थाहा संवाद

हामीले नाटक लेख्‍न नै सिक्नुपर्छ

कात्तिक २३, २०७६

    काठमाडौं : नेपाली रंगकर्ममा एउटा परिचित नाम हो प्रविन खतिवडा। तीन दर्जन नाटक र एक दर्जन चलचित्रमा अभिनय गरिसकेका खतिवडाले केही समय अघि मिमाशां नाटक निर्देशन गरे।

    उनको नयाँ नाटक छिट्टै मञ्चन हुने तयारीमा छ। उनी नेपाली नाटकमा वि.स‌ं. २०५९ साल देखि अनवरत लागिरहेका छन्। नाटक नै आफ्नो जीवन रहेको खतिवडा बताउँछन्। 

    उनले १२ औं पटक नाटक निर्देशन गरिसकेका छन्। राष्ट्रिय नाचघरमा भेटिएका खतिवडासँग नेपाली नाटकको अवस्था र परिवेशबारे थाहाखबरकर्मी राजु पौडेलले गरेको कुराकानी  :

    विज्ञान, पत्रकारिता त्यसपछि रंगमञ्च। यति धेरै विकल्पमध्ये रंगमञ्च नै तपाईंका लागि उत्तम किन लाग्यो?

    एसएलसीमा राम्रो अंक ल्याएकाले साइन्स पढ्छ होला भन्‍ने बुबाआमाको आशा थियो। पाइलट बन्छ भन्‍ने सपना थियो। पहिलो वर्षको रिजल्टले मेरो साइन्सको बाटो पत्ता लाग्यो। दाइ पत्रकारितामा हुनुहुन्थ्यो। त्यसपछि दाइको पथमा म लागेँ। पत्रकारिता पढ्न थालियो। त्यसबेला सगरमाथा एफएम र कान्तिपुरमा 'ट्रेण्डिङ' पनि गरियो।  त्यही सिलसिलामा नाटक हेर्न जान्थेँ। त्यहाँ 'अग्निको कथा' हेर्दा रंगमञ्चले मलाई पुरै त्यसैतिर आकर्षित गरेको हो।  मैले खोजेको जिन्दगी रंगमञ्चमा भेटेको हुँ।

    विराटनगरबाट नाइट बस चढ्दा काठमाडौंमा रंगकर्मी बन्छु भन्‍ने थियो?

    थिएन। यो चाहिँ संयोग र जिन्दगीले सिकाउँदै जाँदा नाटकमा आएको हुँ। स्कुल पढ्दाताका नाटक गरे पनि त्यो बेला  गरेको नाटक मैले भुले पनि गाउँका अभिभावकले सम्झाउनुहुन्छ। यसको मतलब त्यही बेलादेखि नाटकमा रहर रहेछ भन्‍ने लाग्छ। र,आफैंलाई भन्‍नुपर्दा  यो विषयमा पढ्‍न पाइए व्यावसायिक बनाउन सकिने रहेछ भन्‍ने कुरा गुरूकुल आएर थाहा पाएको हुँ।

    मण्डलामा रिहर्सल गर्दैहुनुहुन्छ। काठमाडौंमा नाटक हुन्छ भन्‍नेबारे केही जानकारी थियो?

    नाटक घर र नाटकबारे त्यस्तो कुनै चर्चा सुनेको थिइन।

    नाटकमा के कुराले आकर्षित गर्‍यो?

    नाटकमा जिन्दगीको अनुभव गर्न पाइन्छ। जिन्दगी जिउने अभ्यास कलात्मक तरिकाले गर्न पाइन्छ। यही लोभले रंगमञ्चतिर  तानिएको हुँ।  

    यसको मतलव तपाईंका लागि  जिन्दगी र नाटक उस्तै हुन्?

    ठ्याक्कै उस्तै होइन। तर धेरै कुरा मिल्न जान्छ।

    दर्शकका लागि नाटक केवल रंगीचंगी प्रकाश, बन्दकोठा भित्रका झकिझकाऊ र कलाकारको अभिनय हुन सक्ला। तपाईंको लागि नाटक केहो?

    अघिल्लो  प्रश्नमा नाटक जीवन जस्तो होइन भनेपनि  नाटकमा जिन्दगी भोग्‍न पाउने भएकाले मेरा लागि केही हदसम्म नाटक जीवन हो। चाहे अभिनयबाट होस् वा प्रकाशद्वारा हरेक सामानले आफ्नो जीवन बोलेको हुन्छ। 

    नाटकको सैद्धान्तिक पक्षबारे तपाईंको बुझाई?

    मैले व्यक्तिगत रूपमा भन्नुपर्दा सन्तुष्टि मिलेको छ। जिन्दगीदेखि हरेस खाए पनि मञ्चमा टेकेपछि ऊर्जा प्राप्त हुन्छ। सबैभन्दा ठूलो कुरा त अगाडि बढ्न नै नाटकले प्रेरित गर्छ। 

    उत्प्रेरणा जगाउन महत्वपूर्ण भूमिका अभिनयले गर्छ कि दर्शकले?

    विचारले गर्छ। विचारको प्रभुत्व भएर जुनसुकै मञ्चमा उभिएपछि त्यसको प्रभाव दर्शकलाई पनि पर्छ। दर्शकको प्रभाव कलाकारलाई पनि पर्छ। चाहे 'फन्टुस' नाटक नै किन नहोस्, विचार नै रंगमञ्चको  महत्वपूर्ण पक्ष हो।

    आफूभित्रको निर्देशकीय ( मिमांशा लगायत नाटक) र कलाकारिताको क्षमता कस्तो पाउनुहुन्छ?

    कलाकार मञ्चमा देखिन्छ। तर हरेक नाटकको मियो नै निर्देशक हो। एउटा कलाकारले आफ्नो भूमिकामात्र खेले पुग्छ। निर्देशक हरेक कलाकारको पात्रको अभिनय गर्छ। हरेक पाटोमा निर्देशक हुनु आफैमा गार्हो छ। फरक फरक समयमा आफूलाई फरक फरक तरिकाले मूल्याङ्कन गर्छु।

    भन्‍नाले?

    म हरेक नाटक दर्शकको रूपमा मूल्यांकन गर्छु। यसरी हेर्दा कुनै नाटकमा मेरो कलाकारिताको क्षमता बढी देख्छु भने कुनैमा निर्देशकीय क्षमता बढी देख्छु।

    नेपाली साहित्यमा नाटक लेखनको अवस्था कस्तो छ?

    नाटक हिजो पनि कम लेखिए। आज पनि कम लेखिएका छन्। हाम्रो लेखन कच्चा छ। विदेशी नाटक मञ्चन गर्दा यहाँ मजाले  चल्छ। किनभने उनीहरूको नाटकमा हरेक पक्ष पूर्ण हुन्छ। समाज चित्रण र राजनीति सुहाउँदो छ। परिपक्कता विदेशी नाटकको सुन्दर पक्ष हो। हामीले नाटक लेख्‍न नै सिक्नुपर्छ। 

    पहिलो नाटक 'अग्निको कथा" मा लिड रोल संयोग कि भाग्य?

    तत्कालीन अवस्थामा गुरूकुलमा म १३औँ खेलाडीको रूपमा चिनिन्थेँ। कोही कलाकार उपस्थित हुन नसक्दा काम लाग्‍ने। कुनै साथीले अभिनय गर्न नमाने मेरो भागमा आउने गर्थ्यो (लामो हाँसो)

    यसलाई दुई तरिकाबाट हेर्छु म। साथीहरूको नजरबाट हेर्दा भाग्य जस्तो लाग्छ। किनभने म भन्दा अगाडी गुरूकुलमा संघर्ष गर्दा पनि मुख्य भूमिका पाउनु भएको थिएन्। म गुरूकुल गएको बीस दिन भित्र नै उक्त पात्रको अभिनय गर्न पाएँ। आफ्नै नजरबाट हेर्दा चाहिँ गुरूकुल भित्रका साथीहरूको भन्दा केही क्षमता मसँग पो थियो कि भन्‍ने लाग्छ।

    तीन दर्जन नाटक र एक दर्जन फिल्म खेल्दा सन्तुष्टि बढ्दो छ कि त्यो ऊर्जा सकिदैँछ?

    मैले एउटा फिल्म खेल्दा वा नाटक गर्दा केही तृप्त भएजस्तो लागे पनि म चलचित्र र रंगकर्मबाट नै मूलको खोजीमा छु। मैले मेरो कथा आफैले भन्‍नुपर्छ भन्‍ने लागिरहेको छ। आफ्नो कथा भन्‍न आफैं अगाडि आउनुपर्छ । मैले आफ्नो कथा भनिन भने मेरो कथा कसैले भन्‍नेवाला पनि त छैन। यो भनेको ऊर्जा थपिँदै गएको अवस्था हो।

    अर्थोपार्जनका लागि चलचित्र र अभिनयका लागि नाटक' भन्छन्। यो भनाईमा कति सत्यता छ?

    केही हदसम्म सही हो। सिनेमाले क्षणिक 'इकोनोमिक क्राइसिस' हटाउँछ। नाटकबाट अथोपार्जन नभए पनि अरू धेरै फाइदा छन्। रंगमंचले कलाकार दर्शकबीच सामिप्यता बढाउँछ। तर सिनेमाले त्यो कार्य गर्न सक्दैन। नाटकबाट थोरै पैसा आएपनि नजिकबाट आउँछ। आत्मीय आएर आउँछ।

    नाटक बन्‍ने क्रम तीव्र भए पनि व्यावसियक हुन नसक्नुको कारण के होला?

    नेपालको व्यावसायिक रंगमंचको यात्रा घुम्दै फिर्दै गुरूकुलमा गएर ठोकिन्छ। रंगकर्मी सुनिल पोखरेलले त्यसबेला साहस नगरेको भए अहिले नाटक हलहरू बन्‍ने थिएनन् होला। हल बने पनि दर्शकको संख्या बढ्न सकेको छैन। हामीले बजार बिस्तार गर्न सकेका छैनौं।

    जुनबेला व्यावसियक नाटकको कुरा आयो, त्यसबेला क्षमतावान अग्रजहरू हुनुहुन्थ्यो। उहाँहरू जस्तो क्षमता अहिलेका पुस्तामा देखिएन। नाटकको संख्यामा बढे पनि नाटकको सुन्दरतामा वृद्धि हुन सकेको छैन। किनभने हामी दक्ष हुन सकेनौं।

    पछिल्लो पुस्ता दक्ष बन्‍न के गर्नुपर्ला?

    अध्ययन गर्नुपर्छ। अध्ययनले सिकाएको सिपलाई प्रयोग गर्नुपर्छ। सबैभन्दा ठूलो कुरा धैर्यता टुटाउनु भएन।  

     व्यावसायिक नहुँदा पनि कुन तत्वले यस क्षेत्रमा टिक्नु भएको छ?

    भोलिका दिनमा राम्रो काम गर्न सक्छु कि भन्‍ने अभिलाषाले यस क्षेत्रमा टिकिरहेको छु। यो क्षेत्रमा आफूलाई खोज्‍न छोडेको छैन। केही काम गरेँ भने नयाँ कुरा सिक्छु र सिकाएर छोड्छु भन्‍ने घमण्डले टिकिरहेको छु।

    विदेशी नाटक र यहाँको नाटकको तुलना कसरी गर्नुहुन्छ?

    विदेशीहरू अलि बढी प्रविधिमैत्री भए भन्‍ने पनि लाग्छ। हामी अभावमा सिर्जना गरिरहेका छौं भन्‍ने बुझाइ हो। कहिलेकाहिँ हामीसँग नाटकमा हुनुपर्ने आधारभूत तत्व छैन भन्‍ने लाग्छ। सबैभन्दा बढी खड्किने भनेको हाम्रो नाटकमा विचार बोल्दैन। 

    कहाँ छौं हामी? हाम्रो नाटकको अवस्था कस्तो छ?

    हामी यहीँ छौं, हाम्रो नाटक यहीँ छ। यसलाई माथि उठाउनेबारे कसैसँग योजना छैन। देशको राजनीतिक उतारचढावले पनि हामी माथि उठ्न सकेका छैनौं। देश सक्रमणकालीन अवस्थामा छ। देश नै व्यवस्थित छैन भने हामी कसरी व्यवस्थित हुन सक्छौं?

    राजनीतिले नाटकमा फरक पार्छ? कसरी?

    पार्छ। नाटक समाजसँग जोडिन्छ। समाज राजनीतिको मुख्य केन्द्र हो। नाटक कसरी अछुतो हुन सक्छ?

    रंगकर्मी सुनिल पोखरेल लामो समयदेखि रंगमंचमा हुनुहुन्छ। उहाँको तर्क छ, 'नाटक राम्रा बनेका छैनन्' म पुन: नाटकमा फर्कंदैछु' युवाहरूको कमजोरीका कारण उहाँले आराम नपाउने हो?

    गुरूकुल भत्किएयताका ८ वर्ष उहाँले आराम गर्नुभएको छ। अब उहाँको क्षमताबाट हामीले लिने हो। अब उहाँ नाटक खेल्नुहुन्छ। हामीले नयाँ नाटक गर्दैछौं। जसमा पोखरेल कार्ल मार्क्सको भूमिकामा हुनुहुन्छ। उहाँले मलाई केही जिम्मेवारी दिनु भएको छ। मैले पनि उहाँलाई अभिनयको जिम्मेवारी थुपार्दै छु। उहाँलाई आराम दिने त सोचेकै छेनौं। अन्तिम साससम्म उहाँ नाटकमै हुनुहुनेछ।

राजु पौडेल

पत्रकार पौडेल थाहा खबरमा कार्यरत छन्। उनी साहित्य तथा फिचर लेखनमा रुचि राख्छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]