निजी सवारीमा मनपरी भाडा
निजी सवारीमा मनपरी भाडा
बाग्लुङ: जैमिनी नगरपालिका १० पाँहीका गोबिन्द आचार्य घर जाने जिप खोजेर बुधवार दिनभर बागलुङ बजारमा भौंतारिएका थिए। गाडि नपाएपछि उनी पिकअपको पछाडि बसेर घर जान बाध्य भए।
पिकअपको पछाडि बसेर गएपनि उनले भाडा ६ सय रुपैयाँ तिरे। रातो नम्बरप्लेटको जिप, पछाडि सामान राख्न मात्र पाइन्छ। भाडाको सवारी होइन। तर, पनि उनले त्यो बाध्यता सहे। रातो प्लेटको मात्र नभई कालो नम्बर प्लेटको जिपमा पनि त्यस्तै सकस छ।
जैमिनीकै वडा ९ पैयुँथन्थाप सरादेका रामबहादुर थापाले पनि उस्तै सास्ती खेपेर मात्र घर गए। सराते पुगेको ५ सय रुपैयाँ भाडा छ। यस्तै समस्या भोगेर दैनिक धेरै मानिस सडकमा भौंतारिएका छन्। यो बर्ष दशैंसम्म गाउँ पुग्ने बस चलेका छैनन्।
सदरमुकामदेखि बुर्तिवाङ जाने मध्यपहाडी लोकमार्ग बाहेक अरु सडकमा बस चल्न नसक्दा यात्रीले हैरानी खेपेका हुन्। कालीगण्डकी कोरिडोरमा पनि गत असार मसान्तमै सवारी चलाउने गरी चौडा पार्ने जिम्मा लिएको सेनाले अझै बाटो खुला गरेको छैन।
‘सडकमा खाल्डै खाल्डा छन्, पोहोर बस चल्थ्यो, अहिले पिकअप जिप मात्र चल्छन्’ आचार्यले भने, ‘बस चलेको भए यति सास्ती खेप्नु पर्ने थिएन।’ जिपहरुले मनमर्जी भाडा लिएको उनले आरोप लगाए। गत बर्षको दशैमा सदरमुकाम देखि कुश्मीसेरा, राङखानी, जैदि र छिस्तीसम्म बस संचालन भएको थियो।
यात्री धेरै भएकै कारण जिल्ला सदरमुकामबाट यात्रु बोकेर ताराखोला हिँडेको पिकअपका चालक तीर्थ रोका सोमबार सवारी कारवाहीमा परेका थिए। सामान बोक्न भनेर यातायात व्यवस्था कार्यालयमा दर्ता भएको रातो प्लेटको पिकअपले मान्छे बोकेको देखेपछि ट्राफिक प्रहरीले उनलाई कारवाही गरेको हो। उनको कारवाहीपछि जिपको अभाव भएको सूचना छरपष्ट भएको हो।
प्रहरीले उनलाई अक्षेतेमा रोकेर नियम उलंघन गरेबापत राजश्व बुझाउन यातायात व्यवस्था कार्यालय बागलुङ पठाएपछि यात्रीहरु बिचैमा अलपत्र परेका थिए। अक्षेते बाट सदरमुकाम आउन गाडिमा झण्डै एक घण्टा लाग्छ। सोमबार कार्यालय प्रमुख नभएकाले उनले मंगलवार मात्रै राजश्व तिरे र फेरी ताराखोला तर्फै लागे।
यस्ता पिकअपले प्राय सामान बोक्छन्। ट्राफिक र प्रहरीको आँखा छलेर यात्री पनि चढाउँछन्। ‘गाउँ पुग्न अरु कुनै सवारी नभएपछि जिप चढ्नै पर्छ’ ताराखोला २ की सन्ध्या घर्तीले भनिन्, ‘रातो र कालो प्लेट भनियो भने घर जानै पाईदैन।’
जिल्ला ट्राफिक कार्यालयले तीन महिना अघि जिल्लाको दक्षिण, पश्चिम तर्फ जाने दुइसय बढी पिकअप भ्यानलाई हस्ताक्षर गराएर मानिस चढाउन नपाउने निर्देशन दिएको छ। बागलुङमा १ सय २५ भन्दा धेरै रातो प्लेटका पिकअप छन्। धौलागिरी यातायात बस व्यवसायी समितिका सदस्य रामप्रसाद अधिकारीले सडक सरसफाई भयो भने तत्कालै दैनिक दुइवटा बस पठाउन सक्ने बताए।
‘मैले दैनिक दुइवटा बस मेरै नेतृत्वमा पठाउँछु, समितिले चाहेमा थप हुन सक्छ’ अधिकारीले भने, ‘दुइवटा बस चलाइयो भने दैनिक एकसयले सेवा पाउँछन्।’ अघिल्लो साताको बर्षातले कुश्मीसेरा तर्फको सडकमा दर्जनौं पहिरो खसेर सडक अप्ठ्यारो भएको हो।
जिप जवरजस्ती चलेपनि बसका लागि सडक अप्ठ्यारो छ। बागलुङ नगरपालिका र जैमिनी नगरपालिकाले सामान्य खर्चेर सडक मर्मत गरेमा दैनिक सयौंले सेवा पाउने उनले बताए।
तपाईंको ईमेल गोप्य राखिनेछ ।