|

बोस्टन :  न्युयोर्कमा बसोबास भएका चर्चित रक्तदाता अर्जुनप्रसाद मैनालीले केन्या पुगेर बुधबार आफ्नो १७२ औं रक्तदान गरेका छन्। 

मैनालीले अफ्रिकाका देशहरूमा रगतको चरम अभाव हुने गरेको जानकारी पाएपछि त्यहाँका मलावी, युगान्डा, इथियोपिया, रुवाण्डालगायत देशमा पुगेर रक्तदान गरेका छन्। 

उनले यस वर्ष इथियोपियामा फेब्रुअरी १९, रुवान्डामा जुन १२ मा रक्तदान गरिसकेका छन्। संसारमै उच्च मातृ मृत्युदर रहेको अर्को अफ्रिकी देश कङ्गोमा सेप्टेम्बर ११, २०१९ मा रक्तदान गर्न जाने सोच बनाएका मैनालीले भिसा नपाएपछि केन्या गएका हुन्।  त्यहाँको रक्त सन्चार सेवामार्फत स्वास्थ्य मन्त्रालयले रक्तदाता मैनाली रक्तदान नै गर्न भनेर न्युयोर्कदेखि आउने थाहा पाएपछी सरकारी अधिकारीहरूले पनि विशेष चासो राखेका थिए।

रक्तदान उत्प्रेरणा र रक्तदान कार्यक्रमको उद्घघाटन गर्दै स्वास्थ्य मन्त्री (क्याबिनेट सेक्रेटरी) सिसिली करीउकीले केन्यामा वार्षिक १० लाख युनिट रगत चाहिने गरेकोमा करिब एक लाख ७० हजार युनिटमात्रै उपलब्ध हुने गरेको जानकारी दिइन्।

'यस्तो अवस्थामा रक्तदानको क्षेत्रमा उल्लेखनिय काम गरेका मैनालीको अनुभवले हाम्रा केन्याली जनताहरूलाइ रक्तदान गर्न थप उत्साह मिल्नेमा विश्वस्त भएकी छु,' उनले भनिन्। मैनालीलाइ मन्त्रीले आफ्नै कार्यकक्षमा बोलाइ प्रशंसा–पत्रले सम्मान गरेकी थिइन। तीन दिनसम्म चल्ने उक्त रक्तदान कार्यक्रममा पहिलो दिनमै करिब ५ सय जनाले रक्तदान गरेका थिए।

मैनालीले सन् १९८७ मा नेपालबाट रक्तदान सुरु गरी भारत, अष्ट्रेलिया, मकाउ, थाइल्यान्ड, इक्वेडोर, हैटी, बेलायत, बर्मुडा, आयरल्यान्ड, अमेरिकालगायत १६ देशमा हालसम्म १ सय ७२ पटक रक्तदान गरिसकेका छन्। उनले दान गरेको रगतले मात्रै ५सय १३ जनासम्मलाई बचाउन सहयोग हुन्छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.