|

कञ्चनपुर : कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका ६ कसरौलका प्रवेश रानाले विदेशबाट फर्केर भैँसी फार्म सञ्चालन गरी आम्दानी गर्दै आएका छन्। रोजगारीका लागि छ वर्ष कतारमा बिताएका रानाले केही बचत गरेको रकम र केही लघुवित्त संस्थाबाट ऋण लिएर भैँसी फार्म सञ्चालन गरेका हुन्।

भैँसी फार्म सञ्चालनका लागि ३५ लाख रुपैयाँ बढी उनले लगानी गरेका छन्। पाँच वर्ष अघिबाट सञ्चालित फार्ममा मुर्राजातका १० वटा भैँसी र छ वटा पाडापाडी छन्। जसमध्ये पाँचवटा भैँसीले दैनिक २२ लिटर दूध दिने गरेका छन्। भीमदत्तनगरमा सञ्चालित आफ्नै डेरीमा उत्पादित दूध बिक्री गर्दै आएको रानाले बताए।

'फार्मका भैँसीको उत्पादित दूधबाट मात्रै वार्षिकरूपमा चार लाख बढी आम्दानी हुने गरेको छ,' उनले भने, ‘दूध बिक्रीबाट आएको रकमको आधाजति भैँसीका लागि दाना र औषोपचारमा खर्च हुने गरेको छ।’

बाँकी रहेको रकम बालबालिकाको विद्यालय खर्च, लघुवित्त संस्थाबाट लिइएको ऋणको व्याज, किस्ताबापतको रकम तिर्न र घर खर्चमा लाग्ने गरेको उनले बताए। दुई महिना अघि सञ्चालन गरिएको डेरीबाट मासिकरूपमा १० हजार रुपैयाँ उनले आम्दानी गर्दै आएका छन्।

'गत वर्ष फार्ममा २५ वटा भैँसी थिएँ। दूध दिने भैँसीको संख्यासमेत बढी थियो' उनले भने, ‘आम्दानी पनि बढी थियो। खोरेतलगायतको रोगको संक्रमण हुन थालेपछि फार्मका आधा बढी भैँसी बेच्नु पर्‍यो। त्यसैले आम्दानी घटेको छ।'

अझै फार्ममा उन्नत नश्लका भैँसी थप्ने योजना उनले बनाए। 'भैँसी बढी हुँदा रेखदेख दानपानी, घाँस र सरसफाइका लागि कामदारको व्यवस्था गरेका थियौँ', उनले भने, ‘हाल भैँसीको संख्या थोरै भएकाले घरपरिवारले नै रेखदेख गर्दै आएका छन्।'

प्रवेशका बुवा र श्रीमतीले भैँसी फार्मको रेखदेख गर्दै आएका छन्। 'दूध दुहुने, गोबर सोहर्ने, घाँस काटने, आहाराको व्यवस्थाको कार्य घरपरिवारले गर्दै आएका छौँ' उनका बुवा बन्धा रानाले भने, ‘बिहानदेखि साँझसम्म भैँसी स्याहार्नमै समय बित्ने गरेको छ।'

भैँसीका लागि रानाले आफ्नै स्वामित्वमा रहेको डेढ बिघा जग्गामा नेपियर, जै, बर्सिम, बदामेलगायतका घाँस खेती गरेका छन्। खेतमै लगाएको घाँसबाट भैँसीको लागि आहारा जुटने गरेको छ। भुसमा घाँस र दान मिसाएर भैँसीका लागि आहारा तयार गरिन्छ।

'दुःख गरेर दुई पटक विदेश गएँ' प्रवेशले भने, ‘एक पटक चार वर्ष र अर्को पटक दुई वर्ष कतारमा काम गरेँ। विदेशमा काम गरेर पठाएको थोरै रकमले घर खर्च चलाउनमै ठिक्क हुन्थ्यो। घर फर्केपछि स्वरोजगार बन्नका लागि भैँसी फार्म खोलेँ।'

उनले स्वामित्वको जग्गा वित्तीय संस्थामा धितो राखेर केही रकम पाए। विदेशबाट कमाएको केही बचत गरेको रकम लगानी गरी फार्म खोले पनि सोचे अनुसारको आम्दानी हुन नसकेको उनले बताए।

'सरकारी अनुदानसमेत वास्तविक किसानले पाउने गरेका छैनन्' उनले भने, ‘तालिमसमेत पाएका छैनौँ। काम गर्ने कालु मकै खाने भालु भने झै हुँदा फार्म सञ्चालन गर्ने किसानले हतोत्साहित हुनु परेको छ।’

अनुदानका लागि प्रतिवर्ष प्रस्ताव हाल्दै आए पनि नपाइएको उनको भनाइ छ। 'यस वर्ष पनि प्रस्ताव हाल्ने सोचमा छु' उनले भने, ‘पाइन्छ/पाइँदैन थाहा छैन।’

अनुगमन नगरी अनुदानको रकम प्रस्तावकै आधारमा मात्रै दिइने भएकाले यसको सदुपयोग हुन नसकेको दुग्ध उत्पादनमा लागेका किसानको भनाइ।

शुक्लाफाँटा पशु शाखाका अधिकृत नारायणदत्त भट्टले फार्म पशु पाल्ने तौरतरिका नजान्दा र घाँस खेती नगर्दा दुग्ध उत्पादक किसानले चाहेअनुरूपको आम्दानी लिन नसकेर हतोत्साहित हुनु परेको बताए।

पशुको मलमूत्र व्यवस्थापन गर्न नजान्दासमेत आम्दानीमा असर परेको उनको भनाइ छ। मलमूत्रलाई व्यवस्थापन गरी जैविक मल उत्पादन गर्न सके दूधका अतिरिक्त आम्दानी लिन सकिने भए पनि यसतर्फ किसानको ध्यान जान नसकेको उनले बताए।

उनका अनुसार दुग्ध उत्पादनका लागि शुक्लाफाँटा नगरपालिकामा मात्रै गाई र भैँसीका गरी आधा दर्जन बढी फार्म सञ्चालनमा रहेका छन। सञ्चालित फार्मबाट दैनिक करिव तीन सय लिटर दूध उत्पादन हुने गरेको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.