भ्रमण वर्ष कार्यक्रम सुरु भइसक्यो

|

काठमाडौं : डढेलो देश नै आक्रान्त भइरहेका बेला भ्रमण वर्षको प्रवर्द्धनमा गएको भन्दै आलोचना भइरहेका बेला संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्री योगेश भट्टराईले दुई देशको सम्बन्ध बिगार्ने प्रयास भएको दाबी गरेका छन्। 

अष्ट्रेलियाको सिड्नीस्थित ओपेरा हाउससम्म मंगलबार गरिएको भ्रमण वर्षको र्‍यालीलाई स्थानीय सुरक्षाकर्मीले रोकिदिएको समाचार नेपाली सञ्चारमाध्यममा आएसँगै मन्त्री भट्टराईले यस्तो बताएका हुन्। 

'सिड्नीको सर्कुलर क्‍वेदेखि ओपेरा हाउससम्म जाने क्रममा नेपाल भ्रमण वर्षको र्‍यालीलाई त्यहाँका सुरक्षाकर्मीले रोकेको कुरा गलत हो', उनले भनेका छन्, 'यस कुरामा सत्यता छैन, हामीले भ्रमण वर्ष उद्घाटन कार्यक्रम नै गरिसकेका छौँ।'

तर त्यहाँस्थित नेपाली प्रत्यक्षदर्शीहरुले नै सर्कुलर क्‍वेदेखि ओपेरा हाउससम्म जाने क्रममा ठूलो संख्यामा सहभागी देखेपछि सुरक्षाकर्मीले रोकिदिएको बताएका छन्। सुरक्षाकर्मीले केही क्षण रोकिदिए पनि कार्यक्रममा कुनै अवरोध नभएको दाबी मन्त्री भट्टराईका एक सहयोगीले दिएका छन्। 

'यो समाचार समाचार काल्पनिक र गलत हो। काल्पनिक र गलत समाचार सम्प्रेषण गरेर मुलुकको प्रतिष्ठा र मित्र राष्ट्रसँगको सम्बन्धमा किन खेल्न खोजिएको हो?', उनले प्रश्‍न गरेका छन्, 'नियत गम्भीर छ!'

रोकेकै दाबी

तर अष्ट्रेलियामै बसोबास गरिरहेका केही नेपाली नागरिकले भने मन्त्री भट्टराईसहितको भ्रमण वर्षको मौन जुलुसलाई सुरक्षाकर्मीले रोकेको दाबी गरेका छन्। 

अष्ट्रेलियमा बस्दै आएका प्रकाश हुमागाईंले नेपाली राजदूतावास र आयोजक संस्थाहरुको लापरवाहीले जुलुलाई सुरक्षाकर्मीले रोकेको दाबी गरेका हुन्। 

'सिड्नी सिटी काउन्सिल'ले जुलुस वा परेड गर्न अनुमति दिएको थिएन। अनि त्यो चर्को घाममा सर्कुलर क्‍वेदेखि ओपेरा हाउससम्म परेड गर्न अनुमति चाहिँ कसले दिएछ?', उनले प्रश्‍न गरेका छन्, 'कानुनी राज्यमा कानुनको पालना गरौँ। सिड्नी ओपेरा हाउसका सुरक्षा अधिकारीहरू आएर मन्त्रीसहितका सहभागीलाई रोकिदिएको त हुन् नि।'

उनले मन्त्रीसहितको र्‍यालीलाई सुरक्षाकर्मीले रोकेको देख्ने प्रत्यक्षदर्शी रहेको दाबी गरेका छन्। हुमागाईंले सहभागीहरुलाई रोकेको भिडियो फुटेज र फोटो पनि सामाजिक सञ्जालमा रहेकाले ढाँट्न नहुने तर्क गरेका छन्। 

समय गलत

अष्ट्रेलियमा गत सेप्टेम्बरदेखि लागेको डढेलो देशभर फैलिएर भीषण रुप लिएको छ। अहिलेसम्म त्यहाँ करिब ५० करोड जंगली जनावर मरिसकेका छन्। डढेलोमा परेर २० जना मानिसले पनि ज्यान गुमाएका छन्। 

अष्ट्रेलिया सरकारको सारा शक्ति डढेलो नियन्त्रणमा जुटेका बेला नेपाल भ्रमण वर्षको अभियान लिएर त्यहाँ जाने समय गलत भएको धेरैको तर्क छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.