|

पर्वत : गण्डकी प्रदेश सरकारका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री विकास लम्सालले संघीयतापछि तीन तहका सरकारहरूको बीचमा राम्रो सहकार्य हुन नसकेको बताएका छन्।

तिहार मनाउनको लागि गृह जिल्ला पर्वत आउने क्रममा सदरमुकाम कुस्मा बजारमा पत्रकारहरूसँग शुभकामना आदानप्रदान गर्दै संघीयता नेपालको लागि नयाँ विषय भएकोले पनि सिकाइको क्रम जारी रहेको बताए।

‘हामी संघीयतालाई कार्यान्वयन गर्दै र सिक्दै अगाडि बढिरहेका छौँ। धेरै कुराहरू बुझ्न र गर्न बाँकी रहेका छन्।’ उनले भने, ‘एक खालको प्याट्रनमा चलिरहेको राज्य सञ्चालन गर्न त समस्या हुन्छ, हामी त नयाँ प्रयोगमा छौँ।’ संघीयता लागू भएका सुरुका वर्षमा सङ्घ, प्रदेश र स्थानीय सरकारबीच धेरै तालमिलन नमिलेको भए पनि विस्तारै समस्याको समाधान हुँदै गएको मन्त्री लम्सालको भनाइ छ।

तालमेल नमिलेको देखिनुको एउटा उदाहरण बसाईँसराईँ पनि रहेको उनको भनाइ छ। ‘संघ र प्रदेश सरकारले पनि स्थानीय तहको विकासको लागि बजेट सहितका योजनाहरू लागू गराइरहेका छन्। सरकारका बजेटहरू गाउँमा केन्द्रित भएका छन्।’ उनले भने, ‘गाउँका मान्छे भने गाउँ छोडेर सहर पसिरहेका छन्।’

गण्डकी प्रदेशका ११ वटा जिल्लाको अवस्था हेर्दा प्रदेश राजधानी रहेको कास्की र नवलपुर जिल्लाका बासिन्दाहरू बसाइँ सरेर अन्यत्र जाने गरेको खासै नपाइएको भए पनि बाँकी रहेका ९ जिल्लामा भने बसाइँसराइको दर बढिरहेको भन्दै मन्त्री लम्सालले दुःख व्यक्त गरे।

देशमा संघीयता आएपछि विकेन्द्रित विकास योजनाहरू कार्यान्वयनमा रहेको बताउँदै उनले आजको भोलि नै विकास खोज्नुभन्दा पनि हरेक नागरिक आफैँ उत्पादक हुनुपर्ने सुझाए।

गाउँ जाँदा पैसा माग्‍ने चलन हटेन

मन्त्री लम्सालले नागरिकले आफ्नो चेतनाको स्तरलाई पनि परिवर्तन गर्नुपर्ने बताए। आफू सांसद विकास कोषमा आएको रकम खर्च गर्ने योजना बनाउन गाउँगाउँमा डुलेको बेलामा नागरिकले उद्यमी बन्ने प्रयास गर्नुको सट्टा पैसा नै माग्ने बानी नछोडेको उनको भनाइ छ। ‘म यति बेला केही गाउँहरूमा पुगेर फर्किएँ।

गाउँका मान्छेलाई उद्यमी बन्न सघाउने योजना बनाउन सकिन्छ कि? भनेर योजनाको खोजीमा गाउँ गएको थिएँ।’ उनले भने, ‘अझै पनि बाजा किन्ने पैसा, युवा क्लबलाई पैसा, सामुदायिक भवन बनाउन पैसा भन्दै पैसाका शीर्षक बोकेर आउने क्रम रोकिएको छैन।’

आफू, आफ्नो परिवार र समाजको समृद्धिका लागि हरेक व्यक्तिले केही न केही उत्पादन गरेर उद्यमी बन्न सक्नुपर्ने र यदि कसैले त्यस्तो खालको योजना बनाएर मन्त्रालयमा पुगेमा सघाउन सकिने मन्त्री लम्सालको भनाइ छ।

पर्यटनमा गण्डकी अगाडि

मन्त्री लम्सालले पर्यटनमा गण्डकी प्रदेश देशकै अग्रणी स्थानमा रहेको बताउँदै सन २०१९ मा गण्डकी प्रदेशमा गत वर्षको तुलनामा २० प्रतिशत बढी पर्यटक भित्रिने आँकलन गरिएको बताए। वर्ष २०१८ मा झन्डै १० लाख पर्यटक गण्डकी प्रदेशमा भित्रिएको जानकारी गराउँदै उनले सन् २०१९ को बाँकी रहेका २ महिनासहित गरेर १२ लाख पर्यटक आउने दाबी गरे।

‘पोखरामा आएका पर्यटकहरू लमजुङ, मुस्ताङ, बागलुङ, तनहुँ जिल्लामा बढी केन्द्रित रहेका छन्।’ उनले भने, ‘ती पर्यटकहरूलाई अरू जिल्लामा पनि घुम्ने वातावरण मिलाउनु आवश्यक छ।’ मंसिर महिनापछि चिसो बढी हुने भएकोले पनि प्रदेशका हरेक जिल्लामा यतिबेलै आन्तरिक र बाह्य पर्यटकहरूको भिड बढेको उनले बताए।

एक निर्वाचन क्षेत्रमा एक आवासीय विद्यालय

गण्डकी प्रदेश सरकारले प्रदेशलाई शिक्षामार्फत समृद्धिको बाटोमा लैजाने योजना रहेको जानकारी दिँदै मन्त्री लम्सालले एक निर्वाचन क्षेत्रमा एउटा आवासीय विद्यालय स्थापना गर्ने कुरालाई प्राथमिकतामा रहेको बताए।

विद्यालयको सङ्ख्या धेरै हुँदैमा शिक्षा गुणस्तरीय नै हुन्छ भन्ने कुरामा विश्वास गर्न नसकिने बताउँदै उनले सञ्चालनमा रहेका तर अत्याधिक कम विद्यार्थी रहेका सामुदायिक विद्यालयहरूलाई मर्ज गरेर गुणस्तरीय शिक्षा दिन सक्ने आवासीय विद्यालयको आवश्यकता रहेको औँल्याए। ‘काठमाण्डौ र पोखराका सरकारी आवासीय विद्यालयमा भर्ना हुन नाम निकाल्नुपर्ने अवस्था छ।

त्यस्तै एउटा विद्यालय एउटा निर्वाचन क्षेत्रमा राख्न सकिन्छ।’ उनले भने, ‘ल हामी विद्यालय मर्ज गरेर यस्तो विद्यालय बनाउँछौँ भनेर कोही आउनुहोस्, प्रदेश सरकारले तपाईँलाई सबै सहयोग गर्छ।’

सी को भ्रमणले भारत र अमेरिका हच्के

चिनिया राष्ट्रपति सी जिन फिङ नेपाल भ्रमण आउँदा छिमेकी देश भारत र अमेरिका केही हच्किएको दाबी गर्दै मन्त्री लम्सालले चिनिया राष्ट्रपति नेपाल आउँदा विश्वको ध्यान नेपालमा तानिएको बताए।

‘चिनियाँ राष्ट्रपति नेपाल आउँदा दुनियाँको ध्यान तानिएको छ। धेरै राम्रो भएको छ।’ उनले भने, ‘छिमेकी भारत र अ‍ेमरिका अहिले हच्के जस्तो, तर्से जस्तो मानेको छु।’ अर्को प्रसंगमा उनले चिनले रसुवाको भन्दा मुस्ताङको कोरल्ला नाका बढी रुचाएको दाबी गरे।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.