धादिङ : २१ महिनामा बनिसक्नुपर्ने भवन ६ वर्षमा पनि बन्न सकेको छैन। ठेकेदारकै ढिलासुस्तीका कारण दूरसञ्चार शाखा धादिङको कार्यालय भवन ६ वर्ष बित्दा पनि नबनेको हो।
निर्माण कार्यको जिम्मा पाएको चाँदनी राम जे.भी. कन्ट्रक्सनले ढिलासुस्ती र लापरबाही गरेकोले भवनको काम अलपत्र परेको कार्यालय प्रमुख श्याममणि अर्यालले बताए।
निर्माणाधीन नेपाल टेलिकमको भवन चाँदनी राम जे.भी. कन्ट्रक्सनले २०७० साल चैत १८ गते नेपाल टेलिकम क्षेत्रीय निर्देशनालयसँग सम्झौता गरेको थियो। २०७१ साल वैशाख २ गतेबाट २१ महिनामा भवन सम्पन्न गर्नुपर्ने भए तापनि हालसम्म भवनले पूर्णता पाएको छैन। २ करोड २ लाख ४८ हजार ७ सय ८९ रूपैयाँ ७८ पैसाको लागतमा पक्की चार तल्ले भवन निर्माण गर्न सम्झौता थियो। भवन नबनेपछि कार्यालयले मासिक ८० हजार भाडा तिरेर बस्न बाध्य भएको छ। उपयुक्त स्थानमा कार्यालयको भवन नहुँदा कार्य सम्पादनमा समेत निकै समस्या उत्पन्न भएको अर्यालको भनाइ छ।
भवनको पिल्लर र ढलानको कामबाहेक अन्य काम नहुँदा संरचनाका सबै भाग भत्किन थालेको छ। पटकपटक म्याद थप गरेता पनि ठेकेदारले काम नगरेपछि नेपाल टेलिकम क्षेत्रीय निर्देशनालयमार्फत ठेक्का रद्ध गरेको थियो।
भवन बन्नुको साटो वरपर सडेगलेका वस्तुहरु थुप्रिएर थप समस्या भएको कार्यालय प्रमुख अर्यालको भनाइ छ। जिम्मेवारी निकायकै लापरबाहीले गर्दा आफूहरू सेवाबाट वञ्चित हुनुपरेको नागरिकहरुको गुनासो छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।