन परिस्थितिमा आफ्नो लक्ष्यमा अडिग रहेर अघि बढिरहन्छ। धैर्य र इमान बचाउँदै आफ्नो काममा प्रतिबद्ध रहन्छ।
लामो समय मूर्तिकार र चित्रकारका रूपमा बेग्लै परिचय बनाएका पूर्वप्राज्ञ तथा कलाकर धनबहादुर याख्खालाई भने बच्चैदेखि कलाकारिताको भोक थियो। उनी विभिन्न व्यक्ति र व्यक्तित्वलाई माटो र ढुङ्गामा मूर्तिको माध्यमले देखाउन चाहन्थे। चित्र उनको जिन्दगीको अर्को रहर थियो।
थाहा छैन, मूर्ति र चित्रको नशाले उनको भोक मेटायो कि मेटाएन? तर आजसम्मको यात्रामा उनलाई यस क्षेत्रमा लागेर कुनै पश्चाताप छैन। छ त केवल सन्तुष्टि र खुसी।
पूर्वको मोरङमा जन्मिएका याख्खा लामो समयदेखि आफ्नो कला मूर्ति र चित्रमार्फत् निखारिरहेका छन्। यसकै माध्यमले उनी देश-विदेशमा पुगेका छन्। विभिन्न देशमा प्रदर्शनी उनी आफ्नै लगानीमा गरिरहेका छन्। यो दौडमा उनी एक्लै छन्। 'आफ्नो रहर हो। प्यासन हो। हाम्रा कला संस्कृति स्वदेशमा मात्र होइन विदेशमा पनि देखाउन जरूरी छ', उनी भन्छन्, 'विदेशमा पनि कला देखाउन एक प्रयासमा जति सकिन्छ लागिरहेको छु गरिरहेको छु।'
उनी कला प्रदर्शनीका लागि देशका सहरदेखि विदेशी भूमिसम्म कुदिरहेका हुन्छन्। यी कार्यक्रम उनी स्वयम् आयोजना गर्ने गर्छन्। सहकार्य गर्छन्। साहित्यको, राजनीतिको,विभिन्न विधाको जसरी गोष्ठी हुन्छ, त्यस्तै गोष्ठी मूर्तिकार र चित्रकारको जरुरी छ। यसका लागि विदेशसम्म पुग्ने उनी बताउँछन्। 'कलाको कुनै सीमा र भूगोल हुँदैन। जबसम्म आफ्नो कला, सीप क्षमताको विनिमय हुँदैन, तबसम्म कलाकारको सोचको दायरा फरकाकिलो हुन सक्दैन', उनी भन्छन्, 'कुनैपनि व्यक्ति आफैँमा पूर्ण हुन सक्दैन। विचारको विनिमय जरूरी हुन्छ र यो भइरहनुपर्छ।'
जबसम्म विभिन्न क्षेत्रका व्यक्तिसम्म हामी पुगिरहन्छाैँ, तब मात्र हाम्रो पहिचान, गरिमा र अस्तित्व निर्माण हुन्छ। कलाले दुई देशलाई जोड्ने मात्र होइन, सम्बन्ध सुमधुर बनाउन ठूलो भूमिका खेल्छ।
उनले विभिन्न देश घुमेका छन्। त्यहाँको कला संस्कृति नजिकबाट नियालेका छन्। तर सरकारको सहयोगमा यो सम्भव भएको होइन। उनी भन्छन्, 'मैले आफ्नै लगानीमा विदेशमा नेपाली कला प्रस्तुत गरिरहेको छु, नेपाल चिनाइरहेको छु।'
उनले विदेशका विभिन्न कार्यक्रम सहभागी हुँदा नेपाली कला क्षेत्रका लागि नेपाल सरकारले केही गर्न नसकेको बुझेका छन्। 'हामी कला संस्कृतिमा जति नै धनी भने पनि अन्य मुलुकमा जस्तो यहाँ कलाकारहरूको हित र संरक्षणमा राज्यले गर्न धेरै बाँकी छ', उनको अनुभवले भन्छ।
देश धनी बन्न पहिले कलाकारलाई सम्मान गर्न जरूरी रहेको बताउँछन् उनी। राज्यले कलाकारलाई देशको गहना भनेको छ। तर गहना भनेको के हो? कलाकार देशका गहना होइनन् देशका अंश हुन्। जसले हाम्रो जस्तो विकासोन्मुख देशको समृद्धिका लागि ठूलो भूमिका खेल्न सक्छन्।
सरकारले पर्यटन वर्ष २०२० मनाउँदैछ। तर उनी प्रश्न गर्छन्, 'राज्यले कुन कलाकर्मीलाई भेटेर भ्रमण वर्ष सफल बनाउन भूमिका खेल्न अवसर दिएको छ?'
सबै पर्यटक यो देशको हिमाल र ताल मात्रै हेर्न आउँदैनन्। उनीहरूको प्राथमिकतामा धेरै विषय पर्दछन्। जसमध्ये एक हो, नेपालको कला संस्कृति। तर कलालाई सरकारले प्राथमिकतामा राखेकै छैन। 'देशको मौलिक कलाको प्रवर्द्धनबिना कसरी भ्रमण वर्ष सम्भव हुन्छ? वर्षौँदेखि पुस्ताहस्तरण हुँदै आएको कला-संस्कृतिलाई संरक्षण गर्ने दायित्व हाम्रो हो', उनी सुनाउँछन्, 'राज्यले नै आँखा चिम्लिने हो भने हाम्रो पहिचान र अस्तित्व हराउँदै जान्छ।'
यहाँ न कलाको सम्मान छ न त कलाकारको नै। जबसम्म कलाकारहरूको सम्मान हुँदैन, तबसम्म देशमा समृद्धि आउनै सक्दैन। कलाकारको कला देखाएर पनि पर्यटन विकास सम्भव रहेको उनी बताउँछन्।
रहर र शोखले अपनाएको कुनै पनि पेशामा सरकारले हाम्रा लागि कुनै काम पनि गरेन भन्नु कतिको उचित हुन्छ होला? साधारण मान्छेले सोधेमा यसको चित्तबुझ्दो जवाफ कस्तो आउला? 'कलाको पाटोलाई हेर्ने हो भने कुनै कलाकारले गरेको सिर्जना विशुद्ध कलाकारको मात्रै हुँदैन। सिर्जना राज्यको सम्पत्ति हुन्छ।यसकारण कलाकारको संरक्षण सरकारको दायित्व हो', उनी भन्छन्, 'हामीले सरकारले पालिदियोस भनेको होइन, कलाकारलाई अवसर सिर्जना गरिदेयोस, प्रोत्साहित गरिदियोस् भनेको मात्रै हो।'
आर्ट र कल्चरमा लगानी गर्ने हरेक राष्ट्र समृद्ध छन्। एकचोटी यस क्षेत्रमा लगानी गरेपछि आम्दानीको श्रोत थपिँदै जान्छ। त्यसका आफ्नै पाटा हुन्छन्। हुन सक्छ नगदमा, हुन सक्छ ब्राण्डमा, हुन सक्छ गरिमामा, हुन सक्छ देशको पहिचानमा। धार्मिक, सांस्कृतिक सम्पदाको निर्माण कलाकारले नै गरेका हुन्। अहिले यो क्षेत्रले गरेको आम्दानी कसको कोषमा जान्छ? राज्यको कोषमा होइन र? एकचोटी लगानी गरेपछि वर्षेनि आम्दानी हुने ठाउँमा सरकारले लगानी गर्न जरूरी छ। लगानीबिना कुनै पनि कला संस्कृति फस्टाउन सक्ददैन।
याख्खाले जापान, भारत, चीन, अमेरिका, दक्षिण कोरिया लगायत २० देशमा कला प्रदर्शनी गरिसकेका छन्। विदेशमा कलालाई हेर्ने दृष्टिकोण र नेपालको कला अवस्थामा धेरै फरक रहेको बताउँछन् उनी। 'नेपालमा व्यक्तिगत प्रयास भएका छन्। विदेशमा सरकारी प्रयास भइरहेका छन्', उनले देखेको फरक यही हो, 'राज्यले कलालाई अनुत्पादक क्षेत्र जस्तो गरिरहन्छ। तर उनीहरू कला सरकारको अभिन्न अंग हो भन्छन्।'
केन्द्र सरकारदेखि स्थानीय सरकारसम्मले कलाक्षेत्रलाई धेरै राम्रो बनाउन जरूरी रहेको उनको धारणा छ। 'सर्जकको सिर्जनाका कारण राज्य धनी हुन्छ, त्यसैले सर्जक पनि सम्पन्न हुन जरूरी छ। हरेक नागरिकको कर्मले मात्रै देश सम्पन्न हुन्छ', उनी भन्छन्, 'सर्जकको सिर्जना देखाएर हामी सम्पन्न छौँ भन्नेले सर्जकको सम्मान किन गर्न नसक्ने?'
तपाईंको ईमेल गोप्य राखिनेछ ।