|

काठमाडौं : नेपालीमूलका विदेशी नागरिकले कर्मचारीहरुमाथि पटक पटक अभद्र गर्ने गरेको गुनासो अध्यागमन विभागले गरेको छ। 

गैरआवासीय नेपाली संघको सम्मेलनमा भाग लिन अस्ट्रेलियबाट आएका एक नेपालीमूलका नागरिकले आइतवार मात्रै विभागका कर्मचारीमाथि अभद्र व्यवहार र विमानस्थलको डेस्क तोडफोड गरेको सन्दर्भमा यस्तो गुनासो आएको हो।

अध्यागमन कार्यालय त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रमुख अधिकृत दीर्घनारायण पौडेलले सोमबार निकालेको विज्ञप्तिमा नेपाली नागरिकता त्यागेका विदेशीले पटक पटक अराजक व्यवहार दोहोर्‍याएको दाबी गरेका छन्। 

आइतवार राति क्याथे ड्रागन एयरको जहाजमा अस्ट्रेलियाबाट आएका नेपालीमूलका रमेश थापाले अध्यागमन कार्यालय त्रिभुवन विमानस्थलका कर्मचारीमाथि अभद्र व्यवहार गरेपछि प्रहरीको हिरासतमा पुगेका थिए। 

उनलाई प्रहरीले थप कारबाहीका लागि अध्यागमन विभाग कालिकास्थानमा बुझाएको छ। अस्ट्रेलियाको पीए ७१०२५६६ नम्बरको राहदानीबाहक थापालाई कर्मचारीले सम्झाउँदा पनि अटेर गरेको पौडेलले जनाएका छन्। उनले कर्मचारीले काम गरिरहेको डेस्कको शिशासमेत फुटाइदिएपछि अध्यागमन कार्यालयले प्रहरी बोलाएर समातेको थियो।

अध्यागमन कार्यालयले नेपालीमूलका विदेशी नागरिकबाट पटक पटक यस्ता घटना भइरहेको भन्दै फेरि नदोहोर्‍याउन सचेत गराएको छ। ‘नेपाली मूलका विदेशी नागरिकहरुबाट पटक पटक अध्यागमन कार्यालयका कर्मचारीहरुसँग अभद्र व्यवहार हुने गरेकोमा अब उप्रान्त यस्ता किसिमका व्यवहार नहोस् भन्ने अनुरोध गर्न चाहन्छौँ’, पौडेलले निकालेको विज्ञप्तिमा भनिएको छ। 

एनआरएनको सम्मेलनमा भाग लिन आएका थापाले तोडफोड र कर्मचारीमाथि अभद्र व्यवहार गरेपछि हिरासतमा राखिएको छ । उनलाई जरिवाना तिराएर मंगलबारै छाड्ने तयारी पनि विभागले गरेको छ। 

यो पनि  : प्रधानमन्त्री भेट्न सिंगापुर हिँडेका एनआरएनएका अध्यक्ष भट्ट विमानस्थलबाटै फर्काइए

यसअघि मदिरा पिएर लठ्ठ भएको अवस्थामा सिल्क एयर र विमानस्थलका कर्मचारी तथा सुरक्षाकर्मीलाई दुर्व्यवहार गरेपछि एनआरएनएका अध्यक्ष भवन भट्टलाई पनि प्रहरीले जहाज चढ्न लागेको अवस्थामा फर्काइदिएको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.