थाहा संवाद

'हामी तयार छौँ, भ्रमण वर्ष सफल हुन्छ'

गुणस्तरीय र राम्रा पूर्वाधार तयार गर्नुपर्छ

पुस १६, २०७६

    नेपाल भ्रमण वर्ष–२०२० सुरु भएको छ। आज जनवरी १ मा भव्य कार्यक्रमसहित पर्यटन बर्ष २०२० उद्घाटन गरिँदैछ। सोही समारोहका लागि बोलाइएका विदेशी पाहुनाहरु काठमाडौंमा आइरहेका छन्। भ्रमण वर्षको पूर्वसन्ध्यामा पर्यटन मन्त्रालय र यसअन्तर्गतका कार्यालयहरुले तयारी तीव्र बनाएका छन्। नेपालले यसअघि सन् २०११ मा भ्रमण वर्ष कार्यक्रम आयोजना गरेको थियो। त्यसपछि सन् २०१८ मा नेपाल भ्रमण वर्ष मनाइने तयारी थियो। तर आवश्‍यक पूर्वाधार विस्तार र आवश्‍यक प्रचार नहुँदा दुई वर्ष पछि धकेल्दै यो बर्ष भ्रमण बर्ष मनाउन लागिएको हो।

    नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सिईओ) बाट केही दिनअघि मात्रै अवकाश लिएपनि दीपकराज जोशी भ्रमण वर्ष सफल पार्न लागिपरेका छन्।उनी बहिरिएपनि सरकारले अहिलेसम्म बोर्डको जिम्मेवारीमा अन्यलाई ल्याएको छैन। दुई वर्ष सारेपछि भ्रमण वर्षका लागि सरकारले कति तयारी गर्‍यो त? नेपालले पर्यटक तान्‍न के–के कुरामा ध्यान दिनुपर्छ? नेपाल भ्रमण वर्ष कसरी सफल होला? पर्यटन बोर्डमा सीईओ नहुदाँको प्रभाव कस्तो पर्छ? यी र अन्य विषयमा विषयमा जोशीसँग थाहाखबरका भागवत भट्टराईले गरेको कुराकानी :

    सन्‌ २०१८ मै आयोजना गर्ने भनिएको भ्रमण बर्ष दुई वर्ष धकेलेर सन् २०२० का लागि तय गरियो, यो बीचमा तपाइँ पर्यटन बोर्डमा प्रमुख कार्यकारीको हैसियतमा रहनुभयो, भ्रमण बर्ष सफल पार्ने तयारी गरेरै अवकाश लिनुभएको हो? 

    हामीले तयारीको पाटोमा चार पक्षलाई केन्द्रित गर्दै काम अघि बढायाैं। पहिलो त अन्तर्राष्ट्रियस्तरमा नेपाल भ्रमण बर्षको व्यापक प्रचार-प्रसार गर्ने योजना थियो। त्यो काम निकै राम्रो रुपमा अघि बढेको देख्न सकिन्छ।

    दोस्रो, देशभित्र जनचेतना जगाउने कार्यक्रम थियो। आतिथ्यता र सेवाको गुणस्तरमा ध्यान दिन तालिम कार्यक्रम गर्‍याैं। गत वर्ष मात्रै १० हजार जनशक्तिलाई तालिम दिइएको छ। यो वर्ष फेरि २० हजारलाई तालिम दिँदै अरु जनशक्ति थप्‍ने कार्यक्रम छ। 

    तेस्रो, भ्रमण वर्षको अवसरमा नेपाल घुम्न आउने पर्यटकलाई प्याकेज घोषणा गर्ने कार्यक्रम थियो। अहिले होटल, रेष्टुरेन्ट, टुर प्याकेज र ट्रेकिङ क्षेत्रबाट राम्रो छुटका अफर आएका छन्। जसलाई हामीले प्रचार–प्रसार गरिरहेका छौँ। छिट्टै नेपाल सरकारले पर्वतारोहणमा जाने र कम पर्यटक गएका नयाँ क्षेत्रहरूमा छुट र नि:शुल्क प्याकेज बनाउँदैछ। सरकारको तर्फबाट त्यो प्याकेज पनि घोषणा गर्ने तयारी हुँदै छ।

    चौथो तर महत्वपूर्ण पाटो चाहिं भ्रमण बर्ष सफल पार्न हाम्रा लागि आधारभूत पूर्वाधारको अवस्था र 'कनेक्टिभीटी' मूख्य चुनाैती थियो। यो क्षेत्रमा पनि पछिल्लो समयमा केही राम्रो प्रगति देखेका छौँ। दुई दशकदेखि विभिन्‍न खाले राजनीतिक अस्थिरता र प्राकृतिक विपत्तिले गाँजेकाले हामीकहाँ अझैपनि पूर्वाधार क्षेत्रमा ठूलो उपलब्धि र सुधार हुन सकेको छैन, भ्रमण बर्षका लागि यो नै सबैभन्दा ठूलो चुनाैती हो।

    हवाईमार्गबाट आउने पर्यटकले पहिलोपटक नेपाल यस्तो रहेछ भनी महसुस गर्ने त्रिभुवन विमानस्थलमा सामान्य संरचनागतबाहेक सन् २०१८ देखि सन्‌ २०२० सम्म के काम वा सुधार भयो? के भ्रमण बर्षमा आउने पर्यटकहरुले नेपालको विमानस्थलमा सहजता महशुस  गर्न सक्छन्‌?

    अहिले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले क्षमताभन्दा बढी यात्रुलाई धानिरहेको छ। धावनमार्गको काम सकिएपछि दैनिक २१ घण्टासम्म उडान/अवतरण गर्नसक्ने अवस्था कायम भएको छ। विमानस्थलमा सुधार गरिएसँगै केही विदेशी एयरलाइन्स  कम्पनीहरुले नेपालमा उडान समेत थप्दैछन्‌। 

    भैरहवामा निर्माणाधिन गाैतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माण समयमै सम्पन्न भएको भए भ्रमण बर्ष थप सफल बनाउन निकै मद्दत पुग्थ्यो, तर यसो हुन सकेन। यद्यपी: सन् २०२० को मार्चदेखि यो विमानस्थल पनि सञ्चालनमा ल्याउन सरकारले प्रयास गरिरहेको छ। लक्ष्यअनुसार काम भयो भने दोस्रो अन्तर्राष्ट्रिय विमानट्ठथलको सञ्चालनसँगै नेपाल भ्रमण वर्ष सफल पार्न ठूलो मद्दत पुग्नेछ। 

    अर्कातर्फ भ्रमण बर्षलाई केन्द्रमा राख्दै हामीले बजार विस्तारको रणनीति पनि बदलेका छाैं। व्यापक प्रवर्द्धन गरिएको छ। निश्चित माैसमी अवधिमा हुने अर्थात 'सिजन बेस्ड टुरिजम' लाई 'अफ सिजन' मा पनि विस्तार गर्ने कामहरु अघि बढाइएको छ। 'सिजन'मा जस्तै 'अफ सिजन'मा आकर्षण गर्न सक्ने हो भने लक्ष्यभन्दा बढी पर्यटक भित्र्याउन सकिन्छ। अत: पूर्वाधार र जनशक्तिदेखि प्रचार–प्रसारसम्मका कामहरु र आवश्यक रणनीतिहरु एकसाथ अघि अवलम्बन गरिएको छ। भ्रमण बर्ष सफल हुनेमा म व्यक्तिगत रुपमा निकै आशावादी छु, अब लक्ष्यअनुसार पर्यटक भित्र्याउन र यसका बहुआयामिक फाइदा लिन सकिन्छ।

    भ्रमण वर्षमा पर्यटक नेपाल आउँदा प्राप्त गर्ने फाइदाबारे तपाइँहरुले बुझाउन नसक्नुभएको गुनासो सुनिएको छ, जनप्रतिनिधिले नै पर्यटकका लागि आवश्यक सुविधा र सहुलियत नपुगेको बताइरहनुभएको छ, के तयारी अझै परिपक्व नभएको हो?

    भ्रमण वर्ष मनाउँदा सम्बन्धित देशको पर्यटकीय माहोल तात्ने गर्छ। यो अवस्थासम्म पुग्न अन्तर्राष्ट्रिय जगतमा व्यापार प्रचार-प्रसार गर्नुपर्छ। 

    नेपाललाई समृद्ध बनाउने एउटा प्रमुख क्षेत्र पर्यटन हो। पर्यटनमा संलग्नहरु बीचमा यो बुझाइले एकरुपता लिएको छ, सबै नागरिकले यो तथ्यलाई बुझ्नुपर्छ र हामीले पनि बुझाउनुपर्छ। कर्मचारीतन्त्र, मिडिया, नागरिक समाज र राजनीतिक वृत्तले यी मर्मलाई जति छिटो बुझिदिन्छन्– त्यति नै चाँडै पर्यटनमार्फत समृद्धि हासिल गर्न सकिन्छ।

    विकासको दृष्ट्रिकोणबाट विश्लेषण गर्दा पर्यटन क्षेत्रको विकासका लागि अन्य उपक्षेत्रको पनि भरपर्दो र प्रभावकारी विकास हुनुपर्छ।  जस्तो : राम्रो पूर्वाधार हुँँदा, इन्टरनेट छिटो चल्दा, बस्ने ठाउँ सफा हुँदा, ठूला र व्यवस्थित संरचना बन्दा पर्यटनमा निकै सकारात्मक प्रभाव पर्छ। 

    मुलुकभित्र र बाहिरका निजी क्षेत्र, नेपाली नागरिक र विभिन्‍न फोरमहरु नै नेपालको पर्यटन प्रवर्द्धन गर्ने प्रमुख खेलाडी (कि प्लेअर) हुन्। उनीहरूलाई उत्साहित गराउनै पर्छ, भ्रमण वर्ष आयोजनाको एउटा उद्धेश्‍य त्यो पनि हो। निजी क्षेत्र र प्रवासी नेपालीहरुका बीचमा हामीले भ्रमण बर्षप्रति उत्साह जगाएका छाैं। 

    नेपालमा करिब ६-७ दशकदेखि पर्यटन जारी रहनु नै अहिलेको भ्रमण वर्षको सबैभन्दा राम्रो पक्ष हो। संसारका प्रमुख पर्यटक बजारहरुमा सर्वेक्षण गर्दा चाहिँ नेपाललाई एउटा साहसिक गन्तव्यका रुपमा लिने गरेको पाइयो। साहसिक गतिविध‍ि मात्रै हुन्छन्‌ भन्ने अवधारणालाई विस्तार गर्दै यहाँको संस्कृति, सम्पदा, चाडपर्व र जात्राहरु पनि घुमफिर र अवलोकनका आकर्षक पक्ष हुन्‌ भन्‍ने तथ्यलाई विश्वभर स्थापित गर्नुपर्छ। किनकी अमूल्य सांस्कृतिक नीधिहरुबाट हामीले अहिलेसम्म पर्याप्त लाभ लिन सकेका छैनाैं। भ्रमण वर्ष–२०२० मार्फत यो पक्षलाई पनि थप उजागर गर्न खोजिएको हो।

    नेपाल घुम्न आउने पर्यटकले जीवनपर्यन्त यहाँको प्राकृतिक छटा र सांस्कृतिक नीधि महशुस गर्न सकुन्‌ भन्ने हाम्रो उद्देश्य हो। त्यसैले हामीले 'लाइफ टाइम एक्सपेरियन्स थिम'मा नेपाल भ्रमण बर्ष–२०२० लाई संसारभर प्रचार गरिरहेका छाैं। यो प्रचारबाट विश्वले नेपालप्रति थप राम्रो, नयाँ र व्यापक अवधारणा बनाउनेमा हामी विश्वस्त छाैं। साहसिकका साथै यस बाहेकका विधा रुचाउने पर्यटकहरु नेपाल आउन थालुन्‌ भन्‍ने उद्धेश्‍यले प्रवर्द्धन भइरहेको छ।

    पर्यटकको संख्या पुर्‍याउनुले मात्रै भ्रमण बर्षको उपादेयता पुष्टि नगर्ला, पर्यटकप्रतिको दृष्टिकोणमै सकारात्मक परिवर्तन वा सुधारका लागि चाहिँ यसबीचमा के काम भए?

    यसमा राम्रो सुधार आएको पाइन्छ। केही अगाडिसम्म नेपालीहरूलाई पर्यटक नै मानिँदैनथ्यो। अहिले नेपालीको आन्तरिक पर्यटक निकै बढेको छ। कतिपय ठाउँमा नेपाली पर्यटक नै पहिलो रोजाई बन्‍न थालेका छन्‌। हामीले विभिन्‍न 'क्याटोगोरी' बनाएर हेर्दै गर्दा यसअघि भारतीय पर्यटक, दक्षिण एसियाली आदि भन्थ्याैं, तर अहिले जो घुम्न निस्कियो, जसले खर्च गर्‍यो, त्यही नै पर्यटक हो भन्ने धारणा विकास भैसकेको छ।

    आन्तरिक पर्यटकहरु धेरै बढ्नु भएको छ। नयाँ गन्तव्य र लगानी विस्तार गर्न सहयोग पुगेको छ। अहिले नेपालमा सबैभन्दा महत्वपूर्ण स्रोत भएको क्षेत्र नै पर्यटन  हो। यसलाई पूँजीकृत (क्यापिटालाइज) गर्नुपर्छ। यो बुझाइ अहिले स्थानीयदेखि केन्द्रीय तहसम्म बलियो भएको छ। यो बुझाइले आउँदा बर्षहरुमा पर्यटन क्षेत्र विकासका लागि निकै राम्रो गर्नेछ। 

    तपाइँले पर्यटन बोर्डको प्रमुख कार्यकारी भूमीकाबाट निस्किएपछि सीईओ पद खाली छ, यसको असर भ्रमण वर्षमा पर्छ कि पर्दैन?

    धेरै असर पर्दैन। व्यक्तिगत हिसाबले पनि म सहजकर्ताका रुपमा खटिइरहेको छु। उद्घाटन कार्यक्रमका लागि मन्त्रालय तहबाट र मन्त्रीले पनि आवश्यक निर्देशन र जिम्मेवारी दिनुभएको छ। त्यसमा पनि स्वयंसेवकको रुपमा हिजोका दिन जत्तिकै खटिएको छु। बोर्डमा नयाँ कार्यकारी प्रमुख नियुक्तिको प्रकृया शुरु भएको छ, केही दिनमै पदस्थापना हुन्छ। त्यसपछि भ्रमण बर्ष सफल पार्न बोर्ड थप सक्रिय बन्‍नेछ।

    आज (बुधबार) भ्रमण वर्षको उद्‌घाटन गरिँदैछ, यसलाई पूर्णत: सफल पार्न र पर्यटन क्षेत्र थप मजबुत बनाउन सरकार र सरोकारवालाले के गर्ने? 

    सक्दो छिटो राम्रो पूर्वाधार तयार गर्नुपर्छ। भएका पूर्वाधारको गुणस्तर सुधार गर्नुपर्छ। अन्तर्राष्ट्रिय जगतमा हाम्रा कला संस्कृतिको व्यापक प्रचार गर्नुपर्छ। नेपालको पर्यटन प्रचारमा प्रवासी नेपालीहरूलाई परिचालन गर्न सक्नुपर्छ। प्राथमिकताका साथ सरकार, सरोकारवाला र नागरिकले कोशिस गर्दा भ्रमण बर्ष सफल हुनुका साथै नेपालको पर्यटन क्षेत्रबाट दिगाे समृद्धि हासिल गर्न सकिन्छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]