|

काठमाडौं : गैह्र आवासीय नेपाली संघ (एनआरएनए) को नवौं विश्व सम्मेलन मंगलबारदेखि राजधानी काठमाडौंमा हुने भएको छ। सम्मेलनको पूर्वसन्ध्यामा एनआरएनएले सोमबार पत्रकार सम्मेलन गरेर तयारी पुरा भएको जनाएको छ। 

सम्मेलनले संघको नयाँ नेतृत्व चयन गर्ने भएको छ । 'म, मेरो एन आर एन ए र मेरो नेपाल' भन्‍ने मूल विषयमा आधारित भएर गरिन लागेको सम्मेलनको उद्घाटन राष्ट्रपति विद्यादेवी भण्डारीबाट हुने भएको एनआरएनएका प्रवक्ता भुषण घिमिरेले जानकारी दिए।

पत्रकार सम्मेलनका क्रममा संघले बालुवाटारस्थित सरकारी जग्गा किन्दा आफुहरु ठगिएको गुनासो गरेको छ। १२ करोड रुपैयाँमा बालुवाटारमा जग्गा किन्दा सरकारले ५० लाख रुपैयाँ कर मिनाहा दिएको संघका महासचिव बद्री केसीले बताएका छन्। 

आफ्नो केन्द्रीय कार्यालय भवन निर्माणका लागि बालुवाटारमा जग्गा खरिद गर्दा अन्य सर्वसाधरण जस्तै  गैह्र आवासीय नेपाली पनि ठगिएको जनाएको छ। 

पत्रकार सम्मेलनमा बोल्दै संघका महासचिव बद्री केसीले राज्य संयन्त्रलाई विश्वास गर्दा आफुहरु ठगिएको बताएका छन्। 'विदेशमा बस्‍ने भएकाले नेपालका कानुनबारे धेरै जानकारी हुने कुरा भएन', उनले भने, 'संघको आफ्नै भवन बनाउने उद्देश्यले सन् २०११ मा संघको भवन निर्माणका लागि जग्गा खरिद गरेका थियौँ। त्यसक्रममा सरकारले ५० लाख भन्दा बढी मिनाहा पनि दिएको थियो।'

तर जग्गा खरिद गर्ने क्रममा आफुहरु ठगिएको गुनासो उनले गरे। 'जसरी सर्वसाधरण जनताहरु ठगिन्छन्, त्यसैगरी आज नेपालमा गैह्र आवासीय नेपाली संघ ठगिएको कुरा यहाँहरुलाई भन्‍न चाहन्छु', केसीले सुनाए। 

राजधानीको होटल हायात रिजेन्सीमा हुने सम्मेलन असोज २८ देखि ३० गते सम्म चल्ने छ । सन् २००३ देखि विदेशमा छरिएर रहेका गैरआवासीय नेपालीहरु समेट्ने क्रममा संघले ८० भन्दा बढी मुलुकमा आफ्नो राष्ट्रिय समन्वय परिषदहरु गठन गरिसकेको छ। 

सम्मेलनमा ८१ मुलुकका गैरआवासीय नेपाली प्रतिनिधिहरु, स्वदेशी-विदेशी सहभागी समेत २ हाजर ५ सय बढीको सहभागीता रहने संघले जनाएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.