|

म्याग्दी : म्याग्दीको बेनी नगरपालिका–३ भकिम्ली र बागलुङको काँठेखोला गाउँपालिका-३ धम्जाको शिरमा अवस्थित पर्यटकीयस्थल बेलढुंगा आन्तरिक पर्यटकहरुका लागि प्रकृति दर्शनको उत्कृष्ट स्थान बन्दै गएको छ।

बेलढुङ्मा पछिल्लो समय आन्तरिक पर्यटकहरुको आकर्षण बढ्दै जान थालेपछि बेनी नगरपालिका-३ भकिम्ली र बागलुङ जिल्लाको काँठेखोला गाउँपालिका ३ धम्जा विच बेलढुंगामा विकासका पूर्वाधारहरु निर्माण गर्न होडबाजी नै चलेको छ।

सूर्योदय र सूर्यास्तको रमणीय दृश्य

समुद्री सतहदेखि २ हजार ६ सय १८ मिटरको उचाइमा रहेको बेलढुंगाबाट अन्नपूर्ण र धौलागिरि रेञ्जका १२ ओटा हिमश्रृङ्खला, म्याग्दी नदी, कालीगण्डकी सहित

म्याग्दी र बागलुङ जिल्लाका खोला तथा झरनाको नागबेली दृश्य, साबिकको धौलागिरि अञ्चलका चारवटै जिल्लाका तीन दर्जन बढि गाउँहरु, वनजङ्गल, जंगली जनावर र पंक्षीका साथै सूर्योदय र सूर्यास्तको रमणीय दृश्य देख्न सकिने बेनी नगरपालिका ३ का वडाअध्यक्ष पदम पुनले बताए।

त्यसका साथै यहाँबाट धौलागिरी क्षेत्रका सम्पूर्ण तीर्थस्थलहरु,बाघ,भालु,चितुवा लगाएतका वन्यजन्तु,डाँफे,मुनाल,बनकुखुरो लगाएतका पंक्षी र चैत वैशाखमा राताम्यै फूलेका लालिगुराँसले यहाँ पुग्ने जोसुकैको मनलाई आकर्षित गर्नसक्ने भएकोले पछिल्लो समय यहाँ विशेष गरी म्याग्दी र बागलुङका आन्तरिक पर्यटकहरु दिनहुँ आउने गरेका भकिम्ली स्थित स्वर्गाश्रम विकास समितिका अध्यक्ष रत्न जिसीले जानकारी दिए।

 चारैतिर घना जंगल, जंगलको विचभागमा चेप्टो बेल आकृतिको विशाल ढुङ्गा रहेकोले यस स्थानलाई बेलढुंगा नामाकरण गरिएको  छिमेकी जिल्ला बागलुङको काठेखोला गाउँपालिका ३ धम्जाका वडाअध्यक्ष यामबहादुर श्रीषले बताए।

दुई जिल्लाको प्रतिस्पर्धा

उनका अनुसार बेलढुङ्कामा पूर्वाधार निर्माण र विकासका लागि दुई जिल्लाका दुईवटै वडाको समान योगदान रहेको छ। ‘हामीले बेलढुंगाको तल्लोपट्टि करिब २ सय मिटरको दूरीमा रहेको बेसी चौतारीसम्म मोटरबाटो पुर्‍यायौं भने भकिम्लीका वडाअध्यक्ष पदम पुन ज्यूले स्वर्गाश्रमसम्म मोटरबाटो र त्यहाँदेखि माथि पदमार्ग निर्माण गर्नुभयो, धम्जाका वडाअध्यक्ष श्रीषले भने, ‘बाँकी रहेका भौतिक पूर्वाधारको निर्माणमा पनि दुई जिल्लाका दुवै वडाको समान सहभागिता र समान स्वामित्व रहनेछ।‘

बेलढुंगा प्राकृतिक सौन्दर्यावलोकनका लागि मात्रै होइन आध्यात्मिक चिन्तनका लागि पनि उपयुक्त स्थान भएको बेलढुंगा नजिकै रहेको १२ वर्षसम्म स्वर्गाश्रममा ध्यान र आध्यात्मिक चिन्तन गरेर वस्नुभएकी तपस्वीनि ईश्वरानन्द सरस्वतिले बताइन्।

‘नाम सुनेको थिएँ,तर यति आनन्द आउने ठाउँ होला भनेर कल्पना पनि गरेको थिएन, पहिलोपटक बागलुङको लामेलाबाट बेलढुंगामा आएका दीपक घर्तीले भने ‘यहाँबाट हिमाल,पहाड,गाउँवस्ती,बनजंगल, नदी झरना, बजार, वनस्पति, वन्यजन्तु र सूर्योदय तथा सूर्यास्तको दृश्य एकैठाउँबाट देख्द सकिने रहेछ।

बेलढुंगाको शिरसम्म पदमार्ग

एकवर्ष अघिसम्म बेलढुंगाको फेदमा रहेको वेसी चौतारीदेखि बेलढुंगाको शिरमा पुग्न निकै जोखिम थियो। अक्करे भीरमा बुट्यान र लहरामा झुण्डिदै बेलढुंगाको फेददेखि शिरसम्म पुग्न निकै दुःख हुन्थ्यो। तर अहिले सुविधायुक्त सिंढी (पदमार्ग) बनेपछि निकै सहज भएको बेलढुंगामा हरेक वर्ष पुग्ने गरेका म्याग्दीका पत्रकार हरिकृष्ण गौतमले बताए।

म्याग्दीको सीमानातर्फ स्वर्गाश्रमदेखि बेसी चौतारीसम्म वेनी नगरपालिका-३ को करिब ४ लाख र त्यहाँदेखि बेलढुंगासम्म दुवै वडाको २/२ लाख रुपैयाँको गरी करिब ८ लाखको लागतमा पदमार्ग निर्माण गरिएको छ। ढुंगा बिच्छ्याएर आकर्षक तरिकाले निर्माण गरिएको पदमार्ग हुँदै स्वर्गाश्रमबाट करिब एक घण्टाको उकालो छिचोलेपछि बेलढुंगा पुग्न सकिन्छ।

भ्युटावर बनाउने योजना

हुन त अग्ला अग्ला पहाडहरु आफैँमा प्राकृतिक भ्युटावर हुन्। त्यहाँसम्म पुग्न सक्ने हो भने दृश्यावलोकनका लागि कुनै अन्य माध्यमको आवश्यकता पर्दैन। तैपनि आनन्दले बसेर प्राकृतिक सौन्दर्यको रसस्वादन गर्नका लागि दुवै वडाले संयुक्त लगानीमा बेलढुंगाको शिखरमा भ्युटावर निर्माण गर्ने योजना बनाएका छन्।

‘बेलढुंगामा आउने पर्यटकहरुले सुविस्ताले बसेर दृश्यावलोकन गर्नका लागि भ्युटावरको चाहना राखेका छन्, काठेखोला ३ धम्जाका वडाअध्यक्ष श्रीषले भने‘पर्यटकहरुको चाहनालाई मध्यनजर गर्दै भ्यूटावर निर्माण गर्ने योजना बनाएका हौं।

श्रीषको भनाइसँग बेनी नगरपालिका ३ भकिम्लीका वडाअध्यक्ष पदम पुन पनि सहमत छन्। नगरपालिकाले वडालाई सीमित बजेट दिनेहुँदा हामीले पर्यटन विकासमा धेरै लगानी गर्न सकेका छैनौं, उनले भने ‘तैपनि आगामी आर्थिक वर्षमा अरु क्षेत्रमा कटौति गरेर भएपनि पर्यटन विकासको क्षेत्रमा केही बढी काम गर्ने छौं।‘

सौहार्दतापूर्ण सम्बन्ध

साँध सीमानाको विषयलाई लिएर दाजुभाइ, छरछिमेकीदेखि लिएर वल्लो गाउँ र पल्लो गाउँ, एउटा जिल्ला र अर्को जिल्ला अनि एक देश र अर्को देशका बीचमा विवाद, झगडा र युद्धसमेत हुने गरेका प्रशस्तै उदाहरणहरु छन्। तर, म्याग्दी र बागलुङ जिल्लाको साँधमा रहेको महत्वपूर्ण पर्यटकीय स्थल बेलढुंगाको विषयमा भने दुवै जिल्लाका दुईवटै वडावासीका विचमा सौहार्दपूर्ण सम्वन्ध रहेको छ।

दुवै वडाले समान योगदान दिने र त्यसको प्रतिफल पनि समानरुपमा लिने दुवै जिल्लाका दुईवटै वडाका वासिन्दा र जनप्रतिनिधिविच सम्झौता भएको छ। वडाअध्यक्ष पुन भन्छन्  ‘सीमाको विषयलाई लिएर हामीहरु (दुई वडाका प्रतिनिधि) विच कहिल्यै पनि कुनै किसिमको विवाद भएन। प्रकृतिको अनुपम उपहार यस्ता सम्पदाहरुबाट सवैले लाभ लिनुपर्छ भन्ने हाम्रो मान्यता रहेकोले दुवै वडा मिलेर यसको विकासमा लागेका हौं।‘

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.