बैतडी : बैतडीको डिलाशैनी गाउँपालिकाका युवाले संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितलाई भेटेर ज्ञापनपत्र बुझाएका छन्। डिलाशैनी गाउँपालिकाको स्थायी केन्द्र सञ्चालन गर्ने विषयमा आन्दोलनरत युवाले ज्ञापन बुझाएका हुन्।
सोमबार मन्त्री पण्डितको कार्यकक्षमा गएर डिलाशैनी संघर्ष समितिका संयोजक जयराज जोशी लगायतका युवाले डिलाशैनी गाउँपालिकाको तोकिएको केन्द्र ( वडा नं ७ तथा साविकको डिलाशैनी गाविस) मा कार्यालय सञ्चालन नभई वडा नं ३ मा कार्यालय सञ्चालन भइरहेको विषयमा मन्त्रीको ध्यानाकर्षण समेत गराएका छन्।
मन्त्री पण्डितलाई बुझाएको ज्ञापन पत्रमा स्थायी केन्द्र स्थापनाका लागि गाउँपालिकाले अनुरोध गरे वडा नं ७ का बासिन्दाले ८० रोपनी जमिन उपलब्ध गराइसकेको उल्लेख गरिएको छ। पछिल्लो समयमा गाउँपालिकाको केन्द्र सार्ने चलखेल भइरहेकाले गाउँ कार्यपालिकाको पहिलो बैठकले गरेको निर्णयसहित केन्द्रका बारेमा मन्त्री पण्डितको ध्यानाकर्षण गराएको संघर्ष समितिका संयोजक जोशीले बताए।
ज्ञापनपत्र बुझ्दै मन्त्री पण्डितले आफूले तत्काल पहल गर्ने आश्वासन दिएको संयोजक जोशीले बताए। मन्त्री पण्डितलाई ज्ञापन पत्र बुझाउन संघर्ष समितिका संयोजक जयराज जोशी, उपेन्द्रविक्रम पुरुष, हरिप्रसाद जोशी, प्रकाशमणि भट्ट लगायतका युवाको सहभागिता रहेको थियो।
राज्य पुनसंरचना हुँदा गाउँपालिकाको केन्द्र साविकको डिलाशैनी गाविस तोकेको भए पनि गत भदौ २५ गतेको गाउँ कार्यपालिकाको बैठकले केन्द्र छनोटका लागि बिज्ञ टोली बोलाउने निर्णय गरेको थियो।
गाउँपालिकाले बिज्ञ टोली बोलाउने निर्णय गरेसँगै स्थानीय युवा अन्दोलित भएका थिए। संघर्ष समिति नै गठन गरी आन्दोलन गरिरहेका वडा नं ४ र वडा नं ७ का युवाले आन्दोलित भएका थिए।
यसअघि उनीहरूले असोज पहिलो साता २ दिन दुइवटै वडा कार्यालयसहित कार्यालयभित्र रहेका सम्पूर्ण सरकारी कार्यालयमा तालाबन्दी गरेका थिए। यसका साथै आन्दोलित युवाले डिलाशैनी गाउँपालिकाको सम्पर्क कार्यालय, जिल्ला प्रशासन कार्यालय, जिल्ला समन्वय समिति बैतडीमा ज्ञापनपत्र समेत बुझाएका थिए।
गाउँपालिका केन्द्र छनोट गर्न १२ लाख ५० हजार
बैतडीको डिलाशैनी गाउँपालिकाको केन्द्रको उपयुक्त स्थान छनोट गर्न १२ लाख बढी बजेट छुट्याइएको छ। गाउँपालिका केन्द्रको लागि उपयुक्त स्थान छनोट गर्न बिज्ञ टोली बोलाउन १२ लाख ५० हजार रकम बिनियोजन गरिएको गाउँपालिका अध्यक्ष उकेन्द्र बोहराले जानकारी दिए। सामाजिक अध्ययन र पूर्वाधारको अध्ययनको लागी बिज्ञ टोली बोलाउने गाउँ कार्यपालिकाको बैठकले गरेको हो। उनले भने,'भविष्यसम्मको लागि उपयुक्त स्थानमा केन्द्र छनोट हुन्छ।'
उक्त विज्ञ टोलीले गाउँपालिकाभरि भगर्व तथा भुगोलको अध्ययन गर्नुका साथै बिपद्को जोखिमका बारेमा पनि अध्ययन गर्ने गाउँपालिका अध्यक्ष बोहराको भनाई छ। बिज्ञ टोलीले गाउँपालिकाभित्र सामाजिक र पूर्वाधारको अध्ययन गरी टोलीले बुझाएको प्रतिवेदनका आधारमा गाउँसभाले निर्णयले गर्ने जनाइएको छ।
राज्य पुनसंरचना हुँदा सविकको डिलाशैनी गाविस (हालको वडा नं ७) मा गाउँपालिका केन्द्र तोकिएको र त्यसपश्चात गाउँ कार्यपालिकाको पहिलो बैठकले पनि डिलाशैनी गाविसभित्र उपयुक्त स्थान छनोट गर्ने निर्णय गरेको थियो।
गएको १ वर्षदेखि तोकिएको केन्द्र भन्दा बाहिर सम्पर्क केन्द्र राखेर गाउँपालिकाले कामकाज गरिरहेको छ। गाउँपालिका ७ मा केन्द्र तोकिएको भए पनि वडा नं ३ पंसेरावाट कामकाज भइरहेको छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।