|

दार्चुला : बाह्र वर्षदेखि खन्‍न थालिएको दार्चुला-तिंकर सडकमा १ अर्ब ३३ करोड रुपैयाँ खर्च भइसकेको छ। तर अहिलेसम्म सदरमुकामबाट उत्तरतिर ४० किलोमिटर मात्रै यो सडकको ट्रयाक खुलेको छ। दार्चुला-तिंकर सडक कार्यालयको यो वर्षको योजनाले पनि तिंकरसम्म सडकको ट्रयाक खोलिनस्कने देखिएको छ। 

कार्यालयले यो वर्ष १९ किलोमिटर मात्रै नयाँ सडकको ट्रयाक खोल्ने तयारी गरेको छ। ‘प्राप्त रकमबाट यो वर्ष १९ किलोमिटर सडकको नयाँ ट्रयाक खोल्ने, ३५ किलोमिटर स्तरोन्नति गर्ने, २ पुल निर्माण सम्पन्न गर्ने र जग्गाको मुआब्जा वितरण गर्ने योजना रहेको छ’ दार्चुला तिंकर सडक कार्यालयका सूचना अधिकारी दिनेश रैखोला बताउँछन्।

सडकको ट्रयाक तिंकर पुग्न अझै ७५ किलोमिटर ट्रयाक खोल्न बाँकी रहेको छ। यो वर्ष महाकाली करिडोरका लागि ३२ करोड ६८ लाख मात्रै विनियोजन गरिएको छ।

१२ वर्षमा १ अर्ब बढी सकियो, सडक ४० किलोमिटर मात्रै

कालापानी क्षेत्र जोड्ने दार्चुला-तिंकर सडक निर्माण सुरु भएको १२ वर्ष भयो। अहिलेसम्म जम्मा ४० किलोमिटर मात्रै ट्रयाक खुल्न सकेको छ।

आर्थिक वर्ष २०६४/०६५ बाट निर्माण सुरु भएको नेपाल-चीन सिमा पिल्लरसम्म १ सय ३५ किलोमिटर बन्नुपर्ने सडकको दार्चुला सदरमुकामबाट उत्तरतिर ४० किलोमिटरसम्म मात्रै ट्रयाक खोल्न सकिएको हो।

कालापानीबाट करिव १२ किलोमिटर दक्षिणमा पर्ने व्याँस गाउँपालिका-१ छाङरु गाउँ पुग्न सडक अझै ६३ किलोमिटर सडक ट्रयाक खोल्न बाँकी नै छ भने सीमा क्षेत्र पुग्‍न ९५ किलोमिटर बाँकी छ।

गत आर्थिक वर्षमा दार्चुला सदरमुकामदेखि व्याँस गाउँपालिका-४ सुन्सेरासम्म (४० किलोमिटर) सडकको ट्रयाक निर्माण भएको थियो। सुन्सेराबाट कालापानी क्षेत्र ७५ किलोमिटर उत्तरमा पर्दछ।

गत वर्ष निर्माण अवधिकै सबैभन्दा बढी काम भएको तिंकर सडकमा २५ किलोमिटर ट्रयाक निर्माण भएको थियो। दार्चुलामा भने गत वर्ष पनि ८ किलोमिटर मात्रै ट्रयाक निर्माण भएको थियो। महाकाली करिडोरमा तिंरक सडक गाभिएपछि बढी काम भएको देखिए पनि कालापानी क्षेत्रसम्म पुग्‍न निर्माण गरिने सडकको काम भने कम भएको बताउँदै पत्रकार महासंघ दार्चुलाका अध्यक्ष शंकरसिह धामी भन्छन्, ‘करिडोरअन्तर्गत तिंकर सडक राखेर तिंकर जोड्ने काममा अझ ढिलाइ भएको देखिन्छ।’

गत वर्ष करिडोरअन्तर्गत बैतडीमा १२ र डडेल्धुरामा ५ किलोमिटर सडकको ट्रयाक खोलिएको थियो। त्यसैगरी गत वर्ष स्तरोन्नतिको काम पनि उल्लेख भएको दार्चुला तिंकर सडक कार्यालयका इन्जिनियर दिनेश रैखोला बताउँछन्। गत वर्ष दार्चुलामा २६ किलोमिटर स्तरोन्नतिको काम भएको थियो भने बैतडीमा ५ र डडेल्धुरामा ६ किलोमिटर सडक स्तरोन्नति भएको थियो।

सरकारले तिंकरभन्दा करिडोरलाई प्राथमिकता दियो

सरकारले प्राथमिकता नै नतोकी तिंरक सडकलाई करिडोरमा परिणत गरेर कालापानी क्षेत्रसम्म सडक पुर्‍याउने काममा बिलम्ब गराएको नागरिक अगुवाहरूको भनाई छ। ‘यहाँको आवश्यकता तिंकरसम्म सडक बनोस् भन्ने थियो। तर, सरकारले करिडोरमा मिसाएर सडक निर्माणमा बिलम्ब मात्रै भएको छैन, सडकै नबन्ने हो कि भन्ने आशंका पनि उब्जिएको छ’ उद्योग वाणिज्य संघ दार्चुलाका अध्यक्ष मंगलसिह ठगुन्ना भन्छन्।

सञ्चालनमा रहेको महाकाली लोकमार्गभन्दा दूरीमा खासै भिन्नता नभएको महाकाली करिडोर निर्माण कार्यले केही पालिकाहरूलाई थप सडक सञ्जालमा ल्याए पनि तिंकर जोड्ने काममा बिलम्ब ल्याएको पत्रकार महासंघ दार्चुलाका अध्यक्ष धामीको भनाइ छ। ‘रकम खर्च अन्यत्रै भएको छ, जिल्ला सदरमुकामबाट उत्तरतिर खासै सडक बन्न सकेको छैन’ उनले भने।

‘तिंकर जोड्ने सडक अलिहेसम्म निर्माण सम्पन्न भएको भए कालापानी क्षेत्रमा सैनिक उपस्थिति गराउन सजिलो हुनेथियो’ भन्छन् जिल्ला समन्वय समितिका उपप्रमुख कृष्णसिह धामी। उनी सरकारले नै प्राथमिकताका साथ यो सडक निर्माण गर्न यथेस्ट बजेट विनियोजन गर्नु पर्ने बताउँछन्। ‘तिंरक पुग्ने सडक  प्रथामिकताका साथ निर्माण गरी उत्तरी सीमानामा सुरक्षाकर्मी उपस्थित गराइनु पर्छ’ उपप्रमख धामीको भनाइ छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.