काठमाडौं : नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री तथा साहित्यकार बीपी कोइरालाले २००८ देखि २०१३ सालसम्म लेखेको पुस्तक ‘बीपी कोइरालाको डायरी’ लोकार्पण गरिएको छ।
उक्त पुस्तकको काठमाडौंको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा लोकार्पण गरिएको हो। नेपाली कांग्रेसका महामन्त्री तथा बीपी पुत्र शशांक कोइराला, नेताहरू नरहरि आचार्य, प्रा.डा. शेखर कोइराला, लेखक पुरुषोत्तम बस्नेत, डा. शोभाकर पराजुली, पत्रकार चन्द्रकिशोर, पुस्तकका सम्पादक तथा संकलक पदमबहादुर थापा, अनुवादक महेश पौडेल र प्रकाशक पुष्पराज पौडेलले संयुक्त रूपमा लोकार्पण गरेका हुन्।
लोकार्पण समारोहमा अनुवादक महेश पौडेलले आफूले अनुवाद गर्दा बीपीबाट धेरै सिक्ने अवसर पाएको बताए। बीपीलाई आजसम्म साहित्यकार र राजनीतिक व्यक्तित्वको रूपमा मात्र चिनेकोमा उनीसित चित्रकारिताको पनि ज्ञान रहेको डायरी पढ्दा पाएको उनले बताए।
यसैगरी पुस्तकबारे बोल्दै प्रा.डा. शेखर कोइराले यो पुस्तक डायरी मात्र नभएर युवा पिढीका लागि संघर्षको अभिलेख रहेको बताए।
यस्तै नेपाली कांग्रेसका बौद्धिक नेता नरहरि आचार्यले भने, 'बीपी कोइरालाको डायरी आफूले तिन पटकसम्म पढिसक्दा पनि अझै चित्त बुझेको छैन फेरी पढौँ पढौँ लागिरहेको छ र फेरिपनि पढ्छु।' उनले बीपीको पुस्तकले नेपाली पाठकहरूका लागि नयाँ विषय र प्रस्तुती बोकेको बताए।
भावुक मुद्रामा बाबासँगको आफ्नो संस्मरण सुनाउँदै नेपाली कांग्रेसका महामन्त्री तथा बीपी पुत्र प्रा.डा. शशांक कोइरालाले पुस्तकले बीपी अध्ययन गर्न चाहनेहरू र साहित्य, चित्रकारिता बुझ्न चाहनेहरूका लागि अत्यन्तै महत्वपूर्ण र सहज रहेको बताए।
त्यसैगरी, डा. शोभाकर पराजुलीले लेखेको पुस्तक 'लोकतन्त्र र समाजवाद'को पनि परिचर्चा भएको थियो। बीपी कोइरालाको डायरीको मूल्य ३५० रुपैयाँ रहेको छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।