|

योगेन्द्र योगी 

दोहा : कतारका लागि नेपाली राजदूत डा. नारदनाथ भारद्वाज वाग्लेले पछिल्लो समय नेपाली समुदायबाट कतारको मूल्य मान्यता विपरित काम भइरहेको बताएका छन्। उनले कतारको कानुनलाई सम्मान गर्न पनि आग्रह गरेका छन्।

गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् कतारले दशैँ, दीपावली, नेपाल सम्बत ११४०, छठ पर्व, बलिनाङ तङ्नाम लगायतका पर्वहरुको उपलक्ष्यमा गरेको शुभकामना आदानप्रदान कार्यक्रम बोल्दै राजदूत भारद्वाजले युरोप लैजाने प्रलोभनमा नेपाली अलपत्र पारेको घटनाप्रति आफू गम्भीर रहेको बताए। उनले यस्तो अपराधमा सलग्न जो कोही भएपनि कारवाही गरिने बताए। 

केही समयअघि नेपालबाट पोल्याण्ड लगायतका युरोपेली मुलुकहरुमा पठाइदिने भनी नेपाली नागरिकलाई कतार ल्याई अलपत्र पारेको खबर सार्वजनिक भएको थियो। दलालहरूले ठूलो रकम असुलेर सम्पर्कमा नरहने गरेको गुनासो दुतावासमा आएको थियो। 

यता आर्थिक रुपमा उदाउँदो शक्ति कतारले आफ्नो देशमा कार्यरत श्रमिकको हितमा धेरै कानुन निर्माण गरेको राजदूत भारद्वाजको भनाइ थियो। 

नेपाल सरकारले घोषणा गरेको भ्रमण वर्ष सन् २०२० लाई सफल बनाउन कतारका सम्पूर्ण नेपालीलाई प्रतिवद्ध भएर लाग्नसमेत उनले अनुरोध गरेका छन्।

पछिल्लो समय नेपालले तीव्र आर्थिक विकास गरिरहेको भन्दै अब प्राविधिक शिक्षामा जोड दिनुपर्ने र त्यसको लागि प्रवासी नेपालीले सिकेको सीप र आर्जित पुँजीले ठोस परियोजना चलाउनुपर्ने राजदूत भारद्वाजले जोड दिए।   

कार्यक्रम गैरआवासीय नेपाली संघ कतारका अध्यक्ष मोहम्मद मुक्तदा मुसलमानको अध्यक्षतामा भएको एनआरएनएनए कतारका प्रवक्ता सन्तोष क्षत्रीले जानकारी दिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.