विचार

पुँजीपति वर्गबाट बिचौलियामा सरेको प्रजातान्त्रिक समाजवाद

पुस ११, २०७६

    नवउदारवादी आर्थिक विश्वव्यापीकरणको ल्याटिन अमेरिकी मुलुकहरूमा आएको राजनीतिक- आर्थिक बहावको संकटको साथै त्यहाँ स्वतन्त्रताका नामले जातजातिहरूलाई सामाजिक विखण्डन तर्फ कुदाइएका घोडा अहिले आएर सबै जातजातिको नेतृत्व विहीन आन्दोलनमा परिणत भएको छ।

    आफूलाई थोरै कौतुहल लागेकाले नेपाली कांग्रेसले बोक्दै आएको प्रजातान्त्रिक समाजवादभित्रको स्वर्गीय बिपीका आर्थिक अवधारणा अध्ययन गर्न मन लाग्यो। किनकि अहिलेको विश्वव्यापीकरण अवस्थामा यो पार्टीको नेतृत्व तहमा रहनेहरूले बिपीको नाममा राजनीतिक/आर्थिक व्यापार गरेको सर्वसाधारण नागरिक भएर भुक्तभोगी भएर अनुभूति गरेकाले खोजी नीति गर्ने जमर्को गरेको छु। संखुवासभाको दुर्गम ठाउँमा जन्मिएको यस लेखकले बिपीको भाषण र वी पी कोइरालाको मलामी बुझीनबुझी हिँडेको सम्झनाले अध्ययन गर्न र यो लेख लेख्‍न काउकुती जगायो।

    विश्वेश्वरप्रसाद कोइरालाले (२४ भदौ, १९७१-६ साउन, २०३९) अर्थशास्त्रबारे छुट्टै बोलेको देखिएन। उहाँले र नेपाली कांग्रेस पार्टीले त्यसबारेमा लेखेका पुस्तक पनि छैनन्। बिपीको संस्थागत राजनीतिको सुरुवात १२- १३ माघ, २००३ सालको सुरुवाती राष्ट्रिय कांग्रेस; सहकार्य टंकप्रसाद आचार्यसँग देखिन्छ। त्यस बेलाको नेपाल विश्वमा चिन्ने सारै थोरै थिए भने विकास विदेशी सहयोगको निर्भर हुन्थ्यो। त्यसबेला नेपालमा आर्थिक संरचनाका धरातल बलिया देखिँदैनन् भने पहिलो नेपालको योजनाको सुरुवातकाल थियो।

    विश्वेश्वरप्रसाद कोइराला राजनीतिक नेतृत्वमा हुनुपर्ने सामान्य न्यूनतम गुणभन्दा धेरै उच्च कोटीको लेखन र अध्ययनशील व्यक्तित्व देखिन्छन्। अनि नेपाली साहित्यका लेखन क्षेत्रका यी हस्ती राजनीति, दर्शनशास्त्र, धर्म, संस्कृति, इतिहास, कला एवं साहित्यका पारखी देखिन्छन्। निश्चित त्यस समयका अर्थशास्त्रीय सिद्धान्त, नीतिभन्दा पनि बिपी त्यस समयका राजनीतिक आर्थिक बहाव र सामाजिक रूपान्तरणका उत्प्रेरक देखिन्छन्।

    प्राध्यापक रत्नमणि नेपालले बिपीको आर्थिक सोच विकासको सामाजिक ढाँचाबाट अर्थात् सामाजिक सद्‍भावको आँखा जो प्रजातन्त्रका न्यूनतम मूल्य र मान्यतामा पर्ने समानता, इक्विटी र विकासको आधारबाट हेर्नुपर्ने बताएका छन्। नेकाबाट प्रतिनिधित्व गर्दै बिपीले जननिर्वाचित सरकारलाई ढालेर राजा महेन्द्रले पञ्चायत हाल्नुअघि मे, १९५९ देखि डिसेम्बर १९६० सम्म सरकार चलाएको हो  ।

    त्यसपछि सन् १९९० मा मात्र बहुदलीय प्रजातन्त्रले प्रवेश पायो। सन् १९९० को दशकपछि झण्डै ३० वर्षमा पुगेको यो नेपालको प्रजातन्त्रमा २१ वर्षको अवधि सरदर सरकार नेकाले चलाएको देखिन्छ । त्यही पार्टीको आडमा व्यक्तिहरू मोटाएको देखिन्छ । तर पार्टी, संस्थागत संरचना, पद्धति र कार्य प्रणालीमा दुर्बल, निम्छरो देखिन्छ।

    यहाँ राजनीतिक अस्थिरताले गर्दा आर्थिक विकास गर्न सकिएन भनेर पन्छिने प्रवृत्ति छ। विश्वका विज्ञहरूले गरेको अनुसन्धानले देशको राजनीतिक स्थिरता र आर्थिक विकाससँग पूरै गहिरो सम्बन्ध हुँदैन भनी प्रस्ट पार्दै श्रीलंका एक उदाहरण सारेका छन्। तर हाम्रो मुलुकमा राजनीतिक अस्थिरतालाई देशको आर्थिक मुद्दा र विकास जोडेर दुनो सोझ्याउने प्रवृत्ति देखिन्छ।

    अमेरिका भ्रमणको क्रममा बिपीलाई नेपालको आर्थिक पाटो बिझाएको पूर्व- पश्चिम राजमार्ग बनाउनेबारे अमेरिकी राष्‍ट्रपतिसँग, ऋषिकेश शाहसहित अमेरिकी सेक्रेटरी जोन इसेन हुभरसहित कुरा गर्दा सडक बनाउन सहयोग गर्ने के भारतले गर्दैन भन्दा, उसको ( वी पीको)  चासो उत्तर - दक्षिण बाटो देखियो भनेको अमेरिकी राजदूतावासको साइटमा राखिएको पत्र बोल्दछ।

    बिपीका समयको भूगोलमा बसेर अध्ययन गर्दा यहाँ समय र स्पेस फ्रेमिङ, कनेक्टिभिटी, सामिप्यता आदि भुल्न हुँदैन। हामी बसेको त्यस समयको स्थानमा हिमालय क्षेत्र - पृथक्, प्राकृतिक प्रकोपको चपेटामा परिरहने अनि हिन्दकुशदेखि कश्मीर, तिब्बत, सिक्किम, भुटानको सिमाना र भारतको उत्तरी उत्तर पूर्वीक्षेत्र झण्डै यही दुई दशकको राजनीतिक उथलपुथलले एक र अनेकौं डिग्रीमा समेट्यो।

    बिपीकै समयदेखिको बहाव राणा, राजतन्त्र, संवैधानिक राजतन्त्र प्रजातान्त्रिक उत्प्रेरित प्रयोग हुँदै अहिलेको समय संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल हुन आइपुगेको हो।

    बिपी त्यो समय, परिधि र ठाउँमा नेपाली साहित्यमा एक कुशल साहित्यिक व्यक्ति र विश्वमा एक प्रजातान्त्रिकका पद्धतिका खम्बा देखिन्छ। जुन कुरो नेपाली साहित्य पढ्दा उहाँका पुस्तकहरू बजारमै छन् भने प्रजातान्त्रिक समाजवादको कुरो आउँदा खम्बाको रूप २९ सेप्टेम्बर, १९६०, ३ बजे १५ औँ संयुक्त राष्ट्रसंघको पूर्णबैठकमा दिएको अर्थ शास्त्रीय जनकल्याणकारी भाषणका हरफहरू बोल्दछन्।

    सो बैठकमा ठूला शक्ति राष्ट्र, कंगो र प्रत्येक देशको विदेश नीति स्वतन्त्रता, सार्वभौमिकता र सुरक्षाबारे देखि अन्तर्राष्ट्रिय विषयहरूमा आफैं स्वतन्त्रता विश्लेषण र मापन गर्न सक्छौँ । त्यो बोली आज पनि नेपालले गर्व गर्न लायक छ। अझै अगाडि बोल्दै, हामी संसारका विभाजित राजनीतिक आर्थिक विषयका प्रश्नहरूमाथि सकारात्मक र रचनात्मक जिम्मेवारी लिएर समाधान गर्न सक्दछौँ।

    सोही ताका अमेरिका भ्रमणको क्रममा बिपीलाई नेपालको आर्थिक पाटो बिझाएको पूर्व-पश्चिम राजमार्ग बनाउनेबारे अमेरिकी राष्‍ट्रपतिसँग, ऋषिकेश शाहसहित अमेरिकी सेक्रेटरी जोन इसेन हुभरसहित कुरा गर्दा सडक बनाउन सहयोग गर्ने के भारतले गर्दैन भन्दा, उसको (बिपीको) चाख उत्तर-दक्षिण बाटो देखियो भनेको अमेरिकी राजदूतावासको साइटमा राखिएको पत्र बोल्दछ।

    मूलत: बिपीको धारणा पढ्दा आर्थिक विषयहरूमा धेरै पाइँदो रहेनछ। बिपीको रोजाई प्रजातन्त्र र आर्थिक विकासमा, पहिलो राजनीति अनि राजनीतिले आर्थिक विकास गर्छ भन्‍ने धारणा राखेको देखिन्छ। जुन कुरो प्रजातान्त्रिक संक्रमण र मानव अधिकार पुस्तक लेख्‍ने सारा स्टेनमेट्ज़ले लेखेको छ।

    प्रजातान्त्रिक समाजवादभित्र आर्थिक विषयवस्तु

    विश्वमा १९ औँ शताब्दीमा प्रत्येक सामाजिक प्रजातान्त्रिक पार्टीहरूको सपना प्रजातान्त्रिक समाजवादतर्फ देखिन्छ। जहाँ पूर्ण-प्रजातान्त्रिक समाजमा जनताले अर्थव्यवस्था र सरकारलाई नियन्त्रण गर्छन्। कुनै पनि समूहले अरू कुनै अधिकार जमाउँदैन। प्रत्येक नागरिक स्वतन्त्र हुन्छन् । 

    समान, र समावेश हुन्छन् भनेर लेखिएको छ। विज्ञहरू व्याख्या गर्दै सामाजिक लोकतन्त्रका संस्थापकहरूको विश्वास थियो कि पुँजीवाद लोकतन्त्रको विरुद्ध हो र समाजवाद मात्र लोकतान्त्रिक हो। यही बाटोमा त्यो समयमा हाम्रा विश्वेश्‍वरप्रसाद कोइराला देखिन्छन्।

    ब्रिटेन, जर्मनी र पश्चिम युरोपमा विभिन्न सांस्कृतिक, धार्मिक र आर्थिक परिप्रेक्ष्यमा आन्दोलनहरूको स्थापना हुँदै सिद्धान्तहरू विकसित हुँदै जाँदा क्रिस्चियन समाजवादबाट नै सामाजिक लोकतान्त्रिक राजनीति हुँदै प्रजातान्त्रिक समाजवाद जन्मियो भनेर यसको इतिहासको सैद्धान्तिक पाटो ग्यारी डोर्रिनले गरेका छन्।

    यो धारमा अहिले धेरै विज्ञहरूलाई हिजोको प्रजातान्त्रिक समाजवादको पुरानो धारणाबारे चासो जगाएको देखिन्छ। प्रजातन्त्रले विश्वास गर्छ, पुँजीवाद प्रजातन्त्रविरोधी हो; समाजवाद मात्रै प्रजातान्त्रिक हो भन्ने धारणाहरू जन्मिएका छन्। सैद्धान्तिक जति कुराहरू गरे पनि यो युग पुँजीवादीहरूकै युग हो। विभिन्न वादहरू ( मार्क्स वादसहित) पुँजीवादबाट नै जन्म लिएको भुल्न हुँदैन।

    मुख्यतः बिपीको पालाको आर्थिक राजनीतिक लय प्रजातान्त्रिक समाजवादी धारबाटै कुनै पक्ष नलीईकन विश्लेषण गर्नुपर्दछ, धेरैजसो पुस्तकहरू अध्ययनका क्रममा सबै गरेकै बिपीले हो भनेर अलमल्याउने किसिमले सामान्यीकृत गरी लेखेको देखिन्छ।

    बिपीबारे यही सन्दर्भमा बोल्दा संगठन, कार्यकारी अभ्यास, व्यवस्थापिका, निर्वाचन र खुल्ला पार्टी प्रणालीबारे प्रस्ट देखिन्छन् किनकि त्यही समयमा यसलाई कमजोरी बनाई फाइदा लिने कार्य मातृका, विश्वबन्धु थापा र तुलसी गिरीले गरेको देखिन्छ।

    राजनीतिक-आर्थिक बहाव र बिपीको दशक

    त्यसबेलाको नेपालमा भर्खर देशको योजना बनाउने कसरी भनेर छिरेको थियो जुन बिपीकै कार्यकालमा पहिलो योजना परेको थियो भने आर्थिक बजेट एक समयको सुवर्ण शमशेरले बनाएका थिए। औद्योगीकरण र भूमिसुधारका संरचनाकार पनि बिपी नै थिए भनी प्रा. रत्नमणि नेपालले लेखेको पाइन्छ।

    विश्वमै आर्थिक नीति बनाउँदा श्रमको दृष्टिकोणबाट बनाइथ्यो भने प्रजातान्त्रिक समाजवादीहरूको कारणले गर्दा श्रमले राजनीतितर्फ आफ्नो स्थान खोज्दै गरेको अवस्था देखिन्छ। श्रमले सामाजिक न्याय र आर्थिक दक्षताका विषयहरू उठाएर आर्थिक नीतिहरूमा आफ्नो पहुँच बनाउने त्यो युग थियो।

    यो विषय हाम्रो मुलुकमा विराटनगर जुटमिलभित्रको मजदुर संगठन र आन्दोलन जोडिन पुग्दछ। त्यसरी नै बिपीको प्रधानमन्‍त्रित्व कालमा जमिन्दारहरूमाथिको ट्याक्स एक विवादयुक्त बनेको थियो। वास्तविकता प्रजातान्त्रिक समाजवाद र पुँजीवाद भिन्न भनिए तापनि प्रजातान्त्रिक समाजवादले पुँजीपतिहरूलाई बाहिर पार्दैन्थियो र त्यो अहिले पनि बाहिर पार्दैन।

    पुँजीपतिहरूलाई घुमाउरो बाटो संगठनको माध्यमहरूद्वारा सामाजिक न्याय, आर्थिक दक्षता विषयहरू ल्याएर माथि नै पार्दछ त्यो धार अहिले आएर राष्ट्रिय पुँजीपति वर्गबाट बिचौलिया वर्गमा सरेको देखिन्छ।

    बिपीको समयमा अमेरिकन र युएसएसआर ( सोभियतसंघ) धुरीबीच तानातान थियो। सैद्धान्तिक लडाइँ हेर्दा मार्क्सवादी समाजवाद (रसियन) र सामाजिक लोकतान्त्रिक समाजवाद( पुँजीपतीय) दुवैको टक्कर थियो। यी दुवैको वैचारिक स्रोतको थलो एकै हो भुल्न हुँदैन। त्यही नै हालसम्म नेपालदेखि संसारभरि देखिएका जे जे नाम दिए पनि समाजवाद हुन् फिटिक्कै दोधारमा पर्न हुन्‍न।

    संस्थाहरूको विकासको क्रममा विश्व बैंक, अन्तर्राष्ट्रिय मुद्रा कोष- सन् १९४४ मै जन्मिसकेका थिए भने अमेरिकी डलर विश्व रिजर्भ मुद्रामा सन् १९४७ मा नै आएको देखिन्छ । कोरियन युद्ध सुरु (१९५०-५३) र असंलग्न आन्दोलन - सन् १९५५ मै सुरु भइसकेको अवस्था थियो। हाम्रो आर्थिक र विकास दातामुखी पूरै सहयोगमा भर परेको अवस्था थियो।

    त्यो दशकसम्म विश्वमा नेपाललाई धेरैले 'नेपाल देश छ भनेर' चिन्दैनथे। त्यसैले पिता पुर्खाले बनाएको ऐतिहासिक भूगोल कोतर्नु र चिथोर्नु न्यायोचित होइन। सन् १९८० को अन्तिमसम्म विकास वित्तको मुख्य स्रोत वैदेशिक सहायता थियो । पहिलो विकास योजनाको विकास बजेटको ७५ प्रतिशतसम्म पूरै रकम वैदेशिक सहायताबाट व्यहोरिएको थियो।

    राजनीतिक अन्योलका बीचमा विसं २०१३ मा पहिलो योजना लागू भयो । तर कार्यान्वयनको पाँच वर्षे अवधिमा पटकपटक सरकार परिवर्तन भएको देखिन्छ। पहिलो योजनामा हामी बामे सर्दै सरकारी संस्थानहरू खोल्ने र ती संस्थामार्फत् सेवा प्रवाह गर्ने व्यवस्था मिलाउँदै गएको देखिन्छ।

    यही समयमा संसद्का लागि निर्वाचन भयो, निर्वाचित जम्मा १८ महिना शासन गरिरहेको बिपीको सरकारलाई अपदस्थ गरी निर्दलीय पञ्चायती राजनीतिक व्यवस्था महेन्द्रले लागू गरे।

    यहाँ बिपीको पालामा आर्थिक र बिकासका अवधारणामा, विश्वको आर्थिक राजनीतिक प्रजातान्त्रिक समाजवादी बहाव समाएर विश्लेषण र व्याख्या गर्न उचित हुन्छ। यो यो गरे भनेर नेपालभित्रका निश्चित केही कार्यक्रम: ट्याक्स, औद्योगिकीकरण केही विषय, भूमिसुधार, वैदेशिक सहयोग र विकास योजना तोक्न सकिएला त्यहीमा सीमित गरी बिपीलाई व्याख्या गर्नु उचित देखिदैन।

    मूलत: बिपीको दशकलाई समाती: श्रम र अन्तर्राष्ट्रिय अर्थतन्त्र, औद्योगिकीकरण आधुनिकीकरण, राष्ट्रियता, योजना बनाउने र नियन्त्रण, वित्तीय प्रणाली, रोजगारीको नीति, श्रमबजार (उखु खेतीलाई आसाम जाने, कोइलाखानी जाने, प्राकृतिक प्रकोपले तराई र भारततिरको बसाइसराइ), महिलाहरूको श्रम, समानता र दक्षता र आर्थिक रूपले लोककल्याणकारी राज्य जस्ता आधारभूत तत्त्वभित्र रहेर प्रजातान्त्रिक समाजवाद र बिपी खोज्नु न्यायोचित हुने देखिन्छ। त्यस समयमा भारतको विकासबाट अभिप्रेरित हुँदै आधारभूत सामाजिक-आर्थिक संरचना धरातलमाथि उक्लिएर कृषिलाई औद्योगिकीकरणतिर, यातायात, सञ्चार जस्ता विषयहरूलाई प्राथमिकतामा राखेको देखिन्छ। 

    प्रजातान्त्रिक समाजवादको लोक कल्याणकारी राजनीतिक-आर्थिक रूपान्तरणको बाटोलाई बनियागिरीको अर्थशास्त्रले यो कमिसन र भ्रष्टाचारको बाटोमा संस्थागत संरचना, पद्धति र कार्य प्रणाली व्यवस्थित नगरी, राज्यको नियन्त्रण र नियमनको संरचना तयार नगरी लगेर खाल्डोमा उठ्न नसक्ने गरी जाकिदिएको देखिन्छ।

    बिपीको राजनीतिक - आर्थिक लय उनीपछिको नेकाले समातेको देखिँदैन। सन् १९९० पछिका तत्कालीन सरकारमा जाने अर्थमन्त्री भएका महतकम्पनी लगायतका आर्थिक नीति निर्माताहरूले देशमा स्थापित उद्योगधन्दा मिश्रित अर्थतन्त्र र नवउदारवादी अर्थ बहावका नाममा बिना कुनै बेरोजगारी, काम खोज्न जाने नेपाली, बसाइसराइ र नेपालीको दैनिक जीवन चलाउने माग आदि अध्ययन, अनुसन्धान, छलफल नगरी दोहोरो कमिसनको लोभमा निजीकरणका नाममा उद्योगधन्दा बिक्री बट्टा गरिएको देशको दुर्भाग्य देखिन्छ।

    अब, अहिले आएर २०७६ सालमा नयाँ उद्योगधन्दा खोल्ने कुरो गरेको सुन्दा हास्यास्पद लाग्दछ। कुनै गैरसरकारी संस्थामा काम गर्ने, उसकै स्वार्थ र उद्देश्य अनुकूल काम गर्ने यो देशले अर्थमन्त्री पाउँदा यो आर्थिक अवस्थामा देश खोक्रो भएर उभिन पुगेको छ।

    प्रजातान्त्रिक समाजवादको लोक कल्याणकारी राजनीतिक-आर्थिक रूपान्तरणको बाटोलाई बनियागिरीको अर्थशास्त्रले यो कमिसन र भ्रष्टाचारको बाटोमा संस्थागत संरचना, पद्धति र कार्य प्रणाली व्यवस्थित नगरी, राज्यको नियन्त्रण र नियमनको संरचना तयार नगरी लगेर खाल्डोमा उठ्न नसक्ने गरी जाकिदिएको देखिन्छ। यहाँ यिनीहरूले गरेको भ्रष्‍टाचार र कमिसनको खेल अनि विश्‍व बैंकको संस्थागत र व्यक्तिगत दलालीको ‘महाभारत’ लेख्‍न लागिरहेको छैन।   

    संयुक्त राष्ट्रसंघको १२औँ सम्मेलनमा भाग लिएका, चिनियाँ नेता चाउएन लाईसँग, अमेरिकी राष्ट्रपति आदिसँग नेपालको आर्थिक विकास, प्रजातान्त्रिक समाजवादका पक्षमा र सामन्तवादका  बिरुद्द बोल्न, तर्क र तथ्य सार्न सक्ने सामाजिक पुँजी स्थापित र क्षमता प्रदर्शन गर्न सक्ने व्यक्ति नेपालमा वीपी बाहेक कोही देखिँदैनन्।

    बिपीको समय, स्पेस (परिधि) प्लेस र ठाउँ विस्तृत अध्ययन गर्न चाहेमा यहाँहरूले नारायण खड्काका पेपरहरू, प्रदीप गिरीको राजनीतिक अभिलेख, फरेन पोलिसी इन नेपाल- मुनि, फोरेन एड एन्ड पोलिटिक्स इन नेपाल- युजिने ब्रेमर मिल्हे, राजा महेन्द्र - पेजेज अफ हिस्ट्री, ल्यान्ड टेनुयर एन्ड ट्याक्से सन्- महेश चन्द्र रेग्मी, महत्त्वपूर्णमा: डेमोक्रेटिक इनोभेसन इन नेपाल- भुवन लाल जोशी र इरोज, पिपुल अफ नेपाल - डोर बहादुर बिस्ट, दि पोलिटिक्स अफ नेपाल प्रसिस्टेस एन्ड चेन्ज इन एन्ड एसियन मोनार्की - लिओ रोज पढ्न सक्नुहुनेछ।

    त्यसैगरी मार्ग रेट फिशर, नेपाल स्ट्राटेजी अफ सरभाइभल, भोला चटर्जीका पुस्तकहरू, डेमोक्र्याटिक सोसियालिज्म एन्डइकोनोमी पोलिसी - जिम तोम्लिसम, ए थेओरी अफ सोसियालिज्म एन्ड क्यापिटालिजम - हान्स हर्म्यान होपेका धेरै पुस्तक र जोन एस ड्राइजेक र साथीहरूले इडिट गरेको पोलिटिकल थ्योरीसहित थुप्रै पुस्तकहरू पढ्न सक्नुहुनेछ।  जसका आधारमा मात्र बिपीकापीबारेमा धारणा बनाउनु उचित हुन्छ।

विनोद न्यौपाने

न्यौपाने नेपालमा संघीयता र राजनीतिक- आर्थिक वहाव पुस्तकका लेखक हुन्।   

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]