म्याग्दी : गत असोज २१ गते भीषण असिना परेपछि बेनी नगरपालिका–२ ज्यामरुककोटको उपल्लो भेगमा ठूलो क्षति पुग्यो। तर सोही वडाको तल्लो भेग बगरफाँट र खबरामा भने कुनै असर गरेन।
ज्यामरुककोटका साथै मंगला गाउँपालिकाको विभिन्न ठाउँहरुमा पनि असिनाले ठूलो क्षति पुर्यायो। पाक्नै लागेको धान असिनाले झारेर पराल मात्र बाँकी रहेपछि किसानहरुलाई पर्नु पीर पर्यो। ज्यामरुककोटको माथिल्लो भेग र मंगला गाउँपालिकाका कृषकहरु यही वर्षभरी के खाने भन्ने पिरलोले रन्थनिइरहेका छन्।
तर, ज्यामरुककोट र मंगलामा भीषण असिना परेको एक साता वित्दा नवित्दै असिना नपरेको ठाउँको दृष्य भने निकै रमणीय देखिएको छ। बेनी नगरपालिका– २ बगरफाँट धान उत्पादनका लागि जिल्लामा नै प्रख्यात ठाउँ हो। यही ठाउँमा अहिले फाँटैभरी लहलहै धान झुलीरहेको छ। मौसम पनि मज्जाले नै खुलेको छ।
फाँटैभरी लहलहै झुलेको धान र दिउँसो आकास खुलेको बेला लाग्ने शारदीय घामले यतिवेला यहाँको वातावरण निकै रोमाञ्चक बनाएको छ।
म्याग्दीको सदरमुकाम बेनीबजारसंगै जोडिएको बगरफाँट गाउँ अन्न उत्पादनका लागि पकेट क्षेत्र नै हो। वगरफाँटको ४ ओटा बेल्टमा धान उत्पादन हुन्छ। उपल्लो गौडीबुढी, पलाँसे क्षेत्र, जरुवा क्षेत्र र बाङ्गेरा गरी ४ ओटा बेल्टमा बाडिएको बगरफाँटमा स्थानीय जातका गौरीया, गुडुरा, ताकमारे र विकासे जातका धान खेती गरिने स्थानीय अगुवा कृषक भीमवहादुर रिजालले बताए।
तपाईंको ईमेल गोप्य राखिनेछ ।