भारतीय प्रहरीले पक्राउ गरि दिल्लीमै फर्कायो

|
समाचार प्रतिनिधि तस्बिर

काठमाडौं : अवैधरुपमा भारतको बाटो हुँदै कुवेत पुगेका तीनजना नेपाली महिला पक्राउ परेका छन्। रोजगारीका लागि अवैधरुपमा कुवेत पुगेका तीन नेपाली महिलालाई इन्दिरा गान्धी अन्तराष्ट्रिय विमानस्थलका प्रहरीले पक्राउ गरेका जनाइएको छ।

कुवेतको विमानस्थलमा पक्राउ परेका तीन महिलालाई दिल्ली फर्काइएको छ। प्रहरीले पक्राउ परेका नेपाली महिलाहरुको नाम लक्ष्मी, शोभा र रुपा रहेको बताएको छ। तर उनीहरुको नेपालस्थित ठेगाना खुलाएको छैन।

कसरी पुगे कुवेत 

पक्राउ परेपछि अनुसन्धान गर्दा तीनैजना महिला झुटो कागजात बनाएर नेपालबाट दिल्ली एयरपोर्ट पुगेका थिए। त्यहाँबाट सीधै कुवेत जाने जहाजमा चढेका उनीहरुलाई दिल्ली प्रहरीले पक्राउ गरी फर्काएको भारतीय अनलाइन अमर उजालाले जनाएको छ। 

काठमाडौंबाट सीधै खाडी जान खोजेका उनीहरु बाटो फेर्दै दिल्ली पुगेका थिए। काठमाडौं अध्यागमनलाई छल्न नसकेपछि उनीहरु दिल्लीको बाटो हुँदै कुवेत लागेका थिए।

नेपाली नागरिकलाई दिल्ली जान राहदानीसहितका कागजात अनिवार्य छैन। उनीहरुले आफ्नो राहदानीमा नेपाली अध्यागमनको फर्जी छाप लगाएका थिए। नेपालबाट जाने क्रममा उनीहरुले राहदानीको साटो मतदाता पत्र देखाएका प्रहरीले जनाएको छ ।

उनीहरु दिल्ली विमानस्थलमा नेपाल वायु सेवा निगमको जहाजबाट ओर्लिएर बहराइन जाने जहाजमा चढेका थिए। बहराइन हुँदै कुवेत पुगेपछि मात्रै उनीहरु अवैध रुपमा गएको खुलासा भएको थियो।

अवैधरुपमा कुवेत पुगेको थाहा भएपछि दिल्ली प्रहरीले उनीहरुलाई पक्राउ गरी फिर्ता गराएको हो। अनुसन्धानमा संलग्न प्रहरीले ती महिलालाई अवैधरुपमा कुवेत पठाउने काममा नेपाल एयरलाइन्सका कर्मचारी पनि संलग्‍न भएको हुनसक्ने आशंका गरेको छ। प्रहरी अधिकारीहरुले महिलाहरुसँग सोधपुछ गरिरहेका छन् । 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.