साढे चार अर्ब रुपैयाँको स्वीकृति पाउँदा डेढ अर्बको आप्रवाह
साढे चार अर्ब रुपैयाँको स्वीकृति पाउँदा डेढ अर्बको आप्रवाह
काठमाडौं : नेपाल राष्ट्र बैंकले पर्यटन क्षेत्रमा वैदेशिक लगानी ल्याउन पछिल्लो एक वर्षमा चार अर्ब ६३ करोड ४० लाख रुपैयाँ स्वीकृति दिएको छ। लगानी ल्याउनका लागि निवेदन दिएका ११९ वटा फाइलका लागि राष्ट्र बैंकले स्वीकृति दिएको हो।
यसमध्ये कतिपय रकम लेखांकन राख्नका लागि समर्थन दिएको छ भने कतिपय रकम 'ड्यु अमाउन्ट' रहेको छ। पर्यटन क्षेत्रमध्ये क्याफे, ब्रेकरी, होटल र रेस्टुरेन्टदेखि गिफ्टहाउस संचालनका लागिसमेत वैदेशिक लगानी स्वीकृति दिएको देखिएको छ। यो लगानीमा एक अर्ब ६२ करोड तीन लाख ७२ हजार आप्रवाह भएको छ। राष्ट्र बैंकले ३५ करोड २९ लाख रुपैयाँ 'ड्यु अमाउन्ट' रहेको छ।
यो अवधिमा लेखाङकनको लागि समर्थन र थप लगानी गरी ४३ करोड २४ लाख रुपैयाँको लागि स्वीकृति दिएको नेपाल राष्ट्र बैंक, विनिमय विभागले जनाएको छ। ११९ वटा फाइलमध्ये ३२ वटा फाइल रेष्टुराँ क्षेत्रको लागनीका लागि स्वीकृति दिइएको छ। रेष्टुराँ क्षेत्रमा मात्रै ४२ करोड पाँच लाख रुपैयाँको लगानी स्वीकृति भएको छ।
त्यस्तै, ६ वटा क्याफेका लगि लगानी स्वीकृति दिइएको छ। ललितपुर काठमाडौं र कास्कीमा क्याफे संचालनका लागि लगानी भित्र्याएको दखिन्छ। आठवटा क्याफेको लागि चार करोड ८१ लाख ९९ हजार रुपैयाँ लगानी स्वीकृति दिएको छ।
यसमध्ये ललितपुरमा रहेको द क्याफे अफ बेथेस्डाको लागि सबैभन्दा ठूलो रकम स्वीकृति दिएको छ। यो क्याफेको लागि ९९ लाख ९९ हजार रुपैयाँ स्वीकृति दिएकोमा ४९ लाख ९९ हजार लेखांकन समर्थन हो भने ५० लाख रुपैयाँ थप लगानी हो।
त्यस्तै, होटल क्षेत्रमा २५ वटा फाइल स्वीकृति गरिएको छ। २५ होटलको लागि ८९ करोड ५० लाख रुपैयाँ लगानी ल्याउन स्वीकृति दिइएको हो। यसमध्ये होट सोल्टीको लागि ३५ लाख १६ हजार रुपैयाँ लगानी लेखांकनको लागि स्वीकृति दिइएको रकम हो।
त्यस्तै, एउटा कास्की र तीनवटा काठमाडौंमा रिसोर्ट संचालनको लागि पनि स्वीकृति गरिएको छ। जसमध्ये चन्दा वन इको रिसोर्टका लागि इटाली र युकेबाट आएको तीन करोड ७४ लाख रुपैयाँ लेखांकनको लागि स्वीकृति दिइएको छ।
त्यस्तै, मनिधारणा रिसोर्टका लागि बेल्जियमबाट लगानी भित्र्याउन स्वीकृति मागिएकोमा ७५ लाख रुपैयाँको लागि स्वीकृति दिइएको छ। त्यस्तै, ठमेल इको रिसोर्टका लागि अमेरिकाबाट आएको एक करोड ६७ लाख रुपैयाँ लगानीका लागि स्वीकृति दिइएको छ। डिसेम्बर रिसोर्टका लागि चीनबाट आएको दुई करोड रुपैयाँ ल्याउन पनि स्वीकृति दिइएको छ। त्यस्तै, काठमाडौंमा तीन र ललितपुरमा दुई गरी पाँचवटा गेष्ट हाउसका लागि राष्ट्र बैंकले लगानी स्वीकृति दिएको छ।
नेपालले नेपाल भ्रमण वर्ष २०२० घोषणा गरिसकेको अवस्थामा पर्यटन क्षेत्रमा लगानी बढ्न थालेको व्यवसायीको भनाइ छ। तथापि, उद्योग विभागमा गरेको प्रतिबद्धताको तुलनामा राष्ट्र बैंकमा मागिरएको स्वीकृति कम देखिएको छ भने राष्ट्र बैकले दिएको स्वीकृति रकमको आधारमा आप्रवाह भएको रकम कम देखिन्छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।