|

हेटौंडा : निर्माण व्यवसायी महासंघका पूर्वअध्यक्ष तथा नेपाली कांग्रेसका नेता जयराम लामिछानेको स्वच्छन्द निर्माण सेवा प्रालिले ठेक्का लिएको बाग्मती पुल निर्माण नहुँदा राष्ट्रिय गौरवको योजना प्रभावित हुने भएको छ।

दोस्रो संविधानसभामा मकवानपुर क्षेत्र नम्बर २ बाट तत्कालीन एमाओवादी नेता नारायणकाजी श्रेष्ठ र एमाले नेता सुवाषचन्द्र ठकुरीसँग नेपाली कांग्रेसको तर्फबाट चुनावसमेत लडेका लामिछानेले लिएको ठेक्काका कारण राष्ट्रिय गौरवको मदन भण्डारी राजमार्गको मकवानपुर र सिन्धुली जिल्ला जोड्ने पक्की पुल ८ वर्षअघि निर्माण सुरु भए पनि हालसम्म निर्माण सम्पन्न नहुँदा राजमार्ग निर्माणसमेत प्रभावित भएको आयोजना कार्यालयले जनाएको छ।

मदन भण्डारी राजमार्गमा निर्माण हुने ३४ वटा पुलमध्ये बाग्मती पुल सबैभन्दा ठूलो र बढी लागतको बलियो संरचना हो। २०६८ साल असार २९ गते स्वच्छन्द निर्माण सेवा प्रालिले सम्झौता गरी निर्माणको जिम्मा लिएको पुल २०७३ साल असार २८ गते सम्पन्न हुनुपर्ने थियो।

दुईपटक म्याद थप

पुल निर्माणका लागि सरकारले दुईपटक म्याद थप गरी मौका दिइसकेको छ। सार्वजनिक खरिद ऐनको आठौँ संशोधन कार्यान्वयन गर्दा निर्माण कम्पनीका लागि आगामी जेठ २२ गतेभित्र पुल निर्माण सम्पन्न गर्नुपर्ने बाध्यता छ।

समय सीमाभित्र काम सम्पन्न गर्ने लिखित प्रतिबद्धता र कार्ययोजनासहित निर्माण कम्पनीले आयोजना कार्यालयमा लिखित प्रतिबद्धता गरेको आयोजनाले जनाएको छ।

यद्यपि, प्रतिबद्धताअनुसार पर्याप्त जनशक्ति र उपकरणहरू प्रयोग नभएकाले समय सीमाभित्र काम सम्पन्न हुनेमा शंका उत्पन्न भएको आयोजनाका कार्यालय प्रमुख राजेश पौडेलले बताए। समयसीमाभित्र काम नगरे सरकारले ठेक्का रद्द गर्ने पौडेलले बताए, ठेक्का रद्द गर्दा सरकारलाई थप व्यभारसमेत थपिने देखिएको पौडेलले जानकारी दिए।

 पेस्‍की फिर्ता

८ वर्षअघि नै टेण्डर प्रकाशन भएपछि स्वच्छन्द भैरव निर्माण सेवा प्रालिले लागत रकमभन्दा ४३ प्रतिशत कम रकममा ठेक्का सम्झौता गरेको थियो। ४२ करोड आठलाख रुपैयाँको लागत अनुमान गरिएको पुल करिब ४३ प्रतिशत कम मूल्यांकनमा २३ करोड ३७ लाख रुपैयाँमा स्वच्छन्द भैरव निर्माण सेवा प्रालिले ठेक्का सकारेको हो। कार्यप्रगति कमजोर हुँदै गएपछि आयोजनाले निर्माण कम्पनीसँग अग्रिम पेस्‍कीबापतको २ करोड ६१ लाख रुपैयाँसमेत फिर्ता लिएको छ।

६० प्रतिशत काम

मदन भण्डारी राजमार्ग आयोजना हेटौँडाका प्रमुख राजेश पौडेलका अनुसार ४०३ मिटर लामो पुलको भौतिक ६० र वित्तीय ३८ दशमलव ६ प्रतिशत मात्र प्रगति भएको छ। निर्माण कम्पनीलाई पुल चाँडो सम्पन्न गर्न पटकपटक ताकेता गरे पनि निर्माण कम्पनी पक्षले गम्भीर नलिँदा आयोजना नै प्रभावित हुन सक्ने भन्दै आयोजना प्रमुख पौडेलले चिन्ता व्यक्त गरेका छन्।   

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.