|

रुपन्देही : खाडीबाट नेपाल फिरेपछि दुई वर्ष पूर्वी एसियाका देशहरू बरालिँदा अर्जुन भुसालले नेपालमै एक ठूलो ‘एग्रो रिसोर्ट’ खोलेर पर्यटकहरूलाई सेवा दिने सपना देखे। एक दशक खाडी बस्नुअघि नेपालमा सफल अटोमेकानिक्सको पेसामा रमाइसकेका भुसालको व्यावसायिक जीवनलाई ‘युटर्न’ दिन यत्ति सपना काफी थियो।

परदेश बसेर परिवेश बुझेका भुसालले इण्डोनेसिया, सिंगापुर र थाइल्याण्ड जस्ता देशहरूको भ्रमण गरिसकेपछि लुम्बिनी जन्मस्थलको छेवैमा ठूलो लगानीमा रिसोर्ट खोल्ने निधो गरे।

रिसोर्ट ड्रिम प्रोजेक्ट

ठूलो माछापोखरी। पोखरीको बीचबीचमा ‘कोजी’ स्विट रुम, हनिमुन रुम अनि रेष्टुरेण्ट। एक रुमदेखि अर्को रुममा पुग्न डुंगा चढ्नुपर्ने। पोखरीको डिलमा हरिया मौसमी तरकारी। पोखरीसम्मै स्वागत गरिरहने रङ्गको फलफूल बगैँचा। अनि आउट डोर कटेज। छेवैमा ३५० वटा गाडीहरू अट्ने ठूलो पार्किङ लट। लुम्बिनीदेखि १२ किलोमिटर दूरीमा रहेको सियारी–५ बनधुसरीमा देख्‍न सकिने यो हो–लुम्बिनी प्यालेस रिसोर्ट। अर्थात् उनै व्यवसायीको ‘ड्रिम प्रोजेक्ट’।

भैरहवाको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट १८ किलोमिटर पश्चिममा १५ बिघा क्षेत्रफलमा रिसोर्टको भौतिक संरचना धमाधम निर्माण भइरहेको छ। यसमा भुसालको एकल एक अर्ब रुपैयाँ लगानी रहनेछ। लुम्बिनी आउने आन्तरिक तथा बाह्य पर्यटकलाई लक्षित गरेर रिसोर्टमा लगानी गरिएको सञ्चालक भुसालले बताए। ‘भारतबाट २५ प्रतिशत, नेपाल र तेस्रो मुलुकका गरेर ५० प्रतिशत पर्यटक भित्र्याउने योजना छ’ उनले सुनाए।

रिसोर्ट सुविधासम्पन्न हुनुका साथै ५ सयजना अट्न सक्ने एउटा र १ सय अट्ने अर्को गरी २ वटा सेमिनार हल, बस्नका लागि हनिमुन, डिलक्स, स्विट र नर्मल कोठा, स्विमिङ पुल, बाल उद्यान, फनपार्क, बार, आउटडोर र इनडोर कटेजलगायत सुविधा रहनेछ। शान्त, स्वच्छ र मनोरम वातावरण रहेकाले ग्राहकको आकर्षण बढ्ने उनको भनाइ छ।

यस्तो छ रिसोर्ट

डेढ महिनापछि सञ्चालनमा आउने उक्त रिसोर्टमा पहिलो चरणमा ५० करोड रुपैयाँ लगानी गरिएको छ। भुसालको एकल लगानीमा निर्माण भइरहेको यो रिसोर्ट उनकै शब्दमा ‘नेपालमै युरोपको झल्को दिने’ हुनेछ। रिसोर्टको मुख्य विशेषता बाहिरी देशमा समुद्रको छेउमा बनाइएको ‘बिच हाउस’ को स्वरूपमा पोखरी नै पोखरीले बनेको हुनेछ। कुल भू–भागको ७५ प्रतिशत क्षेत्रफल पोखरीले ढाकेको छ। ७ फिट गहिराइ भएको पोखरीमा विभिन्न प्रजातिका माछा पालिनेछन्। 

पहिलो चरणमा सञ्चालनमा आउने रिसोर्टमा ३ बिघा क्षेत्रफलमा एउटै पोखरीसहित १२ बिघा क्षेत्रफलमा माछापोखरी रहेको छ भने ३ बिघामा रिसोर्ट, स्विमिङ पुल, फनपार्क, पार्किङ लगायतका संरचना छन्। रिसोर्ट नेपालकै अत्याधुनिक लाइटिनिङसहितको वाटर फाउन्टेनले घेरिएको हुनेछ।

३ बिघामा रहेको माछा पोखरीको बीचमा बाहिरी दृष्य अवलोकन गर्न मिल्नेगरी बनेको हनिमुन र स्विट रुम हुनेछन् भने करिब १ किमी रहेको २५ फुटको पोखरीको डिलमा फलफूल बगैँचासहितको आउटडोर कटेज हुनेछ।

रिसोर्टमा कफी सप, इनडोर कटेज, अत्याधुनिक बगैँचा, स्तरीय लवि, भ्यु रेष्टुरेण्ट पनि हुनेछ भने रिसोर्टमा अर्गानिक तरकारी, हाँस, कुखुरा, खसी लगायतका परिकार पाइनेछ।

रिसोर्टका सञ्चालनक भुसालका अनुसार दोस्रो चरणमा ६० करोडको लगानीमा लुम्बिनी देखिने गरी ७७ फिट अग्लो भ्युटावर र लुम्बिनीको झल्को दिने प्यालेस निर्माण गरिनेछ। रिसोर्टको वरिपरि रहेको माछा पोखरी अवलोकन गर्न घोडाको सुविधा पनि हुनेछ।

घुम्‍न आउनेको ताँती

निर्माण सम्पन्न नहुँदै घुम्न आउनेको ताँती लाग्न थालेको सञ्चालक भुसालले बताए। माछा पोखरीको बीचमा रिसोर्ट हुनाले घुम्न आउने पर्यटकलाई आकर्षित गर्ने उनी बताउँछन्। ‘यो क्षेत्रमा होटल र रिसोर्टमा लगानी गर्नेको संख्या थपिँदै गएको छ,’ सञ्चालक भुसालले भने, ‘तर गुणस्तरीय सेवा नहुँदा आएका पर्यटकहरू बस्न चाहँदैनन्। हामीले त्यो अभावको परिपूर्ति गर्ने छौं।’

अनौपचारिक रूपमा रिसोर्ट सञ्चालनमा आइसकेको छ। सहरको कोलाहलपूर्ण वातावरणबाट केही क्षण भए पनि शान्त वातावरण रिसोर्टमा मिल्ने उनको दाबी छ। ‘यो रिसोर्टलाई लुम्बिनी र आसपासका लागि नमुना नै बनाउने योजना रहेको छ,’ सञ्चालक भुसालको भनाइ छ, ‘रिसोर्टभित्र छिर्नेबित्तिकै ग्राहकले अर्कै दुनियाँमा पुगेको महसुस गर्नेछन्।’ भुसालका अनुसार लुम्बिनी घुम्न आउने पर्यटकलाई रिसोर्टले कम्तीमा एकदिन भुलाउने बातावरण बनाउने छ।

रिसोर्ट नै किन?

बुटवलमा रहेर अटो मेकानिक्सका रूपमा ख्याति कमाएका थिए–भुसालले। सधैँ परिश्रमका साधक रहेका भुसाल नयाँ चुनौतीकै लागि खाडी लागे। त्यहाँ रहेर अप्रेटरबाट काम थालेका उनी छोटो समयमा नै सुपरभाइजर बन्न पुगे। त्यहाँ छोटो समयमा नै व्यवसायको सफलताका ‘सूत्रहरू’ आफूले बुझेको उनको भनाइ छ। उनी भन्छन्, ‘चुस्त व्यवस्थापन र गुणस्तरीय सेवा दिन सकियो भने जुनसुकै व्यवसाय पनि अँगाल्न सकिन्छ भन्ने बुझेँ।’

पर्यटन र कृषिमा सम्भावना

नेपाल फिरेपछि यहाँको बजार अध्ययन गर्न थालेपछि उनलाई पर्यटन र कृषिमा ठूलो सफलता पाउन सकिन्छ भन्ने लागेको रहेछ। ‘नेपालमा राजनीतिक परिवर्तनले पनि होला पर्यटनका व्यवसायहरू निकै अगाडि आइरहेको बुझेको थिएँ’ उनी भन्छन्।

त्यसपछि के चाहियो र! लुम्बिनीको छेवैमा रहेको सियारी–५ मा रहेको १५ बिघा ‘बञ्जर’ जमिनलाई ‘उर्वर’ बनाउने निर्णय गरे। अर्थात्, उनको ड्रिम प्रोजेक्ट वास्तविकतातिर लम्कँदै थियो। खाडीमा कमाएको पैसा, आफ्नो पैतृक जायजेथा र शाइन रेसुङ्गा बैंकबाट लिएको वित्तीय सहायताबाट उनले त्यहाँ लुम्बिनी प्यालेस रिसोर्ट बनाउन लागेँ।

साइबेरियाका चरा बस्न मिल्ने आइल्याण्ड 

सय करोडको लगानीमा बन्न लागेको यस रिसोर्टमा एक मिनी आइल्याण्ड बनाउने योजना रहेको सञ्चालक भुसाल सुनाउँछन्। उक्त आइल्याण्डमा हिउँदमा बसाइसरी आउने साइबेरियन चरालाई बासस्थानको लागि पाहुना घरको रूपमा निर्माण गरिदिने उनको सोच छ।

चारैतिर पानीले घेरेको स्थानमा चराहरूले सुरक्षित महसुस गर्ने भएकाले रिसोर्टको गुरुयोजनामा यसलाई पनि राखिएको उनको भनाइ छ। ‘चराहरूको संरक्षण र पर्यटकहरू तान्न सक्ने योजनाको रूपमा हामीले यसलाई पनि अगाडि बढाएको छौं’ उनले भने।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.