परराष्ट्र-श्रममन्त्री बैठक

|

काठमाडौं : केही सातायता इरान र अमेरिकाबीच तनाव चुलिँदै गएपछि मध्यपूर्वमा रहेका नेपालीको अवस्थबारे सरकारले चासो लिएको छ। 

दुई शक्ति राष्ट्रबीचको तनाव युद्धको अवस्थामा पुगेपछि परराष्ट्र मन्त्रालयले खाडी तथा मध्यपूर्वी क्षेत्रमा रहेका नेपालीहरुको अवस्थाबारे सम्पूर्ण जानकारी लिन त्यहाँस्थित राजदूतावासहरुलाई निर्देशन दिएको हो। 

परराष्ट्र प्रवक्ता भरतराज पौड्यालका अनुसार इरान र इराकसहित सबै मध्यपूर्वी तथा खाडी मुलुकमा रहेका नेपालीहरुको अवस्थाबारे यथोचित जानकारी बटुल्न राजदूतावासहरुलाई निर्देशन दिइएको छ। पौड्यालले दूतावास नभएका मुलुक हेर्ने निकायहरुलाई त्यहाँ कार्यरत नेपालीसँग सम्पर्क रहन पनि भनिएको जानकारी दिए।

‘मध्यपूर्व र खाडी मुलुकमा रहेका नेपालीहरुबारेमा सरकारले चासो लिइरहेको छ’, पौड्यालले थाहाखबरसँग भने, ‘हामीले त्यस क्षेत्रका सबै दूतावासहरुलाई पत्र पठाएर त्यहाँस्थित नेपालीहरुसँग निरन्तर सम्पर्कमा रहन भनिसकेका छौँ।’

परराष्ट्र–श्रममन्त्री बैठक

इराकस्थित अमेरिकी राजदूतावासमा हमलालगत्तै बगदादमै अमेरिकाको ड्रोन आक्रमणमा इरानी सैन्य कमाण्डर क्वासिम सेलोइमानी मारिएपछि मध्यपूर्वमा युद्धको खतरा बढेको छ। 

इरानले आफ्नो चर्चित मस्जिदमा रातो झण्डा गाडेर युद्धको अवस्थामा रहेको जनाइसकेको छ। उता अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका ५२ स्थानमा हमलाका लागि तयार रहेको जनाउ दिइसकेका छन्।

यस्तो अवस्थामा खाडीमा रहेका २० औँ लाख नेपालीबारे सरकारले चासो बढाएको हो। आइतवार परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र श्रम तथा रोजगारमन्त्री रामेश्वर राय यादवसहितको बैठक बसेको थियो। 

उक्त बैठकले खाडीका सबै राजदूतावासलाई त्यहाँस्थित सबै नेपालीहरुसँग नजिकबाट सम्पर्कमा रहन भनेको छ। ‘दुई मन्त्रालयको बैठकमा नेपालीहरुको समस्याबारे छलफल भएको छ’, पौड्यालले भने, ‘त्यहाँको स्थिति निगरानी गर्दै रहने र नेपालीहरुलाई पनि राजदूतावासको सम्पर्कमा रहन भनिसेका छौँ।’

दुई मन्त्रालयबीचका बैठकमा मन्त्री, सचिवहरु र सम्बन्धित विभागका प्रमुखहरु पनि सहभागी थिए। बैठकले खाडीका विभिन्न मुलुकमा रहेका नेपालीहरुको तथ्यांक संकलन र अवस्थाबारे निगरानी बढाउन पनि राजदूतावासहरुलाई निर्देशन दिइसकेको छ।’

कहाँ कति नेपाली? 

खाडी मुलुकमा रहेका नेपालीहरुको एकीन तथ्यांक सरकारसँग पनि छैन। तर अहिले युद्धको बादल मडारिएको इरानमा पनि नेपाली छन्। 

त्यसैगरि अमेरिकी फौजले अखडा जमाएपछि करिब ५० हजार नेपाली इराक पुगेका थिए। त्यहाँ अहिले पनि करिब १५ हजारको संख्यामा नेपालीहरु रहेका छन्।

अमेरिकाले आक्रमण गरेपछि इराकमा अहिले पनि द्वन्द्व जारी छ। इराकमा आईएआईससहितका समूह सक्रिय छन्। त्यसमाथि इरान-अमेरिका तनावको पहिलो सिकार इराक नै हुने जोखिम बढ्दै गएको सन्दर्भमा त्यहाँका नेपालीबारे सरकारले चासो देखाएको हो। 

अमेरिकाले आक्रमण गर्ने बहाना खोजिरहेको इरानमा सयौँको संख्यामा नेपालीहरु रहेको अनुमान छ। त्यहाँबाट करिब ५० जना नेपालीहरु सम्पर्कमा आइसकेको परराष्ट्र मन्त्रालयले जनाएको छ। 

मध्यपूर्वका देशहरुमध्ये अमेरिकाको निकट सहयोगी साउदी अरेबियामा करिब चार लाख नेपाली छन्। साउदी अरेबियामा अमेरिकाको सैन्य बेस छ भने हजारौँको संख्यामा सैनिक पनि तैनाथ छन्। 

त्यसैगरि मध्यपूर्वी राष्ट्रहरुको नाकाबन्दी खेपिरहेको कतारमा तीन लाख ५० हजार नेपाली रहेको अनुमान छ। युएईमा पनि दुई लाख ५० हजार नेपाली छन्। 

कुुवेतमा ७० हजार, बहराइनमा २५ हजार, ओमानमा २० हजार, लेबनान र जोर्डनमा १२–१२ हजार नेपाली छन्। अमेरिकाको अर्को साझेदार मुलुक इजरालयमा पनि तीन हजार भन्दा धेरै संख्यामा नेपाली छन्। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.