काठमाडौं : अर्थमन्त्री डा. युवराज खतिवडाले डुइङ बिजनेस इन्डेक्समा अर्को वर्ष ८० औँ स्थानमा उक्लिने लक्ष्य लिएकाे बताएका छन्। व्यावसायिक सहजताका हिसाबले १९० देशकाे स्थिति याे प्रतिवेदनमा उल्लेख गरिने गरेकाे छ।
अघिल्लाे वर्ष पाँच स्थान ह्रास आएकाेमा बिहीबार सार्वजनिक गरिएकाे प्रतिवेदनअनुसार १६ स्थान सुधार भएकाेमा शुक्रबार विश्वबैंकले गरेकाे कार्यक्रममा खतिवडाले थप सुधारका काम अघि बढाएर पुन: उल्लेख्य सुधार गर्ने बताए। 'यस वर्ष हामी १६ स्थान माथि उक्लिएका छौँ, अर्को वर्ष ८० स्थानमा आउने लक्ष्यका साथ काम गर्छौं´ खतिवडाले भने।
मन्त्री खतिवडाले निजी क्षेत्र र सरोकारवालाले अनुभूति नगरेसम्म सुधारको अर्थ नहुने भन्दै सरकारले नीतिगत, कानुनी र प्रक्रियागत सुधारलाई सधैँ अघि बढाउने पनि बताए। सरकारले केही ऐन संशोधनको प्रक्रिया अघि बढाइसकेको भन्दै उनले २०२१ को प्रतिवेदनमा त्यो प्रतिबिम्बित हुने पनि उल्लेख गरे।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका सचिव शिशिरकुमार ढुंगानाले व्यावसायिक सहजता सूचकमा नेपालको अवस्था बलियो बनाउन ३ वर्षे रणनीति तय गरिएको बताए।
विश्व बैंकले बिहीबार सार्वजनिक गरेको प्रतिवेदनमा नेपाल १६ स्थान माथि उक्लिँदै ९४ औँ स्थानमा आइपुगेको छ। नेपाल दक्षिण एसियामा तेस्रो भएको थियो। १९० देशमा गरिएको मूल्यांकनमा नेपाल गत वर्ष ११० औँ स्थानमा थियो।
तपाईंको ईमेल गोप्य राखिनेछ ।