रुपन्देही : विश्व शान्तिको मुहान। पवित्र उद्यान। आध्यात्मको भण्डार। जे भने पनि हुन्छ बुद्धजन्मस्थल लुम्बिनीलाई। स्वदेश र विदेशबाट शान्तिको सन्देश र प्रेरणा लिन आउनेको ओइरो लाग्ने स्थल हो यो।
हाल रुपन्देही जिल्लाको लुम्बिनी सांस्कृतिक नगरपालिकामा रहेको यो पवित्रस्थलमा इशापूर्व ६२३ मा बौद्धमार्गका जन्मदाता सिद्धार्थ गौतम जन्मिएका थिए। कपिलवस्तुको तिलौराकोटको दरबारबाट माइती देवदह जाँदै गर्दा लुम्बिनीस्थित बगैँचामा रानी मायादेवीले सिद्धार्थलाई जन्म दिएकी थिइन्। सोही बगैँचामा अहिले मायादेवीको मन्दिर छ।
पछि इपू २४९ मा मौर्य सम्राट अशोक नेपाल आएका समयमा आफू लुम्बिनी पुगेको भनी एक स्तम्भमा अभिलेखसमेत कुँदाए। बुद्ध जन्मेको प्रमाणका रूपमा फेला परेको अशोक स्तम्भको १९८९ मा उत्खनन गरी पूर्णभाग सतहमा ल्याइएको थियो। लुम्बिनीको पुरातत्व सम्बन्धमा सर्वप्रथम लेखन कार्य डा. ए. फुहररले गरेका थिए। त्यस उप्रान्त लुम्बिनीको पुरातात्विक अध्ययनका क्षेत्रमा थुप्रै काम भएका पाइन्छन्। त्यसपछि लुप्तअवस्थामा रहेको लुम्बिनी सतहमा आएको हो। सन् १९९७ देखि यो स्थल विश्व सम्पदा सूचिमा समेत सूचीकृत छ।
संयुक्त राष्ट्रसंघका तत्कालीन महासचिव म्यन्मेली उथान्तले ले सन् १९६७ मा जापानी वास्तुकलाविद प्रोफेसर केन्जो टाँगेलाई लुम्बिनीको विकास र संरक्षणका लागि गुरुयोजना बनाउन लगाए। लुम्बिनी बिकास कोषले हाल सोही गुरुयोजनामा आधारित विकास र संरक्षणको काम गरिरहेको छ।
हालसम्म गुरुयोजनाको ८० प्रतिशतसम्म मात्रै काम भएको लुम्बिनी विकास कोष बताउँछ। गुरुयोजनाको बाँकी काम पूरा गर्न थप ६ अर्ब रुपैयाँ लाग्ने बताइएको छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।