बैतडी : हिन्दू नेपालीहरुको दोश्रो ठूलो चाड तिहारपछि बैतडीसहित सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा सुरु भएका जात्राहरू समापन भएका छन्। भाइटीकादेखि सुरु भएका जात्राहरू मंगलबार सम्पन्न भएका हुन्।
कात्तिक शुक्ल पक्षभरी विभिन्न मन्दिर तथा शक्तिपीठहरूमा लाग्ने जात्राहरूमा कात्तिक शुक्ल पूर्णिमाका दिन समापन हुने गर्दछन्। कात्तिक शुक्लपक्षमा सुदूरपहाडमा जात्रा लाग्ने र यी जात्राहरूको आफ्नै महत्व हुने गर्दछ। केही शक्तिपीठहरूमा बलिसहित पूजाआजा पनि भएको छ।
शरद ऋतुमा शक्तिको उपासना गर्ने प्रचलन रहेकाले कात्तिक शुक्ल पक्षमा देवीदेवताका मन्दिरहरूमा जात्रा लाग्ने गरेको संस्कृतिका जानकार आचार्य घनश्याम लेखकले बताए। कात्तिक शुक्ल पक्षमा बैतडीका प्रसिद्ध त्रिपुरासुन्दरी, मेलौली भगवती, फाल्ङासैनी भगवती मन्दिरमा जात्रा लाग्ने गर्दछ। यस्तै, रौलाकेदार, जगन्नाथ, शिवनाथ, सिगासधुरा, महारुद्र, भिटाकेदार लगायतका मन्दिरहरूमा पनि जात्रा लाग्ने गर्दछ।
यी जात्राहरूमा बसाइँसराइ गरेर गएकाहरूमा पनि थातथलोमा फर्किने भएकाले पारिवारिक र सामाजिक मिलनका पर्वका रूपमा मान्न सकिने स्थानीय गणेशसिंह थापाले जानकारी दिए। जात्राका बेला पारिवारिक भेटघाट हुने र धार्मिक हिसाबले पनि जात्राहरू महत्त्वपूर्ण हुने गरेका छन्। यसका साथै जात्राका समयमा भारतीय दर्शनार्थीहरू पनि आउने भएकाले पर्यटकीय हिसाबले पनि यी जात्राहरू महत्पूर्ण हुने गरेका छन्।
यसैबीच बैतडीको प्रसिद्ध मेलौली भगवती मन्दिर तथा सुर्नयास्थित फाल्ङासैनी भगवती मन्दिरमा सोमबारदेखि लागेका जात्रा मंगलवार सम्पन्न भएका छन्। मेलौलीमा ९० रांगाको बलि गरिएको छ भने सुर्नयामा रहेका फाल्ङासैनी भगवती मन्दिरमा ९ रांगाको बलि दिने गरिएको छ। जात्रालाई शान्तपूर्ण रूपमा सम्पन्न गर्न दुवै ठाउँलाई मदिरा निषेधित क्षेत्र घोषणा गरिएको थियो।
यस्तै, राष्ट्रकै सातौँ धामको रूपमा रहेको दार्चुलाको शैल्यशिखर मालिकार्जुन मन्दिरमा पनि मंगलबार सम्पन्न भएको छ। यस्तै, डडेल्धुराको प्रसिद्ध उग्रतारा मन्दिरमा पनि देहिजात सम्पन्न भएको उग्रतार क्षेत्र विकास समितिले जनाएको छ। उता, डोटीको बडीकेदार जात्रा पनि सम्पन्न भएको छ।
देशका अन्य भागका साथै यो क्षेत्रमा नवरात्रिको बेला मन्दिरहरूमा पूजाआजा हुने भए पनि कात्तिक शुक्ल पक्षमा समेत धेरै जात्रा तथा मेला हुने गरेका छन्। स्थानीय भाषामा गुटे नवरात्र भनेर कात्तिक शुक्ल पक्षलाई लिइने गरिएको पण्डित दयाकृष्ण पन्तले जानकारी दिए।
यहाँ रहेका विभिन्न मन्दिरहरूमा रात्रि जात्रा सुरु भएसँगै जिल्लाका ग्रामीण वस्तीहरू दमाहा बाँजाले गुन्जिने गरेका छन्। यस्ता जात्राहरूले सरकारले घोषणा गरेको नेपाल भ्रमण वर्ष २०२० लाई समेत सहयोग पुग्ने विश्वास गरिएको छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।