|

पाँचथर : आगामी मंसिर १४ गते हुने उपनिर्वाचनका लागि पाँचथरको फाल्गुनन्द गाउँपालिकामा आठ पार्टीका उम्मेदवारले मनोनयन दर्ता गराएका छन्। गाउँपालिका अध्यक्ष पदका लागि हुने निर्वाचनमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बाट वीरबहादुर कुरुम्बाङ, नेपाली कांग्रेसबाट बृजहाङ आङ्देम्बे र समाजवादी पार्टी नेपालबाट विमला आङ्देम्बेले मनोनयन दर्ता गराएका हुन्।

राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालबाट ससुहाङ चेम्जोङ, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च सम्बद्ध संघीय लिम्बुवान मञ्चबाट जीतेन चेम्जोङ, राष्ट्रिय जनमुक्ति पार्टीबाट इञ्छाबहादुर चेम्जोङ र राप्रपा संयुक्तबाट मोतिप्रसाद लिम्बूले मनोनयन दर्ता गराएका हुन्। मंगोल नेश्नल अर्गनाइजेसनबाट उदय सुनुवारले पनि अध्यक्ष पदमा मनोनयन दर्ता गराएको निर्वाचन अधिकृत नवराज दुलालले जानकारी दिए।

निर्वाचन अधिकृतको कार्यालय रहेको फाल्गुनन्द गाउँपालिकाको केन्द्र घुर्बिसे पञ्चमी बजारमा सांस्कृतिक झाँकी र नाराबाजीसहित तामझामका साथ पुगेर उम्मेदवारले मनोनयन दर्ता गराएका थिए। उम्मेदवार मनोनयन दर्ताको समय बिहान १० बजेदेखि १ बजेसम्मको तोकिएको थियो। गाउँपालिकाका अध्यक्ष अमरकुमार नेम्वाङको निधन भएपछि उपनिर्वाचन हुन लागेको हो। उनी नेपाली कांग्रेसबाट अध्यक्ष पदमा निर्वाचित भएका थिए।

जिल्लाको फिदिम नगरपालिका-१ मा नेकपा कम्युनिष्ट पार्टी (नेकपा) का उम्मेदवार गजाधर भट्टराई, नेपाली कांग्रेसका उम्मेदवार सुवराज थापा, समाजवादी पार्टी नेपालका उम्मेदवार गौरव लामा, राप्रपा नेपालका उम्मेदवार मिलन गिरी र राप्रपा संयुक्तकी उम्मेदवार कल्पना राईले फिदिमस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेर मनोनयन दर्ता गराएका छन्।

संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च सम्बद्ध संघीय लिम्बुवान मञ्चका उम्मेदवार वीरबहादुर केरुङ र राप्रपा लोकतान्त्रिककी उम्मेदवार जानुका थाम्सुहाङले पनि अध्यक्ष पदका मनोनयन दर्ता गराएको मुख्य निर्वाचन अधिकृत मोहनराज भट्टराईले जानकारी दिए।

जिल्लाकै हिलिहाङ गाउँपालिका-१ को अध्यक्ष पदका लागि भने नेपाल कम्युनिष्ट पार्टीका उम्मेदवार गेहनाथ रिजाल, नेपाल कांग्रेसका उम्मेदवार तिलबिक्रम इधिङ्गो, राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार तुलप्रसाद पन्धाक, समाजवादी पार्टी नेपालका उम्मेदवार भुवानप्रसाद लिम्बू, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च सम्बद्ध संघीय लिम्बुवान मञ्चका उम्मेदवार धनबहादुर थाम्सुहाङ र राप्रपा संयुक्तका उम्मेदवार मुक्तिनाथ खनालले पनि मनोनयन दर्ता गराएका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.